मानसिकताको उपज 'छाउपडी'

मानसिकताको उपज 'छाउपडी'

महिलाको स्वास्थ्य र सामाजिक जीवनमा नकारात्मक असर पारिरहेको ‘छाउपडी’ अन्त्यका लागि प्रदेश सरकारले हालै देखाएको अग्रसरता सह्रानीय छ। सुदूरका असंख्य छाउगोठहरू भत्काएर महिला तथा किशोरीलाई प्रत्येक महिना सालाखाला चार रातको त्रासदीबाट मुक्त गराउने सरकारको यो पहल स्वागतयोग्य पनि छ। सम्बन्धित क्षेत्रका किशोरी तथा महिलामा देखिएको उत्साह तथा खुसियालीले यसतर्पmको सकारात्मक संकेत गरेको छ तर यहींबाट एउटा गम्भीर प्रश्न पनि उब्जिएको देखिन्छ— सरकारले प्रहरी–प्रशासनको सहयोगमा छाउगोठ भत्काएपछि त्यसको विकल्प प्रस्तुत गरेको छ कि छैन ?  

विकल्प दिइएको छैन भने भत्काइएका छाउगोठका भग्नावशेषहरूमा विगतको जस्तै झनै असुरक्षित ‘छाउ–गन्तव्य’ निर्मित नहोलान् भन्न सकिँदैन किनभने छाउपडी भौतिक र सामाजिक समस्या मात्र नभएर मानसिक समस्या पनि हो। निश्चित समाज र संस्कृतिले युगौंदेखि निर्देशित गरेको मूल्यअनुसार महिला वर्ग यस प्रकारको वर्जनामा रहन बाध्य पारिएका हुन्। यस्तो सामाजिक–सांस्कृतिक मूल्यमा एकाएक परिवर्तन आउन सम्भव देखिँदैन।

छाउगोठ भत्काइँदा त्यहाँ देखिएको मौनता प्रशासन र कानुनको डर, कानुनी कारबाहीमा परिँदा सामाजिक प्रतिष्ठामा आँच आउने त्रासका कारण उत्पन्न मानसिकताको उपज पनि हुन सक्छ। प्रशासनको अनुपस्थितिमा, कानुनका आँखा छलेर परिवार, समाज अनि संस्कृतिले स्थापित गरेको मूल्यभित्र रहँदै पुनः ‘छाउपडी’ का नियमित प्रक्रिया पूरा गर्नुपर्ने अवस्थामा सो क्षेत्रका महिला तथा किशोरीहरूले झनै विकराल समस्या झेल्नुपर्ने सम्भावनालाई पनि नकार्न सकिँदैन !

राजधानीका शिक्षित एवम् चेतनशील महिलाहरू पनि हरेक वर्ष ऋषिपञ्चमीका दिन सडकै ढाकिने गरी छाउ (रजस्वला) को पापमोचनका लागि व्रत बसेर पूजा गर्न हिँड्ने हाम्रो समाजमा सुदूर पश्चिमको विकट गाउँका छाउगोठ भत्काइँदा पनि तत्क्षण कुनै प्रतिरोध नगरिएकै भरमा उनीहरूको मानसिकताबाट छाउपडीसम्बन्धी परम्परागत मान्यतामा परिवर्तन आएको ठान्नु पनि सोचनीय विषय हुँदै हो किनभने असुरक्षित ठाउँमा लुकेर अभैm पनि छाउ बारिरहेका दृश्य बाहिरिइरहेका छन्। छाउपडीसँग जोडिएको सर्वाधिक बलियो तथा अप्रिय पक्ष धार्मिक आस्था र परम्परादेखि समाजमा स्थापित संस्कृति हो।

मासिक स्राव महिलाको गर्भाशयबाट प्रत्येक महिना खेर जाने डिम्ब हो। अतः यसलाई दूषित तŒव मानिन्छ। मल–मूत्र आदि त्यागजस्तै मासिक स्रावको समयमा पनि महिला मानसिक रूपमा केही निश्चित कार्यबाट अलग रहन चाहनुलाई अस्वाभाविक मान्न पनि मिल्दैन किनभने संस्कार र संस्कृतिको जीवनसँग अटुट सम्बन्ध हुन्छ। सामूहिक अवचेतनाले त्यसलाई पुस्तौंपुस्तासम्म निरन्तरता दिने गर्छ। त्यसैले यसमा परिवर्तन ल्याउनका लागि पनि थालिएका प्रयासहरूले निरन्तरता पाइरहनुपर्छ। धार्मिक एवम् सांस्कृतिक आस्था र मूल्य जोडिएको यस्तो परम्परा हटाउनका लागि हस्तक्षेपभन्दा सहजीकरण प्रक्रिया उपयुक्त र प्रभावकारी हुने हुँदा व्यक्ति, परिवार तथा समाज कतिसम्म लचक हुन सक्छ, सम्झौताको कुन तहसम्म आउन उनीहरू मानसिक रूपले तयार हुन्छन्, त्यसमा केन्द्रित भएर अभियान चलाउनु यस्तो कुप्रथाविरुद्धको दीर्घकालीन समाधान हुन सक्छ।

स्वेच्छाले बस्न पाउनुपर्छ भन्ने मान्यताका साथ अभियान अघि बढ्नु आवश्यक छ किनभने छाउपडीको अन्त्य गोठबाट होइन, मानसिकताबाट मात्र सम्भव देखिन्छ।

रजस्वला महिलाको नियमित शारीरिक प्रक्रिया हो र यो सबैमा समान खालको नभएर व्यक्ति–व्यक्तिमा केही भिन्न खालको हुने गर्छ। त्यसैले यस्तो अवस्थामा हरेक महिला तथा किशोरीले भिन्न प्रकारको शारीरिक तथा मानसिक अवस्थाको सामना गर्नुपर्ने हुन्छ। कारण एउटै भए पनि भोगाइ भिन्न हुने हुँदा हरेक महिलाले यस्तो अवस्थामा आफ्नो सहजता र अनुकूलताअनुसार सो अवधि व्यतीत गर्न पाउनुपर्छ। यसर्थ यो समस्या सुदूरका महिलाको मात्र नभएर समग्र महिला वर्गको हो। रजस्वला अवस्थामा कोही दैनिक जीवनदेखि अलग्गै बसेर, नियमित भूमिका र दायित्वबाट छुटकारा पाएर राहत महसुस गर्न चाहन्छन् भने उनीहरूले त्यो छुट पाउनुपर्छ। सामान्य दिनचर्यामै रहन चाहनेका लागि पनि सोहीअनुरूप वातावरण प्राप्त हुनुपर्छ। महिनावारीका दिन कसरी बिताउने भन्ने पनि महिलाको व्यक्तिगत अधिकार तथा चयनको विषय हो। जबसम्म यसले समाज र ऊ स्वयम्लाई कुनै नकारात्मक असर पारेको हुँदैन, यसमा कसैको हस्तक्षेप वा सार्वजनीकरण पनि उपयुक्त हुँदैन।

पाश्चात्य जगत्मा नारीवादी विचारकी प्रणेता मानिने सिमोन दि बुभायरले द सेकेन्ड सेक्स (सन् १९४९) मा महिलाको जैविकीय अवस्थाप्रति गरेको विश्लेषण यस सन्दर्भमा उल्लेख्य देखिन्छ। पोथी जीवहरूमा मनुष्य जातिको पोथीले नै पोथी हुनुको सर्वाधिक पीडा भोग्छे भन्ने विचार राख्ने उनले महिलाको शक्ति गर्भाशयमा निहित हुने भएकाले गर्भाशय तथा त्यससँग सम्बन्धित मासिक चक्रको अवस्थाले उसको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा प्रभाव पार्छ भनेकी छन्। किशोर अवस्थादेखि मासिक स्रावको अन्त्यसम्म महिलाको शरीरमा भइरहने नाटकीय घटनाहरूले ऊ स्वयंलाई हैरान बनाउने हुनाले यही समयमा महिला आफ्नो जैविकीय अवस्थाको सर्वाधिक पीडाबोध गर्दै आफ्नै शरीरलाई पराया वस्तु या अन्य कुनै शक्तिको सिकार भएको ठान्छे।

यस्तो विचार राख्ने बुभायरले महिला पनि पुरुषसरह एक शरीर भएर पनि प्रजननसम्बन्धी यस्तो भिन्न हर्मोन चक्रका कारण महिलाको शरीर पुरुषभन्दा भिन्न मात्र नभई महिलाको आफ्नै नियन्त्रणमा नरहेजस्तो लाग्छ भनेकी छन्। नारीवादी पहिलो धारकी बुभायरको नारी–जैविकीय पक्षसम्बन्धी उपर्युक्त धारणाहरू हाम्रै वर्तमानका आमूल नारीवादीका लागि पनि मननयोग्य देखिन्छन्। अतः रजस्वलाको भिन्न–भिन्न अनुभव र अनुभूतिमा हरेक महिलाले आफ्नो चाहना तथा अनुकूलताको परिवेश पाउनुपर्छ भन्ने बहस सुदूरका गाउँहरूमा मात्र होइन, शिक्षित, सभ्य र सम्भ्रान्त सहरमा पनि उत्तिकै आवश्यक हुन्छ किनभने रजस्वला महिलाको शारीरिक तथा मानसिक दुवै अवस्था हो। यस अवधिमा महिलाका हर्मोन ग्रन्थिहरू अधिक सक्रिय हुनाले शरीरमा उत्तेजना, दुर्वलता, आलस्यजस्ता असन्तुलन देखिने गर्छन्। पेट तथा शरीरको दुखाइ, ज्वरो आउने, श्वास–प्रश्वास प्रभावित हुने, टाउको दुख्ने, रिँगटा लाग्ने आदि शारीरिक हैरानीका साथसाथै यस अवस्थामा उत्पन्न हर्मोनका कारण महिलाको मानसिक अवस्था पनि प्रभावित हुने गर्छ। बढी भावुकता, हतास, निराशा, चिडचिडाहट आदि स्वभावगत परिवर्तनका कारण महिनावारीको अवस्थामा महिला तथा किशोरी थप हैरानीमा पर्ने गर्छन्।

रजस्वलाको सर्वाधिक पीडा त महिलाले रजोनिवृत्तिको अवस्थामा झेल्नुपर्ने हुन्छ। सामान्यतया ४५—५५ वर्षको उमेरमा महिलामा यस प्रकारका लक्षण देखा पर्छन्, जसअन्तर्गत् अचानक रक्तचाप वा थाइराइड घटबढ हुने, मुटुको चालमा परिवर्तन देखिने, जाडोमा पनि शरीरमा तापक्रम बढ्ने, अत्यधिक पसिना आउने, रिँगटा लाग्ने, टाउको तातेर तनाव महसुस हुने आदि पर्छन्। यीमध्ये कुनै न कुनै लक्षणको सामना हरेक महिलाले गरेकै हुन्छन्। चेतना र शिक्षाको अभाव भएका ग्रामीण महिला यसलाई लागो–भागो भन्दै धामी–झाँक्रीको शरणमा परेको पनि देखिन्छ। त्यसैले धामी–झाँक्री, जान्ने, वैद्य आदि परम्परागत उपचारसँग सम्बन्धित पक्ष पनि अब महिलाको मासिक चक्रसँग जोडिएका शारीरिक–मानसिक अवस्थाको जानकार भएर उनीहरूका समस्या समाधानमा अग्रसर देखिनुपर्छ। यसले उनीहरूको पेसाले पनि निरन्तरता पाओस् र महिलाले पनि राहत पाउन सकून्।

‘छाउ’ अर्थात् रजस्वला महिला तथा शिशुको स्वास्थ्यसँग पनि जोडिएको विषय हो। किनभने हरेक महिना आमाले छाउ बार्दा उसको शिशु पनि आमासँगै सोही स्थानमा रहनुपर्छ। छाउगोठ निश्चित क्षेत्रमा रजस्वला महिलाका लागि मात्र नभएर प्रसूति अवस्थामा पनि अनिवार्य देखिन्छ, जसकारण कैयौं सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यमा प्रतिकूल प्रभाव देखिने गर्छ। त्यसैले छाउपडीको विषयलाई महिला स्वास्थ्यसँग आबद्ध गरिनुपर्छ। हालको गोठ भत्काउने अभियानजस्तै कानुन निर्माण गरेर प्रशासनिक तहबाट नै गाउँ–गाउँमा स्वास्थ्य कार्यकर्ता परिचालनका माध्यमबाट महिला तथा तिनका परिवारलाई मासिक–चक्र, सो अवस्थामा उसलाई आवश्यक पोषण, सरसफाइ तथा सहयोगी पारिवारिक वातावरण आदिबारे जनचेतना विस्तार गरिनु पनि आवश्यक छ। छाउलाई पाप ठान्ने धर्म–संस्कृतिका अगुवाहरूलाई यसमा सहभागी बनाउनु सर्वाधिक प्रभावकारी हुन आउँछ।

छाउगोठ एक्काइसौं शताब्दीको हाम्रो समाजको कलंक भएकाले यसलाई भत्काउनुको विकल्प छैन तर युगौंदेखि मानिसको संस्कारमा बसेको विश्वास–अन्धविश्वासलाई एकैपटक हटाउन भने त्यति सहज देखिँदैन। पछिल्लो पुस्तामा यससम्बन्धी चेतना आइसकेकाले चिन्ताको अवस्था नभए पनि अघिल्लो पुस्तामा रहेको नकारात्मक सोचका कारण वर्तमान पुस्ताले सास्ती बेहोर्नुपरेको देखिन्छ। रजस्वलाको ज्ञात नहुँदासम्म महिलाले छुँदा कुनै शारीरिक–मानसिक विकार नदेखिने तर थाहा पाउनासाथ अनेक शारीरिक–मानसिक विकृति लिएर प्रस्तुत हुने विशेषगरी पुरुष वर्गको उपस्थितिका कारण छाउपडी घरबाट गोठसम्म पुगेको यथार्थ नकार्न नसकिने अवस्थामा यसबारे धेरै क्रान्तिकारी अभिव्यक्ति दिनु तथा बलपूर्वक आस्थामाथि हस्तक्षेप गर्नाले अघिल्लो पुस्ता भड्किने र उनीहरू मानसिक रूपले परिवर्तनका लागि तयार नहुँदा परिवार तथा समाजमा झनै समस्या आउने सम्भावना रहन्छ। त्यसैले छाउ अर्थात् महिनावारी महिलाको सामान्य प्राकृतिक प्रक्रिया हुनाले यस्तो अवस्थामा ऊ उपयुक्त वातावरणमा स्वेच्छाले बस्न पाउनुपर्छ भन्ने मान्यताका साथ अभियान अघि बढ्नु आवश्यक छ। किनभने छाउपडीको अन्त्य गोठबाट होइन, मानसिकताबाट मात्र सम्भव देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.