एमसीसीका केही प्रावधान परिमार्जन गरेर मात्रै पारित हुन्छ : गृहमन्त्री थापा
सुर्खेत : गृहमन्त्री रामबहादुर थापा बादलले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन्। शनिबार आयोजित पत्रकार भेटघाटमा उनले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताएका हुन्।
एमसीसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उनले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गरे। गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको बताए। उनले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिए।
पछिल्लो समयमा निर्यात बढेको बताउएका गृहमन्त्री थापाले अब सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको बताए। सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि लाभदायक भएको उनले उल्लेख गरे। उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई मूलप्रवाहमा ल्याउने काम जारी नै रहेको जानकारी दिए।