अघोरी
अहिले त जवानीको कुरा गर्दा भूतकालको प्रयोग गर्नुपर्ने दिन आए। यो जवानीका दिनको कुरो। मंसिर सकिइसकेको थिएन। पुस लाग्न लगभग दुई हप्ताजस्तो बाँकी हुँदै जाडो यस्तो बढेको, घाम अस्ताएपछि मोटरसाइकल चलाउँदा जाडोले बंगारा किटकिट गरेर गालाको मांसपेशी दुख्ने। विन्ड प्रुफ पन्जा भित्रै छिरेर सिरेटोले हात काठजस्तो बनाउने। कल सेन्टरको जागिर थियो। आठघण्टे सिफ्ट बेलुका ४ बजेबाट सुरु हुन्थ्यो र मध्यरातको १२ बजे सकिन्थ्यो। दिनभरि दुनियाँले आफ्नै बाउको हो झैं गरेर रजाइँ गरेको सडक यस बेला मजस्ता थोरै निशाचरले मात्र भोग्न पाउँथे। सडकपेटीमा एकसाथ डल्लो परेका भुस्याहा कुकुर र सडक बालक, त्यस बेलासम्म ग्राहक पाउन नसकेका अभागी नगरवधूहरू, नाइट ट्याक्सीवालाहरूलाई चिया चुरोट चाउचाउ बेच्न बसेकाहरू, नोट छाप्न निद्रा माया मारेर जाग्राम बसेका नाइट ट्याक्सीवालाहरू र म। सडकलाई सहरका एक चौथाइभन्दा कम बासिन्दाले मात्र भोग्न पाएका हुँदा हुन् यो समय।
विपरीत दिशाबाट फग लाइट बालेर फाट्टफुट्ट आएका बेसोमती ट्याक्सी चालकहरूलाई माझी औंला देखाउँदै अस्सीको रफ्तारमा आफ्नो मोटरसाइकल बत्ताउँदा आफूलाई सडकको राजा ठान्ने गर्थें म। जवानीको जोस छँदै थियो। त्यसमाथि दिनभरि सुत्दा भयो। १२ बजे छुट्टी भएपछि चार घण्टाजस्तो म बरालिएरै बिताइदिने गर्थें।
झिसमिसे हुन थाल्दा बल्ल घर फर्कने। कहिले सडक किनारमा स्टोभ बालेर चिया बेची बस्नेहरूसँग गफिन्थेँ त कहिले निरुद्देश्य मोटरसाइकल हुइँक्याएर रात बिताइदिन्थेँ। दुईतीनवटा नदी बगेको, नदी किनारमा सभ्यता सुरु भएको पौराणिक सहरका गौंडागौंडामा घाटहरू थिए। प्राचीन मन्दिरहरू थिए। कहिलेकाहीँ घाटहरूमा डेरा जमाएर बसेका अघोरीहरूको संगत गर्न पनि जान्थेँ म।
यो सहर एउटा अद्भुत ऊर्जा क्षेत्र हो र यहाँ विभिन्न अशरीरी आत्माहरूले डेरा जमाएका छन् भन्ने गुड्डी हाँक्थे उनीहरू। भूतप्रेतसँग दिनहुँ देखभेट हुने टाइपका गफ दिन्थे। आफूले नदेखेको कुरा कसरी पत्याउनु ? फेरि दिनरात गाँजा फुकेर बस्नेहरूले देखेकै कुरा पनि भ्रम मात्र हुन सक्थ्यो। तैपनि यस्ता कुरा सुन्न मजा आउने। आफू यसरी जाने घाटहरूमध्ये एउटा फेभरेट घाट हुने गर्थ्यो मेरो। त्यहाँ अर्कै खालको कस्तो कस्तो महसुस हुने। त्यहाँ जाने दिन म दिउँसै केही फलफूल, केही प्याकेट दूध आदि किनेर लाने गर्थें।
त्यहाँ बस्ने गरेको अघोरीसँग दह्रो दोस्ती जो भएको थियो मेरो। आफूले किनेर लगेको कोसेली उसलाई दिन्थेँ। ऊ आफ्नो कोसेली हड्डीको चिलिममा भरेर ख्वाउँथ्यो। केको हड्डी हो उही जानोस्। उसको चिलिमबाट एक दुई सर्को तानेपछि म दुईतीन घण्टा मज्जाले मुस्कुराउँदै बस्न सक्थेँ। नत्र त धुलो, धुवाँ र जामको सहरमा मुस्कुराउन पाउनु भनेको मरुभूमिमा पानी पाउनुसरह हुन्थ्यो।
मैले लागिदिएको दूधको मीठो चिया बनाएर पिलाउँथ्यो अघोरी। धुनीको आगोमा आल्मुनियमको ताप्के बसालेर त्यसैमा चिया बनाउँथ्यो ऊ। आगोको राप, चिलिमको मात र चियाको स्वादले रात वाह क्या बात हुन्थ्यो।
आगोको लप्कामा अघोरीका आँखा रापिएको फलाम जसरी टल्किन्थे। कालो लुगा, अनेक रङका गेडाका माला र सर्प जसरी गुजुल्टिएको लट्टा कपाल। शिव ताण्डवमा नाच्न ठिक्क परेको कलाकारजस्तो हुलिया। केटाकेटीले देखे त डरले कहालिएर रुँदा हुन्। चिलिमले आफ्नो कमाल देखाउन थालेपछि ऊ मलाई यो घाटमा घटेका विभिन्न घटना र आफूले देखेका अद्भुत कुराहरूको बखान लगाउन थाल्थ्यो।
उसका कुरा म मीठो थ्रिलर कथा मात्र मानेर सुन्ने गर्थें। अघोरीले डेरा जमाएर बसेको सत्तल छेउमा चामुण्डा देवीको एउटा मन्दिर थियो। अघोरी भन्थ्यो, कैयौं मान्छेले त्यो मन्दिरमा आफ्नो शिर आफैंले छिनाएर आफ्नै बलि दिएका छन्। उसका अनुसार तेस्रो शताब्दीमा बनाइएको यो मन्दिर एउटा समयमा निकै प्रख्यात थियो र दर्शनार्थीको भीड लाग्ने गथ्र्याे। त्यसपछि अकस्मात् एक दिन एउटी महिलाले मध्यरातमा आएर आफ्नै शिर आफैंले छेदन गरी देवीलाई चढाइन्। त्यसपछि त यो सिलसिला नै सुरु भयो।
झिसमिसे हुन थाल्दा बल्ल घर फर्कने। कहिले सडक किनारमा स्टोभ बालेर चिया बेची बस्नेहरूसँग गफिन्थेँ त कहिले निरुद्देश्य मोटरसाइकल हुइँक्याएर रात बिताइदिन्थेँ।
कुनै एउटा राजाको पालामा चार पाँच जना मान्छेले लगातार एकपछि अर्को गर्दै आफ्नै शिर छिनालेर देवीलाई चढाए। त्यस घटनाको अनुगमन गर्न आएका प्रहरी पनि मृत अवस्थामा फेला परे। त्यसपछि त्यस मन्दिरमा भक्तजनहरू पातलिन थाले। हुँदाहुँदा कोही आउनै छाडे। मन्दिरको आँगनमा एउटा ऐना राखिएको थियो, जसमाथि भैंसीका सिङहरू झुन्ड्याइएका थिए। अघोरी भन्थ्यो, ‘औंसी र पूर्णिमाको रातमा मकहाँ नआउनू। आए पनि यो ऐनामा झुक्किएर नहेर्नू।’
आफूलाई रहस्यमयी साबित गर्न उसले यस्तो भनेको हुँदो हो जस्तो मलाई लाग्थ्यो। अथवा उसले नेगेटिभ मार्केटिङ गरिरहेको पनि हुन सक्थ्यो। ऊ सायद चाहँदो हो म औंसीको रात त्यहाँ जाऊँ, त्यहाँको ऐनामा आफ्नो मुहार हेरौं।
जोगीको के भर ? कुनै कालो जादु गर्न चाहेको पनि त हुन सक्थ्यो उसले ममाथि। जे होस्, उसको यो कुराले मेरो उत्सुकता भने बढाइदिएको थियो। केचाहिँ हुँदो हो त औंसीको रातमा त्यहाँ भन्ने हुटहुटी जागेर म मध्य मंसिरको एउटा चिसो औंसीको रात अफिस सकाएर मेरो फेभरेट अघोरीकहाँ पुगेको थिएँ।
अफिस साबिकभन्दा केही छिट्टै छुट्टी भएको थियो। साढे ११ जस्तोमा त म त्यहाँ पुगिसकेको थिएँ। अघोरी धुनी छेउमा डल्लो परेर कम्बलले शरीर छोपी सुतेको थियो। अघोरीको छेउमा एउटा खैरे बसेर गाँजा माड्दै थियो। पचास वर्षजस्तो उमेर हुँदो हो खैरेको। अमेरिकीजस्तो थिएन ऊ। युरोपतिर कतैको हुँदो हो। अजिबको पुरानो लुगा लगाएको। हुन त घुम्न हिँडेका फिरंगीहरूको हुलिया विचित्रको हुन्छ। यसलाई यताहुँदी मैले पहिला कहिल्यै देखेको थिइनँ। अघोरीकहाँ गाँजा खान आउने केही रेगुलर भक्तजन पहिला पनि १२÷१ बजे रातिसम्म त्यहाँ बसेका हुन्थे। कति त्यहीँ ढल्थे र बिहान उठेर घर जान्थे तर यो खैरेलाई भने मैले त्यहाँ त्यसअघि कहिल्यै देखेको थिइनँ।
खैरेको खुट्टैनेर एउटा कुकुर डल्लो परेर बसिरहेको थियो। गाँजाको गन्ध सुँघेरै यो अँध्यारो चिसो रात गुलजार बनाउने आश हुँदो हो त्यसको भन्ने मैले सोचेँ। खैरे मलाई देखेर मुस्कुरायो। मैले पनि मुस्कानमै उत्तर दिएँ। चिसोले मेरा हात काठजस्ता भएका थिए। विन्ड प्रुफ ज्याकेटलाई नटेर्ने जाडो। म ज्याकेट र पन्जा खोलेर धुनीको भुंग्रोमा हात सेकाउन थाल्दा खैरेले आफैं कुरा सुरु गरेको थियो। उसका हात भने गाँजा माडिसकेर अब चिलिम भर्ने प्रक्रियामा व्यस्त थिए। ‘तेरो देशमा सबथोक सम्भव छ’, ऊ भन्दै थियो।
‘अर्को एउटा गफाडी गँजडी आयो अब’, म सोच्दै थिएँ। उसले लामै हान्न सुरु गर्यो। ‘मेरो बाउ तिमीहरूको देश घुम्न भनेर आएर यतै बेपत्ता भएको रहेछ, म नजन्मँदै। मेरी आमाले मलाई एक दिन भनिन्- जा गएर बाउको खोजी गर। अनि म स्पेनबाट यहाँ आइपुगेँ। बाउ त भेटिनँ भेटिनँ, आफैं यतैको भएँ।’
‘त्यस्तो रमाइलो लाग्यो मेरो देश ? यताका त उता जान मरिहत्ते गर्छन् त। घाँस सधैं अर्काकै बगैंचाको हरियो ? ’ मैले सोधेँ।
मेरो प्रश्नको बेवास्ता गर्दै उसले नोस्टाल्जिक स्वरमा थप्यो, ‘इन्द्रजात्राको दिन एकाबिहानै म यहाँको एअरपोर्टमा ल्यान्ड गरेको थिएँ। त्यस बेला यो ठाउँ खेतैखेत थियो। खेतमा घर हैन, धान फल्थे। साग र मुला, धनियाँ र पुदिना फल्थे। खर्पनमा ती साग र मुला धनियाँ र पुदिना हालेर हिँडेका बौचाहरूको मुस्कान र कम्मरमा गाग्रो बोकेर पानी भर्न हिँडेका मैचाहरूको कम्मरको लचक सडकमा छताछुल्ल पोखिन्थ्यो एकाबिहानै। अहिलेजस्तो धुवाँ, धुलो र जामको पिँजडा थिएन यो सहर।’
‘गफ लगायो तोरीले ! कुन म्युजियम जमानाको कुरा सुनाउँदै छ यो। गाँजा फुकेर इतिहासका किताब पढ्योजस्तो छ।’
‘देउताहरूको सहर हो यो तिमीहरूको। आफ्नी आमालाई पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको स्मरणमा मनाइने चाड हो, इन्द्रजात्रा। यहाँका हरेक कुनामा अद्भुत घटना घटेका छन्। यो सहर आफैंमा एउटा म्युजियम हो। तिमीहरूले कस्तो बनायौ नि बरै यसलाई। !’
निराशाको एउटा लामो खुई काढेर उसले थप्यो, ‘देउता मात्र छन् यहाँ भन्नेचाहिँ नठान्नु नि फेरि। भूत, प्रेत, पिशाच पनि उत्तिकै छन् यहाँ। आजको दिन यहाँ नआउनू भनेर अघोरीले तिमीलाई भनेको थिएन ? ’ चिलिमको मुखमा धुनीको कोइला राखेर पुच्छरमा कपडाको साफी राख्यो उसले। चिलिमलाई मुठीमा राखेर त्यही साफीको पर्दाबाट एउटा गहिरो सास भित्र तान्यो। उसका नाकका पोराबाट धुवाँको मुस्लो निस्कियो। उसका आँखा कालभैरवझैं देखिए। अघिसम्म गुडुल्को परेर बसेको कुकुर अब पुच्छर हल्लाउन थाल्दै थियो। ऊ चिलिम मलाई थमाएर बर्बराउन थाल्यो। मैले पनि चिलिममा मुख जोतेर एउटा गहिरो सास तानेँ। मेरो अगाडिको संसार फनफनी नाच्न थाल्यो। शरीर हावामा उडेजस्तो हलुका हुन थाल्यो।
‘यतैको एउटा घरमा पैसा तिरेर बस्ने व्यवस्था गरेको थिएँ मैले। आएकै दिन साँझपख म सहर घुम्न निस्किएँ। इन्द्रजात्राको चहलपहल थियो सडकमा। साँझ अबेरसम्म रमिता हेरेर म घर फर्किएँ। घरबेटी आमै घरपछाडि बारीमा आगो बालेर रक्सी पार्ने जमर्को गर्दै थिइन्। बूढा मरेका। एउटा छोरा थियो रे, घर छाडी जोगी बनेर बसेको छ कतै भन्थिन् आमै। म बारीको डिलमा टुसुक्क बसेर उनले रक्सी पारेको हेर्दै थिएँ। कतैबाट एउटा कुकुर आएर मेरो हात चाट्न थाल्यो। आमैले पहिलो पानीको रक्सी एउटा बटुकोमा राखेर मलाई दिइन्। यात्राको थकान थियो। गुलियो रक्सी मैले एक सासमा तनतनी पिइदिएँ। बटुको जति रित्तिन्थ्यो आमै उति थपिदिन्थिन्।
केही बेरपछि मैले होस गुमाएँ। होस आउँदा रात निकै परिसकेको थियो। आमै सायद मलाई त्यहीँ छाडेर आफू सुत्न गएकी थिइन् घरभित्र। बिचरो कुकुर भने मेरो छेउमै निदाएको थियो। म चलमलाउन थालेपछि कुकुर बिउँझियो। कुकुर त मान्छेको स्वरमा बोल्न पो थाल्यो। सुरुमा त म तीनछक परेँ। अनि म डराएँ। कुकुर भन्दै थियो, बाबु ध्यान दिएर सुन। तँलाई मैले नै यहाँ बोलाएको हुँ। तँ पेटमै हुँदा तेरी आमालाई छाडेर म घुम्न भनेर यता आएँ। सडकमा घुम्दै हिँडेको एक रात केही लुटेराले मलाई चक्कु हानेर नालीमा फाल्दिए। म कुकुर बनेर जन्मिएँ त्यसपछि।
यो बूढीको छोरो एउटा मन्दिरमा पूजारी बनेर बसेको छ। उसैको मद्दतले मैले तँलाई बोलाएको हुँ। अब मेरो मुक्ति तेरो हातबाट मात्र सम्भव छ। म तँलाई त्यो मन्दिरमा लिएर जान्छु। तैंले र पूजारीले मिलेर देवीको चरणमा मेरो बलि दिनू। अनि म यो पशु योनीबाट मुक्त हुन्छु। पुजारीले जसोजसो भन्छ त्यसै गर्नू। बीचमा प्रक्रिया नमिले अनर्थ हुन्छ। कुकुर नै मान्छेको स्वरमा बोलेपछि मैले पत्याउनै पर्यो। कुकुरलाई लिएर उसैले डोर्याएको स्थानतर्फ लागेँ र यहाँ आइपुगेँ। अहिले मेरो खुट्टामा बसेको कुकुर त्यही कुकुर हो।’ खैरेको कथा मलाई हरर वा थ्रिलर हैन, बकम्फुसे कमेडीजस्तो लाग्न थालेको थियो अब। यत्तिन्जेलमा अघोरी उठिसकेको थियो। उठ्नासाथ उसले खैरेसँग मुखामुख गरेको थियो र मतिर हेर्दै भनेको थियो, ‘तँलाई मैले औंसीको रातमा यहाँ नआउनू भनेको हैन ? लु अब त्यो ऐनामा हेर।’ मन्दिर अघिको ऐनामा उनीहरूको शरीरको प्रतिविम्ब देखेर मेरो मुटु चिसो भएको थियो। हातखुट्टा कामेका थिए। ऐनाको प्रतिविम्बमा उनीहरू तीनै जनाको शिर थिएन। शिर हुनुपर्ने ठाउँबाट रगतको फोहरा निस्किरहेको थियो। डराउँदै मैले उनीहरूलाई हेरेँ।
उनीहरू दुवै मुस्कुराइरहेका थिए। कुकुर पुच्छर हल्लाइरहेको थियो। मैले घडी हेरेँ। रातको ठ्याक्कै १२ बजेको थियो। ‘अब देवीलाई भोग लगाउनुपर्छ’, अघोरीले खैरेलाई हेर्दै भन्यो। मेरो ओठ-मुख-तालु डरले सुकेको थियो र म त्यहीँ बेहोस भएर ढलेको थिएँ। बिहान होस आएर उठ्दा मान्छेको चहलपहल सुरु भइसकेको थियो। खैरे, अघोरी, कुकुर कोही त्यहाँ थिएनन्। रातिको घटना सम्झेर मेरो आँत कामेको थियो। हिम्मत बटुलेर म जुरुक्क उठेर हनुमानचालिसा भट्याउँदै त्यहाँबाट दौडेर गई मोटरसाइकल स्टार्ट गरी भागेको थिएँ।
त्यस रातदेखि म राति त्यसरी बरालिन छाडेँ। कल सेन्टरको रातिको जागिर पनि छाडेँ। आजसम्म फर्केर त्यो घाटमा जान सकेको छैन। अचेल म दिउँसैको जागिर खान्छु र बेलैमा घर फर्कन्छु। हनुमानचालिसा पाठ गर्दै निदाउने प्रयास गर्छु। त्यहाँदेखि राम्रो निदाउन सकेको छैन। केही गरी निद्रा लाग्यो भने सपनामा त्यही अघोरी आउँछ र भन्छ, ‘बाबु, आजभोलि आउनै छाड्यौ त...।’ कहिलेकाहीँ सपनामा त्यही खैरे आउँछ र भन्छ, ‘बुबा, सन्चै हुनुहुन्छ ? प्रक्रिया बिग्रिएर तपाईंको मुक्ति अधुरै रह्यो...। तपाईंको आत्मा कुकुरबाट मान्छेको शरीरमा त गयो तर तपाईं अझै प्रेत योनीमै हुनुहुन्छ। कुनै औंसीको रात फेरि घाटमा आउनुहोस् नत्र अघोरी, तपाईं र म यसरी नै प्रेत योनीमा घुमिरहन्छौं।’
अब त्यस रात जे भएको थियो, चिलिमको करामत थियो वा म निदाएर सपना देखेको थिएँ वा जे मेरो स्मृतिमा चित्रित छ त्यस्तै नै केही भएको थियो, भगवान् जानून्। @swamianoopamaxl