‘विप्लव समूह कमजोर बन्यो, वार्ताबाट मूलधारमा ल्याउँछौँ'
सुर्खेत : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह चाँडै मूलधारमा आउने जनाएको छ । पछिल्लो समय विप्लव समूह निकै कमजोर बनेको भन्दै सरकारले यो समूह छिट्टै मुलधारमा आउने दाबी गरेको हो ।
यसका लागि प्रतिबन्धित विप्लव समूहका शिर्ष नेताहरुसँग वार्ता भइरहेकोसमेत सरकारले खुलासा गरेको छ । विप्लव समूहले आफ्नो सबैभन्दा बलियो पकड रहेको दाबी गर्दै आएको कर्णालीमा सुरक्षा गोष्ठी सम्पन्न गर्दै सरकारले यस्तो जनाएको हो । दुई दिनसम्म वीरेन्द्रनगरमा चलेको सुरक्षा गोष्ठीपछि सरकारले विप्लव समूह कमजोर बनेको निष्कर्ष निकालेको हो । अधिकांश नेता र कार्यकर्ता मूलधारमा आउनेक्रम जारी रहेको र शिर्ष नेताहरुसँग पनि वार्ता जारी रहेको भन्दै सरकारले अब छिट्टै विप्लव समूहलाई वार्ताबाटै मूलधारमा ल्याइने बताएको हो ।
प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन वीरेन्द्रनगर आएका गृहमन्त्री रामबहादुर थापाले भने,‘अहिले विप्लव समूह निकै कमजोर बनेको छ, हिंसात्मक गतिविधिहरु नियन्त्रणमा आएका छन् । चाँडै यो समूह मूलधारमा आउँछ, हामीले यो समूहका शिर्ष नेताहरुसँग वार्ता जारी राखेका छौं ।’ विप्लवका कार्यकर्तालाई प्रतिवन्ध लगाएर नियन्त्रणमा लिएपनि यो समस्या समाधानको अन्तिम विकल्प वार्ता र संवाद नै भएको गृहमन्त्री थापाको भनाइ छ ।अधिकांश कार्यकर्ताले मूलधारको बाटो रोजेपछि विप्लव समूहका शिर्ष नेताहरु पनि संवादको पक्षमा रहेको उनको दाबी छ ।
गृहमन्त्री थापाले शनिवार वीरेन्द्रनगरमा भने,‘विप्लव समुहसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ, चाँडै नतिजा पनि आउने छ ।’ विप्लव समूहका गतिविधि आधारभूत रुपमा नियन्त्रणमा आइसकेको भन्दै गृहमन्त्री थापाले विगतकोभन्दा अहिले देशमा शान्ति सुरक्षामा सुधार भएको दावी गरे । सरकार वार्ता र संवादको पक्षमा रहेको भन्दै गृहमन्त्री थापाले संविधान विरोधी गतिविधिलाई भने नियन्त्रण गरेरै छाड्ने बताए । शुक्रवार र शनिवार गरी दुई दिनसम्म संचालन भएको सुरक्षा गोष्ठीमा कर्णालीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाका प्रतिनिधिहरु सहभागि थिए । गृहसचिव प्रेमकुमार राईले गोष्ठीमा सुरक्षा निकायको कामको समिक्षा भएको बताए । मन्त्रालयले अब थाल्ने सुरक्षा रणनीतिका विषयमा पनि छलफल भएको उनको भनाइ छ ।