प्रधानाध्यापक राम्रो भए विद्यालयको गुणस्तर सुध्रिन्छ
कीर्तिपुरको नगाउँस्थित कीर्ति बोर्डिङ स्कुलको स्थापना २०३८ सालमा भएको हो। यहाँका प्रधानाध्यापक हुन्, कृष्णप्रसाद उपाध्याय। शिक्षण पेसामा उनले करिब २५ वर्ष बिताइसकेका छन्।
जीवनमा शिक्षण पेसा नै अँगाल्छु भन्ने उनले कहिले सोचेका थिएनन्। उनलाई त रेडियो नेपालमा अंग्रेजी समाचारवाचक बन्ने धोको थियो। तर, समयले उनलाई शिक्षा क्षेत्रमै ल्यायो। विस्तारै यसैमा रमाउन थाले। अब जीवनभर शिक्षा बाँड्ने काममै लागिरहने उनको सोचाइ छ।
बाल्यकाल र शिक्षा
कृष्णप्रसाद उपाध्याय २०३० साल असोज २४ गते जन्मिएका हुन्। सोलुखुम्बुको मुकली गाविस उनको जन्मस्थान हो। परिवारमा साहिँला छोराका रूपमा रहेका उपाध्यायको बाल्यकाल त्यहीँ बित्यो। उनी ब्राह्मण परिवारमा जन्मिएका हुनाले घरमै परम्परागत शिक्षा लिए। त्यतिबेलाको चलन नै त्यस्तै थियो। उनको परिवारमा कोेही पनि विद्यालय गएको थिएन। विद्यालय गएर पढ्ने उनी नै पहिलो भए। यस मानेमा उनी आफूलाई भाग्यमानी ठान्छन्।
उपाध्याय सोलुखुम्बुको मैदेलस्थित त्रिभुवन विद्योदय प्राविमा कक्षा १ मा भर्ना भएपछि उनको औपचारिक शिक्षा आरम्भ भयो। त्यतिबेला उनी जम्मा ६ वर्षका थिए। कक्षा ५ सम्म उनको पढाइ त्यहीँ भयो। उनी सबै कक्षामा प्रथम भए। यसले उनलाई पढ्न झन् हौसला बढ्यो।
त्यो विद्यालय कक्षा ५ सम्म थियो। त्यसपछि उनी मुकलीको भुमेस्थानस्थित नरेन्द्रोदय निमाविमा गए। त्यहाँ उनी कक्षा ६ मा भर्ना भए। विद्यालय परिवर्तन भएर होला, उनी त्यहाँ प्रथम त हुन सकेनन्। तर कमजोर पनि भएनन्। कक्षा ७ सम्म त्यहीँ पढे। त्यसपछि उनी नेलेस्थित जीवनज्योति माविमा कक्षा ८ मा भर्ना हुन पुगे। त्यहीँ स्कुलबाट उनले २०४८ मा एसएलसी पास गरे। उनको गाविसबाट दुई जना मात्र पास भएकामध्ये उनी एक थिए।
त्यतिबेला टेलिभिजन खासै हुन्थेन। रेडियोको जमाना थियो। उपाध्याय रेडियो नेपालबाट आउने अंग्रेजी समाचार खुब सुन्थे। अंग्रेजी पढेर रेडियो नेपालमा समाचारवाचन गर्छु भन्ने उनलाई लाग्थ्यो। उनी रविन शर्माको वाचनबाट निकै प्रभावित थिए।
त्यही सपना बोकेर उनी २०४९ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा अंग्रेजी विषय लिएर आईए पढ्न गए। पहिलो वर्ष सके। त्यतिबेलासम्म पनि उनलाई शिक्षक बन्छु वा शिक्षण पेसामा लाग्छु भन्ने लागेकै थिएन। तर, दोस्रो वर्षमा पढिरहँदामा उनले अरू साथीहरूलाई पढाइसँगै काम गरेको देखेर उनलाई पनि काम गर्न मन लाग्यो। आफूले चिनेका मोहन खनाल नाम गरेका शिक्षकलाई उनले आफूलाई पनि काम गर्न मन लागेको सुनाए। त्यसपछि उनी २०५० सालमा पोखराको लामाचौरस्थित सरस्वती आदर्श विद्या श्रममा पढाउने काम गर्न थाले। यहीँबाट उनको शिक्षण पेसा सुरु भयो। त्यहाँ करिब पाँच वर्ष पढाए। शिक्षणसँगै उनले स्नातक तहको पढाइ पनि पृथ्वीनाराण क्याम्पसबाट नै सकाए।
अंग्रेजी समाचारवाचन गर्ने लक्ष्य लिएका उपाध्यायलाई शिक्षण कार्यमा लाग्दालाग्दै यसमै रस बसिसकेको पत्तै भएन। कताकता उनी यसमै रमाउन थाले। बीएको पढाइसँगै उनी मास्टर्स गर्न २०५८ सालमा काठमाडौं आए। काठमाडौंमा पनि उनले साथीहरूका माध्यमबाट महाराजगन्जस्थित स्किम्स कलेजमा पढाउन थाले। साथै संयोजकको रूपमा काम गर्न थाले। करिब सात वर्ष उनले त्यहाँ अध्यापन गराए। कामकै सिलसिलामा उनले स्नातकोत्तरलाई निरन्तरता दिन सकेनन्। सन् २००१ मा आएर मात्र उनले जनसंख्या विषय लिएर पास गरे।
स्किम्स कलेज मात्र थिएन। यसैको व्यवस्थापनमा स्किम्स पब्लिक स्कुल पनि सञ्चालनमा थियो। उनी त्यही स्कुलका प्रधानाध्यापक भए। यहीबाट उनले शिक्षण पेसामै लाग्ने निधो गरे। त्यसपछि उनी बाफलस्थित जेनिथ इङ्लिस सेकेन्डरी स्कुल, वसुन्धरास्थित माउन्ट ग्लोरी इन्टरनेसनल बोर्डिङ हाइस्कुलमा पनि पार्टटाइम जनसंख्या पढाउन थाले।
प्रधानाध्यापकको जिम्मेवारी
लामो समय शिक्षण पेसामा अनुभव प्राप्त गरिसकेपछि पनि उनलाई आफ्नै विद्यालय खोल्छु भन्ने लागेन। उनलाई एउटा साथीले सधैंलाई हुने गरी एउटा संस्था चलाउनुपर्छ भनेपछि २०६५ सालमा कीर्ति बोर्डिङ स्कुलमा केही लगानी गरे। प्रधानाध्यापक बने। त्यहीँबाट सुरु भएको यो यात्रा आजसम्म निरन्तर छ।
शिक्षक हुँदा बालबालिकाको आत्मीय भइने, रमाउन सकिने तर प्रधानाध्यापक हुँदा सबैलाई अनुशासनमा बाँधेर राख्न अलि कडा खालको व्यवहार गर्नुपर्ने अनुभव छ उपाध्यायको। त्यसैले प्रधानाध्यापकको जिम्मेवारी अलि गाह्रो र चुनौतीपूर्ण रहेको बताउँदै उनी भन्छन्, ‘बालबालिका, अभिभावक, समाजको, शिक्षक र भौतिक संरचनाको व्यस्थापनदेखि सम्पूर्ण कुराको हेरचाह गर्नु प्रधानाध्यापकका लागि निकै चुनौतीपूर्ण हुन्छ।’
शिक्षा क्षेत्रको समस्या र समाधान
उपाध्याय देशको समग्र शिक्षा क्षेत्रमा थुपै्र समस्या भएको बताउँछन्। उनी भन्छन्, ‘शिक्षा क्षेत्रमा के के समस्या छन् त्यो भनी साध्य छैन। तर, राज्यले शिक्षा क्षेत्रमा भेदभाव भने गर्नु हुँदैन।’ भर्खरै सरकारले ल्याएको नयाँ शिक्षा नीतिले पनि कक्षा ६ देखि सरकारी विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति पाउने व्यवस्था गरेको विषयको उनी खण्डन गर्छन्। राज्यले सरकारी विद्यालयमा विद्यार्थी बढाउने उपाय मात्र अपनाएको बताउँदै उनी भन्छन्, ‘राज्यले छात्रवृत्तिको प्रलोभन देखाएर मात्र विद्यार्थी जाँदैनन्। विद्यार्थी तान्न त राम्रो शिक्षा दिन सक्नुपर्छ।’ यसका लागि शिक्षक तथा सिंगो विद्यालयलाई नियममा बाँध्न सक्ने कडा खालको प्रधानाध्यापक राख्नुपर्ने उनको सुझाव छ।
सरकारी विद्यालयमा राजनीति हाबी भएकाले विद्यालयका शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको उनको भनाइ छ। राज्यले सरकारी विद्यालयको शैक्षिक गुणस्तर राम्रो पार्नु छ भने संस्थागत विद्यालयका प्रधानाध्यापकलाई केही समयका लागि करारमा लिँदा पनि फरक नपर्ने उनको धारणा छ। उनी भन्छन्, ‘जब सबैलाई नियन्त्रणमा लिन सक्ने र अनुशासनमा बाँध्न सक्ने प्रधानाध्यापक हुन्छ तब विद्यालयको शैक्षिक गुणस्तरमा आफैं सुधार आउँछ।’