गुम्बाको सहरमा क्यानोनिङको मजा
हेलम्बु (सिन्धुपाल्चोक) : गुम्बाको सहरको नामले परिचित सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु आउने पर्यटकले अब साहसिक खेल क्यानोनिङको पनि स्वाद चाख्न पाउने भएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथन नजिक रहेको एक सय पाँच मिटर लामो झरनामा सफल परीक्षणपछि अब हेलम्बु भ्रमणमा आउने पर्यटकले क्यानोनिङको समेत मजा लुट्न पाउने भएका हुन्।
हेलम्बु गाउँपालिकासँगको सहकार्यमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको साझेदारीमा सञ्चालित यूएनडीपीको समुदायमा आधारित पूर्वाधार निर्माण तथा जीविकोपार्जन कार्यक्रमको सहयोगमा पूर्वाधार निर्माण भएपछि हेलम्बुमा क्यानोनिङ खेलको परीक्षण गरिएको हो।
नेपाल भ्रमण वर्ष २०२० मा हेलम्बु घुcम्न आउने आन्तरिक तथा बाह्य पर्यटक थप आकर्र्षित गर्न साहसिक खेल क्यानोनिङ सञ्चालनमा ल्याउन लागेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। एक सय पाँच फिट लामो झर्नामा डोरीको माध्यमबाट तल आउँदा क्यानोनिङ खेलाडीले रोमाञ्चक अनुभव गर्नसक्ने शेर्पाको अनुमान छ। ‘यहाँ क्यानोनिङ गर्न आउने पर्यटकले क्यानोनिङ मात्र नभएर जँघार (खोला) तर्ने र जंगल सफारीको पनि अनुभव गर्न पाउँछन्’, अध्यक्ष शेर्पाले भने, ‘हेलम्बुमा घुम्ने ठाउँ धेरै छन्, त्यसमाथि यो साहसिक खेलले पर्यटकलाई सुनमा सुगन्ध बनाउने प्रयास गरिएको हो।’
नेपालकै पहिलो ट्रेकिङ रुटका रूपमा परिचित हेलम्बु लाङ्टाङ पदमार्गमा समेत पर्छ। हेलम्बुको कला, संस्कृति, प्राकृतिक सम्पदालगायत अवलोकन गर्न आउने पर्यटकलाई क्यानोनिङ खेलको माध्यमले थप रोमाञ्चक बनाउने प्रयासस्वरूप क्यानोनिङ खेलको पूर्वाधार निर्माणमा सहयोग गरेको सहयोगी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यकारी निर्देशक गोविन्द सापकोटाले बताए। पूर्वाधार निर्माणका लागि यूएनडीपीको सहयोगमा मञ्चले चार लाख र गाउँपालिकाले एक लाख रुपैयाँ लगानी गरेका छन्।
झर्नाको चिसो पानी र कडा चट्टानले गर्दा हेलम्बुको क्यानोनिङ अन्य ठाउँको भन्दा थप साहसिक र रोमाञ्चक रहेको परीक्षण खेलमा सहभागी चितवनका विकास गुरुङले बताए। क्यानोनिङ गाइडका रूपमा काम गर्दै आएका गुरुङका अनुसार भूगोल र अनुभव दुवैले गर्दा हेलम्बुमा क्यानोनिङ खेलको सम्भावना प्रशस्त छ। ‘राजधानीबाट नजिक र उपयुक्त भूगोल भएकाले यहाँ क्यानोनिङको सम्भावना राम्रो छ’, गुरुङले भने, ‘हेलम्बु आफैंमा पर्यटकीय नगरी हो, क्यानोनिङको सुरुआतले यहाँको पर्यटन विकासमा थप टेवा पुग्छ।’
पर्यटकीय क्षेत्र हेलम्बुमा पर्यटक आकर्षित गर्न यसअघि नै गाउँपालिकाले हेलम्बु ग्रेट ट्रेल निर्माणलाई अघि बढाइसकेको छ।