प्रधानमन्त्रीको स्वास्थ्य

प्रधानमन्त्रीको स्वास्थ्य

केही दिनअघि मात्र प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका कामको प्रचारप्रसार नभएको भन्दै सञ्चारमाध्यमप्रति आक्रोश पोखे। उनले सरकारको राम्रो कामको प्रशंसा गर्न सक्ने ‘मुटु भएका सम्पादक’ नभएको टिप्पणी गर्दै भने, ‘हामीले काम गरिरहेका छौं, त्यस्ता कामको प्रशंसा गर्ने टेलिभिजन छैनन्, लेख्ने पत्रपत्रिका छैनन्, प्रशंसा गर्ने मन भएका, मुटु भएका सम्पादक छैनन्।’

प्रधानमन्त्रीले हिजोआज अक्सर आक्रोश पोखिरहेका छन्। कहिले पार्टीकै शीर्ष नेतृत्वमाथि कटाक्ष गर्छन् त कहिले नेता–कार्यकर्ताको सातो खान्छन्। कहिले पार्टीनिकट पत्रकारको ‘हुर्मत’ लिन्छन् त कहिले सञ्चारमाध्यमप्रति असन्तुष्टि पोख्छन्। त्यस्तै एक महिनाअघि स्वतन्त्र र निर्भीक पत्रकारिताका लागि ‘शपथ’ थाप्न सरकारी निवास बालुवाटार पुगेका सत्ताधारी दलनिकट पत्रकारको समूहमाथि प्रधानमन्त्री अलिक कडै रूपमा खनिएका थिए।

उनले आफ्नाविरुद्ध हमला गर्न सञ्चार क्षेत्रमा ठूलै लगानी भित्रिएको आरोपसमेत लगाए। प्रधानमन्त्रीले ताउरमाउर गर्दै सरकारले गरेका राम्रो कामको प्रचार गर्न पत्रकारलाई निर्देश मात्र गरेनन् किन्तु आफूले गरेका निर्णयमाथि प्रश्न गर्ने आफ्नै पार्टीका नेता–कार्यकर्तालाई समेत कटु वचन लगाए।

प्रधानमन्त्रीका यी अभिव्यक्तिले उनमा चिडचिडाहट बढेको प्रस्ट देखिन्छ। उनी आफ्नो आलोचना सुन्नै नसक्ने मनोदशामा पुगेको देखिन्छ। उनी देशका कार्यकारी प्रमुख हुन्। देशको कार्यकारी प्रमुखले आफ्नो पार्टी वृत्तबाहिर धेरै सुन्नुपर्ने हो। बाहिरको कुरा गुन्नुपर्ने हो। तर प्रधानमन्त्रीमा बाहिरी कुराप्रति दिलचस्पी देखिँदैन। सायद आफ्नो स्वास्थ्य अवस्था नै उनको बाहिरी दुनियाँसँगको संवादको सीमा हो।

अल्पमतको सम्मान हुनु नै लोकतन्त्रको सुन्दर पक्ष हो। प्रतिपक्षीय आवाज नै लोकतन्त्रको गहना हो। तर हाम्रो देशमा नामधारी कम्युनिस्टको सरकारले भने लोकतन्त्रको यो सुन्दर पक्षलाई अस्वीकार मात्र गरेको छैन किन्तु त्यही सुन्दरतामाथि आक्रमण गरिरहेको छ। सरकारले संसद्मा प्रस्तुत गरेको सूचना प्रविधि विधेयक, नेपाल विशेष सेवा विधेयक, विज्ञापनसम्बन्धी विधेयक, शान्ति सुरक्षासम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक आदिमा राखिएका कतिपय प्रावधानले त्यसैको संकेत गरेको छ।

सरकारले हालै ल्याएको सूचना प्रविधि विधेयकमा राखिएको सामाजिक सञ्जालका प्रयोगकर्तालाई पाँच वर्षसम्मको कैद र १५ लाखसम्म जरिबाना गर्न सक्ने विवादित व्यवस्थाले सरकार लोकतन्त्रको आत्मालाई नै मार्ने अभियानमा लागेको देखिन्छ। यो विधेयक यथारूपमै संसद्बाट पास भएमा सरकारले चाहेमा जोकोहीलाई सहजै जेलमा कोच्न सक्ने अवस्था आउनेछ, जसबाट आम नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनुका साथै त्रास पनि बढ्नेछ।

पञ्चायती शैलीमा सरकार नागरिकको अभिव्यक्तिलाई नियमन गर्ने असफल प्रयत्न गरिरहेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नागरिक तहबाट उठेको विधेयकमाथिको असन्तुष्टिलाई ‘काग कराउँदै गर्छ, पीना सुक्दै गर्छ’ भन्ने अभिव्यक्ति दिएर कठोरता प्रदर्शन गरिरहेका छन्।

सरकारले गरेका यी र यस्तै विवादित निर्णयहरू अनि प्रधानमन्त्रीदेखि जिम्मेवार मन्त्रालय सम्हालेका मन्त्रीहरूको अभिव्यक्तिबाट सरकार थप असहिष्णु र निरंकुश बन्दै गएको छनक दिन्छ।

यो सबैलाई जानकारी भएकै विषय हो– प्रधानमन्त्रीको स्वास्थ्य एक स्वस्थ मानिसको जस्तो तन्दुरुस्त छैन। बसाइ, खानपान, भेटघाट, दैनन्दिनीका गतिविधि इत्यादिमा प्रधानमन्त्री प्रत्यक्ष चिकित्सकको निगरानीमा छन्। अनि यस्तै निगरानीमा दैनिकी सञ्चालन भएको वर्षौं भइसकेको छ। अर्थात् वर्षांैदेखि प्रधानमन्त्रीले एक सामान्य रूपले स्वस्थ व्यक्तिले अवलम्बन गर्ने सामान्य जीवनशैली अपनाउन पाएका छैनन्। सधैं चिकित्सकीय निगरानीमा छन्।

१२ वर्षअघि नै प्रधानमन्त्रीको दुवै मिर्गौला प्रत्यारोपण भएको थियो। ती दुवै प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम नगरेपछि अब फेरि दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी गरिँदै छ। सुनिएको तथ्य यही हो। त्यसैले निर्धक्क भन्न सकिन्छ– प्रधानमन्त्रीको खानपान, आचरण र दैनिकी आम स्वस्थ मान्छेको जस्तो उन्मुक्त छैन, हुनु हुँदैन। बरु बिरामीका बाबजुद पनि उनी खटिरहेका छन्। उनको रोगसँग लड्ने आन्तरिक क्षमता र मनोबल उच्च छ, जुन खुसीको कुरा हो।

प्रधानमन्त्रीलाई जसरी केही भएकै छैन जसरी प्रस्तुत गरिँदै छ, त्यो भने न्यायोचित छैन। बिरामी मान्छेलाई बिरामी भन्नु अनादार हैन। अनि बिरामीले आराम गर्नुपर्छ भन्नु पनि कुनै अपराध हैन। हप्तौं अस्पताल बसेको मान्छे एकाएक स्वस्थ हुँदैन नै। प्रधानमन्त्रीलाई डिस्चार्ज हुँदासमेत अनेक क्यामेरा र अनुहारले पछ्याइरहँदा फिस्स हाँस्नुपर्ने बाध्यता आइपर्ने रहेछ। यस्तै कृत्रिम हौसला र कस्मेटिक हाँसो देखाउनुपर्ने बाध्यताका कारण प्रधानमन्त्रीलाई मानसिक एवं शारीरिक दबाब परिरहेको तथ्य बिर्सन हुँदैन, जुन कुरा उनको अभिव्यक्तिमा समेत प्रकट हुन थालेको छ।

उनले बिरामी भएपछि बिदा लिएर आराम गर्नुपर्ने हो। तर आराम गर्नुलाई नै अपराधजस्तो ठान्ने मनोवृत्तिका कारण उनले सकिनसकी दैनिक कार्यसम्पादन गर्नुपरेको छ।

ठीक छ, उच्च ओहोदाको व्यक्ति बिरामी हुँदा सुविधासम्पन्न अस्पताल लैजानुपर्‍यो रे लौ। सकेसम्म स्वदेशमै उपचार गराएर नमुना पेस गर्नुपर्ने हो। ठीकै छ, विदेशै गएछन्। तर विदेश जाँदा पनि राजपाठसँगै लैजानुपर्ने किन ? उपचाररत अवस्थामा बिदा बस्न सकिँदैन ? अस्पतालको शैयाबाट बैठक गर्नुपर्ने संकटकालीन अवस्थामा त देश थिएन। अब फेरि पनि प्रधानमन्त्री सम्भवतः उपचारका लागि देशबाहिर जानेछन्। आशा गरौं– यसपटक विगतको हाइटेक बैठकको नियती दोहोरिने छैन।

खासमा विगत लामो समयदेखि देशले स्वस्थ प्रधानमन्त्री पाउनै सकेन। यो नियती गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखिकै हो। सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि उनी पूर्णरूपमा स्वस्थ थिएनन्। फेरि बिरामी नहुँदा पनि बयोवृद्ध उमेरमा गर्न सकिने काम सबै गर्न सकिँदैन। जसले जे भने पनि जीवनमा उमेर अवस्थाले पार्ने प्रभाव त पर्छ नै। कमबेंसी अर्कै कुरा हो। केही नभए पनि सोच्ने तरिका र काम गर्ने शैलीमा फरक पर्छ।

के हामी नागरिकले स्वस्थ प्रधानमन्त्री चाहियो भन्न पनि नपाउने हो ?

सरकारकै भाष्यलाई सापटी लिने हो भने पनि देशलाई समृद्धीकरण गर्ने बेला छ। यस्तो बेला प्रधानमन्त्री निकै खट्नुपर्ने हुन्छ। प्रधानमन्त्रीमा सिंगो देशको कार्यबोझ हुन्छ। त्यसैले त्यो व्यक्ति शारीरिक एवं मानसिक रूपमै स्वस्थ हुन जरुरी हुन्छ।

प्रधानमन्त्रीले आराम गर्ने बेला भयो। बिदा बसेर आराम गर्ने हो। सबै आफैंले गर्छु। आफैंले सक्छु भनेर हुँदैन। आफ्नै नेतृत्वमा सबै चीज आउँछ र ल्याउँछु भनेर पनि हुँदैन। बिरामी भएपछि तनावरहित भएर स्वास्थ्योपचार गर्ने हो। घरमै बसेर उपचार गर्ने हो; देशको कार्यकारी प्रमुखको कुर्सीमा बसेर हुँदैन। त्यसको असर सबै क्षेत्रमा परिरहेको छ। यो विषयले सबैको मनमस्तिष्कलाई प्रभावित पारिरहेको छ।

मानव स्वास्थ्य न हो– बेलाबेलामा बिरामी परिन्छ। तर बिरामी भएपछि बिरामी छु पनि भन्नुपर्‍यो। प्रधानमन्त्रीलाई अनावश्यक रूपमा हँसिलो देखिनुपर्ने, स्वस्थ छु भन्नुपर्ने, अपरेसन थियटरबाटै सबैलाई ठीक छु भन्ने देखाउन ताउरमाउर गर्नुपर्ने जस्ता कृत्रिम क्रियाकलापले कसैलाई भलो गर्दैन। देशलाई त झन् गर्दै गर्दैन। कम्तीमा पार्टीभित्रका उच्च तहका नेतृत्वकर्ताले पनि प्रधानमन्त्रीलाई उचित सल्लाह दिए जाती हुन्थ्यो कि ? प्रधानमन्त्रीमा बढ्दै गएको चिड्चिडाहट अनि असहिष्णुता कतै गल्दै गएको शारीरिक अवस्थाको उपज त हैन ?

किनकि कम्तीमा देशले स्वस्थ प्रधानमन्त्री पाओस् भन्ने हो। दिनरातको कामको बोझ अब त्यो अस्वस्थ शरीरले थाम्न सक्दैन। हामीले सधैं प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाकै समाचार पढ्दै, हेर्दै अनि सुन्दै कतिञ्जेल बिताउने ? कतिञ्जेल हामी स्वास्थ्यकै विषयमा चिन्तित हुने ? के हामी नागरिकले स्वस्थ प्रधानमन्त्री चाहियो भन्न पनि नपाउने हो ? प्रधानमन्त्री स्वयंले पनि बिरामी अवस्थामा राजपाठ छाडेर आराम गर्न नपाउने हो ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.