पैसा नतिरी उद्योगले चिनी बेच्न खोज्यो : किसानले गरे अवरोध
मलंगवा : किसानको करोडौं भुक्तानी बाँकी राखेका सर्लाहीका अन्नपूर्ण चिनी उद्योगले बिक्री गर्नका लागि उद्योगबाट चिनी निकासी गर्न खोजेपछि किसानहरुले अवरोध गरेका छन् ।
जिल्लाको पश्चिम क्षेत्र धनकौलमा रहेको उद्योगले किसानको भुक्तानीबिना नै शनिबार अचानक गोदामबाट चिनी निकासी गरेर अन्यत्र लैजान खोजेपछि किसानहरुले अवरोध गरेका छन् । गत वर्ष पनि यसरी नै गोदाममा रहेको चिनी बिक्री गरेर पैसा तिर्छु भनेर चिनी लगेका उद्योगीले पैसा तिरेका थिएनन् । किसानले फेरि पुरानै रबैया उद्योगीले अपनाएको भन्दै अवरोध गरेका हुन् ।
गतवर्ष क्रसिङ गरेर गोदाममा राखेको चिनी किसानको अवरोधका कारण लैजान सकेका थिएनन् । उद्योगमा ६ वटा ट्रक ल्याएर अचानक चिनी लोड गर्न थालेपछि किसानले उद्योगमा पुगेर अवरोध गरेका थिए । तर, प्रहरीले किसानलाई उद्योगबाट निकालेपछि उनीहरु बिहानैदेखि उद्योगबाहिर बसेर गाडी रोकिरहेका छन् ।
चिनी निकासीमा अबरोध गर्न उद्योगको मूल गेटमा जम्मा भएका किसान ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले गृह र उद्योग मन्त्रालयले चिनी निकासीको व्यवस्था मिलाइदिन पत्राचार गरेकाले सुरक्षाकर्मी परिचालन गरी उद्योगबाट चिनी निकासी गर्ने प्रयास गरिएको बताएका छन् । चिनी निकासीमा सहजीकरण गर्नका माथिबाट निर्देशन आएपछि बिहानै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ जिसीले बताए । तर, किसानहरुले अवरोध गरेपछि हामीले निकासीमा केही ढिलाइ गरेका हौं । बल प्रयोग नगरी किसानलाई सम्झाइ–बुझाइ गरेर मात्रै चिनी निकासी गरिने प्रजिअले बताए ।
उद्योगमा चिनी लिन ट्रक आएपछि आफुहरु बिहानैदेखि अवरोध गरेको उखु किसान मुकेशकुमार सिंहले जानकारी दिएका छन् । उद्योगमा गएर सुरुमा अवरोध गर्दा प्रहरी प्रशासनले बाहिर निकालेका थिए । उद्योगबाट निकालेपछि आफुहरु बाहिर बसेर अवरोध सृजना गरेको सिंहले बताए । भुक्तानी नगरेसम्म चिनी बाहिर लैजान नदिने सिंहले बताएका छन् । पछिल्लो वर्षहरुमा पनि यसरी नै चिनी बिक्री गरि भुक्तानी दिन्छु भन्दै उद्योगीले हामीलाई ठगेका थिए । यसवर्ष पनि ठग्न लागेको छ । गतवर्षको रबैया देखेर आफुहरुले अवरोध गरेको उनीहरु बताउँछन् ।
ट्रकमा लोड गरिएको चिनी ।
हाल बन्द अवस्थामा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई विगत तीन-चार वर्षदेखिको भुक्तानी गरेको छैन । सरकारसँग गत पुसमा भएको सहमतीपछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोड मध्ये ३ करोड ९० लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।