बन्दरगाहमा बागी बहस

बन्दरगाहमा बागी बहस

सम्पूर्ण भारतमा हिन्दू राष्ट्रवादको जगजगी रहेका बेला एउटा राज्य यसबाट अलग्गै उभिइरहन्छ। मुलुकमा सर्वसत्तावाद र फासीवादको अभ्यास भइरहँदा एउटा राज्य सम्पूर्ण शक्तिसाथ यसको प्रतिवाद गर्छ। त्यो राज्य सिंगो देशलाई विभाजन गरिरहेको एनआरसी र सीएएजस्ता प्रावधानविरुद्ध एकताबद्ध उभिन्छ। मोदी सत्तालाई चुनौती दिँदै यी कार्यक्रम लागू नगर्ने घोषणा गर्छ। यी कार्यक्रमविरुद्ध सर्वोच्च अदालत जान्छ। धार्मिक अतिवाद र पुँजीवादी लुट बढिरहेको भारतमा बागी राज्य हो, केरला।

उत्तर भारतमा प्रेस स्वतन्त्रतामाथि नियन्त्रण बढ्दो छ। सत्ताले आलोचकको मुख थुन्न अनेक उपक्रम गरिरहेको छ। प्रश्नधारी पत्रकारलाई अपमानित गर्ने र बिरुदावली प्रस्तोतालाई प्रोत्साहन गर्ने, बौद्धिकहरूलाई विभिन्न कोणबाट आक्रमण र निरुत्साहन गर्ने कुरा सामान्य भएको छ। यही समय केरला भने बागी बौद्धिकहरूको विशाल कुम्भमेला आयोजना गर्छ र प्रतिरोधको आवाजलाई मुलुकभर गुञ्जायमान गर्छ।

केरलाको यो गुणलाई लेखक रामचन्द्र गुहाले सटिक शब्दमा व्यक्त गरे, ‘केही बेरअघि मैले तसलिमासँग कुरा गरेको थिएँ। उनी बंगालीमा लेख्छिन् तर पश्चिम बंगालमा सुरक्षित महसुस गर्दिनन्। मैले गान्धीको बायोग्राफीका तीन भोल्युम लेखेको छु तर म गुजरातमा गएर पढाउन सक्दिनँ। तर हामी दुवै केरलामा आएर बोल्न सक्छौं।’

बेन्यामिन, पेरुमल मुरुगान, गुरचरण दास, नन्दिता दास, केपी रामनुन्नी, टीडी रामकृष्णन लगायतका दर्जनौं लेखकले साहित्यका विभिन्न विधाका सौन्दर्य र शक्तिबारे जीवन्त बहस गरे।

गुहा केरलाको त्यो स्थानमा उभिएर बोलिरहेका थिए, जुन ठाउँबाट भारतमै पहिलोपटक युरोपेलीहरूले पाइला राखेका थिए। भास्को डी गामाको नेतृत्वमा सन् १४९८ मा पोर्तुगाली पानीजहाज कोरिकोड आइपुगेको थियो। डी गामा यहाँबाट गोवा गई त्यहाँ उपनिवेश स्थापना गरेका थिए। युरोपेलीहरूले कोरिकोडलाई कोजिकोर हुँदै क्यालिकट बनाइदिए। अचेल दुवै नाम उत्तिकै प्रयोग हुन्छ, कोरिकोड र क्यालिकट।

भास्को डी गामाको जहाज रोकिएको स्थानभन्दा केही किलोमिटर दक्षिणमा रहेको कोरिकोड बन्दरगाहमा बर्सेनि साहित्य महोत्सव आयोजना हुन्छ। सामाजिक अभियन्ता तथा स्वतन्त्रता सेनानी डीसी किजकेमुरीको नाममा स्थापित डीसी किजकेमुरी फाउन्डेसनले सन् २०१५ बाट हरेक वर्ष यहाँ साहित्य महोत्सव गरिरहेको छ।

कोचीबाट आएका एक सहभागीले आफूले यसअघिका चारवटै संस्करणमा सहभागिता जनाएको बताए। ‘विगतका संस्करणभन्दा यस पटक के भिन्नता पाउनुभयो ? ’ उनले जवाफ दिए, ‘यसपटक कार्यक्रम एकदमै भव्य छ, एकदमै धेरै सत्र, धेरै वक्ता, धेरै सहभागी।’

महोत्सवको पाँचौं संस्करणमा यसपटक चार दिनमा दुई सय २० सत्र भए। १५० भन्दा धेरै वक्ता र दैनिक हजारौं सहभागी। हरेक घण्टा पाँचवटा मञ्चमा अलग अलग सत्र, यसमध्ये केही सत्र अंग्रेजीमा, केही स्थानीय भाषा मलायलममा। अंग्रेजी र मलायलम दुवै भाषामा उत्तिकै सहभागीको भीडभाड। सहभागीमध्ये अधिकांश उच्च शिक्षाका विद्यार्थी। यसले नयाँ पुस्ताको राजनीतिप्रतिको सचेत चासो र ज्ञानको चाहना प्रतिविम्बित गरिरहेको थियो।

गुहा यही महोत्सवमा दोस्रो दिनको एउटा सत्रमा वक्ताका रूपमा उपस्थित थिए।

केही समयअघि नागरिकतासम्बन्धी प्रावधान परिमार्जन गर्ने ऐन सीएएको विरुद्धको प्रदर्शनका दौरान उनी पक्राउ परेका थिए। हिन्दुत्व राजनीति र मोदी सत्ताका प्रखर आलोचक गुहाले केरलामा पनि उत्तिकै चुनौतीपूर्ण मन्तव्य दिए। ‘हिन्दुत्वको राजनीतिले हिन्दु धर्मबाट केही पनि लिएको छैन’, उनले भने, ‘खाकी रंगको लुगा जर्मनीको फासीवादीबाट लिएको हो भने अन्य धार्मिक समुदायलाई दोस्रो वा तेस्रो दर्जाको नागरिकका रूपमा गर्ने व्यवहार मध्यकालीन इराकबाट।’

उनले मोदी र भाजपाको मात्रै आलोचना गरेनन्, भारतीय कंग्रेसको पनि उत्तिकै आलोचना गरे। आफ्नो मन्तव्यको सुरुमै उनले भनेका थिए, ‘केरलासँग मेरो एउटा आपत्ति छ। म त्यो पछि भन्छु।’

आफ्नो मन्तव्य सकिने बेला उनले त्यो आपत्ति सुनाए, ‘तपाईंहरूले राहुल गान्धीलाई किन जिताउनुभयो ? तपाईंहरू कांग्रेसमा र देशमा पाँचांै पुस्ताको परिवारतन्त्र चाहनुहुन्छ ? ’

अहिले कांग्रेसलगायत कुनै पनि पार्टी भाजपायी अतिवादविरुद्ध उभिने अवस्थामा नभएको भन्दै उनले आह्वान गरे, ‘यस्तो बेला सडकमा उत्रिने जिम्मेवारी हामी सर्वसाधारणको हुन्छ।’

केरलाका मुख्यमन्त्री तथा वामपन्थी नेता कमरेड पिनरायीलगायतका वामपन्थी नेताहरू र शशि थरुरलगायतका कांग्रेस नेताहरू पनि वक्ताका रूपमा उपस्थित थिए। अन्तिम दिन पहिलो मञ्चमा शशि थरुर वर्तमान विश्व व्यवस्थाबारे बोलिरहेका थिए। खचाखच सहभागी देखेपछि मलाई लाग्यो, अरू मञ्चमा सहभागी पक्कै थोरै होलान्। म पत्रकार राजदीप सरदेसाईसँग अञ्जना शंकरको कुराकानी भइरहेको दोस्रो मञ्चमा गएँ। यता पनि उत्तिकै खचाखच सहभागी थिए। सरदेसाई अर्को मञ्चमा बोलिरहेका थरुरको आलोचना गरिरहेका थिए, ‘तपाईंले (प्रश्न गर्ने दर्शकले) शशि थरुरको नाम लिनुभयो। राजनीतिज्ञ हुन सपनामात्रै देखेर हुँदैन। त्यसलाई पूरा गर्न त्याग र समर्पणको पनि जरुरी हुन्छ। सबै कुरा त्यागेर जनताको बीचमा जानुपर्ने हुन्छ। गान्धीबाट यो पाठ सिक्नु आवश्यक छ। राजनीति २४ घण्टा सात दिन समर्पित भएर गर्नुपर्ने काम हो।’

यस बेला अन्य तीन मञ्चमा पनि यत्तिकै संख्यामा सहभागीको भीडभाड थियो।

यो महोत्सवले वर्तमान राजनीतिका सन्दर्भमा मात्र होइन, इतिहास र दर्शनमा पनि अतिवादलाई चुनौती पेस गर्‍यो। भाजपा र मोदीको राजनीति जर्मनीमा हिटलरको झैं आर्य जातिको विशिष्टतामा आधारित छ। नाजी इतिहासकारहरूको व्याख्याले हिटलरलाई बल दिएको थियो। उनीहरूले आर्य सभ्यताको विकास जर्मनीमा भएर अन्यत्र फैलिएको दाबी गरेका थिए। ठीक यसैगरी आर्य सभ्यताको विकास भारतमा भएको र युरोपमा फैलिएको दाबी भारतका राष्ट्रवादी इतिहासकारको थियो। अहिलेसम्म प्राप्त प्रमाणले यी दुवै दाबीलाई गलत पुष्टि गरेको छ तर अझै भाजपाले यही झुट सर्वसाधारणमा सफलतापूर्वक बिक्री गरिरहेको छ।

आर्य श्रेष्ठताको यो भाष्यलाई चुनौती दिँदै इतिहासकार टोनी जोसेफ भन्छन्, ‘वी अल आर इन्डियन्स, वी अल आर माइग्रेन्ट।’ अर्थात्, हामी सबै भारतीय, हामी सबै बाहिरबाट आएका।

महोत्सवमा बोल्दै उनले आधुनिक मानवको भारतमा बसाइँसराइको प्रकृतिबारे नयाँ सूत्र पेस गरे। उनका अनुसार ६०-६५ हजार वर्षपहिले अफ्रिकाबाट एउटा मानव समूह यहाँ आइपुग्यो, जसलाई प्रथम भारतीय नाम दिइएको छ। यसपछि आजभन्दा १०-११ हजार वर्षपहिले पश्चिम एसियाको एनातोलियाबाट मानिसहरूको एउटा समूह दक्षिण एसिया प्रवेश गर्‍यो। उनीहरूले एनातोलियाबाटै खेतीपाती सिकिसकेका थिए। यी दुई मानव समूह मिलेर सिन्धु नदीको किनारमा विशाल सिन्धुघाटीको सभ्यता विकास गरे। यस्तै ९-१० हजार वर्ष पहिले दक्षिणपश्चिम एसियाबाट अर्को मानव झुण्ड प्रवेश गर्‍यो, जसले अस्ट्रो एसियाटिक भाषा लिएर आए। आर्यहरूको एउटा समूह चार हजार वर्षदेखि ३५ सय वर्षपहिलेको बीचमा मध्य एसियाबाट उत्तरपश्चिम दक्षिण एसिया आइपुग्यो। यी सबै जाति एकअर्कामा सम्मिलित भएर नै आजको दक्षिण एसियाको सभ्यता विकास भएको जोसेफको निष्कर्ष छ।

डीएनए परीक्षणका प्रतिवेदनहरू केलाउँदै उनले भने, ‘यी सबै मानवसमूहको जिन हामीसँग छ। हामी एकअर्काभन्दा उच्च र नीच कोही छैनौं। कोही यहीँ उत्पत्ति भएका होइनौं। हामी सबै उत्तिकै भारतीय हौं र हामी सबै बाहिरबाट आएका होैं।’

खासगरी पश्चिम एसियाको एनातोलियाबाट कृषक समूहको दक्षिण एसियामा बसाइँसराइबारे उनको व्याख्या महत्वपूर्ण छ। केही वर्षअघि युरोपमा मध्य एसियाबाट श्वेतहरू पुग्नुअघि नै एनातोलियाबाट गएका अश्वेत वर्णका किसानहरूले सभ्यता विकास गरिसकेको निष्कर्ष अनुसन्धाताले प्रकाशित गरेका थिए। यही एनातोलियाबाट एउटा झुण्ड दक्षिण एसिया आइपुगेको देखिन्छ। यसअघि एनातोलियाबाट मानिसहरू दक्षिण एसिया आएको भन्ने दाबी भए पनि यसमा प्रस्ट व्याख्या हुन सकेको थिएन।

टोनीको पुस्तक ‘अर्ली इन्डियन्स  : द स्टोरी अफ आवर एन्सेस्टर्स एन्ड ह्वेयर वी कम फ्रम’ अहिले भारतीय इतिहास अध्येतामाझ चर्चामा छ। खासगरी डीएनए परीक्षणलाई दक्षिण एसियाको इतिहास लेखनमा जोड्ने महत्वपूर्ण काम उनले गरेका छन्। पहिले इतिहास लेखन मूलत : भाषाविज्ञानको अध्ययनमा आधारित थियो, यसमा आर्कियोलोजी थपिएपछि नयाँ आयाम सुरु भएको थियो। अहिले मानवशास्त्रभित्रको एउटा विषय मानव डीएनए परीक्षण इतिहास अध्ययनको अर्को साधनका रूपमा थपिएको छ। यसले इतिहासप्रति हाम्रा थुप्रै मान्यता र बुझाइ परिवर्तन गर्नसक्छ। ‘टेक्स्चुअल इभिडेन्स’ र आर्कियोलोजीको अध्ययनले खुल्न नसकेका इतिहासका थुप्रै रहस्यमय पर्दाहरू खुल्दै जान्छन्। टोनीको किताब ‘अर्ली इन्डियन्स’ यस्तै एउटा महत्वपूर्ण किताब हो।

जोेसेफको पुस्तकमाथि भइरहेको सत्रमा इतिहासकार प्राध्यापक केशवन भेलुथटले भारतमा इतिहास लेखनको राजनीतिबारे चर्चा गरे। उनै प्राध्यापक भेलुथटलाई मेरो प्रश्न थियो, ‘तपाईंले यसअघिका इतिहास लेखनको राजनीतिबारे चर्चा गर्नुभयो। टोनीले निर्माण गरिरहेको इतिहासको भाष्यको राजनीति के हो ? ’

‘टु करेक्ट दी अब्युज अफ हिस्ट्री’, प्राध्यापकको जवाफ थियो, ‘अहिले भारतमा भइरहेको इतिहासको अपव्याख्या र दुरुपयोगको खुलासा गर्नु नै टोनीको राजनीति हो।’

टोनीको इतिहास लेखनजस्तै, केरला साहित्य महोत्सवमा राजनीति, दर्शन र साहित्यबीचको अस्पष्ट रेखा सजिलै केलाउन सकिँदैन। यहाँ राजनीतिको संवाद साहित्यिक हुन्छ, साहित्यको संवाद राजनीतिक। यतिसम्म कि टीएम कृष्णको सांगीत पनि राजनीतिमय हुन्छ।

दक्षिण भारतीय संगीत कर्णाटिकामा लगावका लागि म्यागासेसे पुरस्कार पाएका कृष्ण लेखन र सामाजिक आन्दोलनमा उत्तिकै सक्रिय छन्। दोस्रो दिनको साँझ अरब सागरको किनारमा उनले कर्णाटिका संगीतमा हजारभन्दा बढी दर्शकलाई मनमग्न त तुल्याए नै, त्यही दिन दिउँसो आफ्नो सामाजिक अभियानबारे पनि उत्तिकै प्रखर अभिव्यक्ति दिए। गायन, लेखन र वाककलामा उनी उत्तिकै सन्तुलित लाग्छन्।

तामिलनाडुका कृष्ण ब्राह्मण परिवारमा जन्मिएका हुन्। उनी कर्नाटिक गायनका लागि जति प्रसिद्ध छन्, त्यति नै कर्णाटिक संगीतमा अनुसन्धान र लेखनका लागि पनि। ब्राह्मण परिवारमा जन्मिएकैले उनले यो वातावरण पाएका थिए। तर कर्णाटिक संगीत र आफ्नो कलालाई उनले दलित अधिकारको लडाइँसँग जोडे। कृष्णको अधिकारले निष्कर्ष निकालेको छ, कर्नाटिका संगीत दलितको अविष्कार थियो तर पछि यो ब्राह्मण जातिमा सीमित भयो र दलितलाई यसबाट वञ्चित गरियो। आज पनि चेन्नईमा बर्सेनि कर्नाटिक संगीत महोत्सव हुन्छ, जहाँ दलितलाई प्रवेश निषेध छ।

कृष्ण यहाँ दलितलाई प्रवेश खुला गरिनुपर्छ भनेर लडिरहेका छन्। साथै दलित विद्यार्थीलाई कर्णाटिका संगीत सिकाउनु पर्छ भन्ने अभियानमा पनि छन्। संगीतका माध्यमबाट चिनिएका कृष्ण, आज जातीय विभेदविरुद्धका अभियन्ताका नाममा पनि उत्तिकै चिनिन्छन्। टीएम कृष्णले दलित मुक्तिको अभियानमा होमिएपछि ब्राह्मण समुदायमा आफूले झेलिरहेका अप्ठ्याराहरूको चर्चा गरे।

यता बेन्यामिन, पेरुमल मुरुगान, गुरचरण दास, नन्दिता दास, केपी रामनुन्नी, टीडी रामकृष्णन लगायतका दर्जनौं लेखकले साहित्यका विभिन्न विधाका सौन्दर्य र शक्तिबारे जीवन्त बहस गरे। उनीहरूले वर्तमान भारतीय समाजमा बढ्दो असहिष्णु चरित्र र यसमा आधारित राजनीतिको आलोचना मात्र गरेनन्, यसको अन्त्य अवश्यम्भावी छ भन्ने सन्देश दिए। चार दिनको यो महाकुम्भ वास्तवमै वर्तमान भारतमा विचारको बागी बहस थियो। उत्तर भारतमा प्रतिरोधको आवाज दबाउन र बौद्धिकहरूको तेजोबध गर्न सत्ता र समाजको एउटा हिस्साले हरसम्भव तिकडम गरिरहेको बेला केरलाले प्रतिरोधको आवाजलाई थप गुञ्जायमान गरेको छ।

@RohejKhatiwada


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.