चीनमा कोरोनाभाइरसले मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो
चीनको ख्हबेई प्रान्तमा कोरोनाभाइरसका कारण थप १५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म चीनमा उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ।
त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ। चीनमा नयाँ वर्षको आगमन हुँदै छ। तर भाइरसका कारण त्यहाँ थुप्रै कार्यक्रमहरू रद्द गरिएका छन्।
वुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ।
कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ। फ्रान्समा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार एक हजार शैया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ। त्यसका लागि धमाधम काम भइरहेको बताइएको छ।
'यो परियोजनाले हाल विद्यमान स्रोतहरूको अभावलाई सम्बोधन गर्ने छ र यो छिट्टै बन्नुका साथै धेरै लगानी लाग्ने छैन किनकि यो प्रिफ्याब भवन हुने छ,' चान्गजीयाङ पत्रिकामा भनिएको छ।
वुहान सहरमा रहेका औषधि विक्रेताहरूसँग आवश्यक सामग्रीको अभाव हुन थालेको छ भने अस्पतालहरू हताश सर्वसाधारणहरूले भरिएका छन्।
कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।
तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्। चारमध्ये एउटा मामला गम्भीर मानिने गर्छ।
चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गर्दा देशका विभिन्न भागमा नियन्त्रणका नियमहरू लगाइएका छन्। थप सहरहरूमा आवतजावतमा बन्देज लगाइएको छ।
धेरै चाप परेका अस्पतालमा सैन्य स्वास्थ्य कर्मचारी खटाइएका छन्। बेइजिङमा अधिकारीहरूका अनुसार वुहानबाट आएको बिरामी वा स्वस्थ्य जोसुकैलाई २ हप्ता एक्ल्याएर निगरानी गरिने छ।
सार्वजनिक स्थलहरू बन्द गरिएका छन्। शाङ्घाइ शहरको डिज्नेल्यान्ड तथा बेइजीङ्ग नजिकैको ग्रेटवालका विभिन्न भाग बन्द गरिएका छन्।
विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको खतराको स्तर यकिन गर्न तथा त्यसले पार्न सक्ने विश्वव्यापी जोखिमबारे बताउन अहिले अलि चाँडै हुने जनाएको छ।
डब्लुएचओका प्रवक्ता तारिक जसारेभिचले सङ्क्रमणका सङ्ख्या बढ्न सक्ने र त्यसको स्पष्ट उपचार उपलब्ध नभइसकेको भन्दै सङ्क्रमणका लक्षणहरूको भने उपचार गर्न सकिने बताए।
बीबीसी