कानुनी शिक्षा सुधारका लागि उच्चस्तरिय संयन्त्र
काठमाडौं : कानुनी शिक्षाको सुधारका लागि सुझाव दिन त्रिभुवन विश्वविद्यालयले वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. पूर्णमान शाक्यको संयोजकत्वमा उच्चस्तरिय संयन्त्र गठन गरेको छ।
त्रिभुवन विश्वविद्यालयले नौ सदस्यीय संयन्त्र गठन गरेको हो । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाका अनुसार संयन्त्रमा सह महान्यायाधिवक्ता, कानुन मन्त्रालयका सचिव, सर्वोच्च अदालत, सर्वोच्च बार, नेपाल बार एसोसियसन, कानुन आयोगलगायतका निकायका प्रतिनिधि सदस्य छन् ।
संरचनालाई कानुनी शिक्षाको वर्तमान अवस्थाबारे अध्ययन गरेर सुधारका लागि आवश्यक सुझाव पेश गर्ने जिम्मेवारी दिएको बास्कोटाले बताए । संयोजक तोकिएका शाक्यले भने आफूलाई उपकुलपतिले संयन्त्रको संयोजक बन्न अनुरोध गरेको तर अहिलेसम्म संयोजकको पत्र भने नपाएको बताए। 'उपकुलपतिज्यूले सोध्नुभएको थियो। मैले हुन्छ भने । पत्र आउँदै होला,' शाक्यले भने।