तातो तावामा अग्नि
हिउँदे अधिवेशन बैठक सुरु भएको सैंतीस दिनपछि प्रनिनिधिसभाले सभामुख पाएको छ। पूर्वमाओवादीले आफ्नो भागमा परेको पद छाड्न नचाहेपछि सत्तारूढ दलभित्र रस्साकस्सी पर्यो। अन्ततः भागबन्डाअनुरूप पद पूर्वमाओवादीले नै पायो। सभामुखजस्तो गम्भीर र जिम्मेवार पदमा व्यक्ति हत्याको अभियोग लागेका अग्नि सापकोटा एकल उमेदवार घोषित भए, आइतबार निर्विरोध रूपमा निर्वाचित भए। उनी निर्वाचित भएको घोषणा भइरहँदा बाहिर नागरिक समाजका प्रतिनिधिहरू विरोध प्रदर्शनमा थिए।
अग्लो शारीरिक बनावट र कुटिल हाँसोका नवनिर्वाचित सभामुख सापकोटामाथि लागेको हत्या अभियोग मुद्दा विचाराधीन अवस्थामा छ। नेकपाले सभामुखमा अघि सारेदेखि नै उनीविरुद्ध मावनअधिकार उल्लंघन र व्यक्ति हत्याको प्रश्न जोडतोडले उठे। तर कतै र कसैबाट जवाफ मिलेन। सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला उनीविरुद्ध अर्को मुद्दा पनि पर्यो। एकातिर न्यायिक लडाइँ निरन्तर छ, मुद्दामा पदीय प्रभाव पर्ने खतरा पनि उत्तिकै। राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलको राजीनामादेखि मावनअधिकारवादीले सापकोटाविरुद्ध उठाएका माग पनि कम आँक्न मिल्दैन। त्यहीकारण सभामुख तातो तावामाथि छन्।
अघिल्ला सभामुखमाथि ‘बलात्कारको अभियोग’ अनि निर्वाचित सभामुखमाथि व्यक्ति हत्याको अभियोग। संसद्का नेतामाथि ‘अभियोग’ लागेपछि यस्ता दृश्यले संसदीय पद्धति र मूल्य–मान्यतामै आघात पुर्याउने सम्भावना पनि उत्तिकै छ। अझ प्रमुख विपक्षी कांग्रेसले सापकोटालाई सर्वसम्मत हुन मैदान खाली गरिदिएको दृश्य पनि आलोच्य नै रह्यो। गणितीय रूपमा कांग्रेसले सभामुख जित्ने अवस्था नभए पनि एक अर्थमा सापकोटाप्रति कांग्रेसले सदाशयता राखेको रूपमा व्याख्या गर्न थालिएको छ। तर प्रमुख विपक्षी कांग्रेसले यो सदाशयता ‘पर्ख र हेर’ को नीतिमा आधारित देखिन्छ। विधिको शासन, लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासलाई बलियो बनाउन सभामुख सापकोटाले खेल्ने भूमिकाले नै आगामी दिनमा सभामुखप्रतिको दृष्टिकोण बनाउने कांग्रेसले स्पष्ट गरिसकेको छ। संसद् सञ्चालनमा विपक्षीको सहयोगी भूमिका सापकोटाका लागि सहज बाटो हुनेछ।
सापकोटालाई विपक्षीको मात्र होइन, आफ्नै पार्टीभित्रको चुनौती पनि कम आँक्न मिल्दैन। लामो रस्साकस्सीपछि सभामुखका उम्मेदवार बनेका सापकोटालाई आफ्नै पार्टीका प्रधानमन्त्री एवं सरकारको विश्वास जोगाइराख्न पनि कम चुनौतीपूर्ण छैन। पार्टीभित्रको जुन रणनीति, लडाइँ र समीकरणबाट सापकोटा उम्मेदवार बने, आगामी यात्राका लागि उनलाई पाइलैपिच्छे चुनौतीका चाङ छन्।
सरकारको जन्म र अन्त्य संसद्बाट हुन्छ। सरकारलाई निरन्तर संसद्प्रति उत्तरदायी बनाउने काम पनि संसद्को हो। बलियो सरकार बनेका बेला संसद् निरिहजस्तो बन्ने गर्छ। उत्तरदायी बनाउनुपर्ने निकायको छायाँमा संसद् पर्ने हो भने यसको गरिमा र उचाइ कायम रहन सक्दैन। संसद्को सर्वोच्चता र गरिमा उचो राख्ने सापकोटाका लागि यो अर्को चुनौती हो। कार्यकारीले संसद्लाई सहयोगी नभनी ‘अवरोधक’ ठान्ने पुरानै प्रवृत्ति हो। यतिबेला आफ्नै पार्टीको शक्तिशाली सरकारले गरेका कामकारबाहीप्रति प्रश्न उठाउने, अनुगमन गर्ने र गलत कार्यमाथि रोक लगाउने अर्थमा संसद् कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ। संसद्मा विचाराधीन प्रेस, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, सुरक्षासम्बन्धी विधेयक विवादमा छन्। सापकोटाका लागि विवादास्पद विधेयकलाई सर्वस्वीकार्य बनाएर किनारा लगाउनु अर्को चुनौती थपिएको छ।
शक्तिशाली सरकारको बनोट र विपक्षी कांग्रेसको निरिह भूमिकाका कारण संसद्को प्रभावकारिता र जीवन्तता हराउँदै गएको छ। ‘एक थान मन्त्री’ को स्वार्थमा सत्तापक्षका सांसद बोल्न डराउने र ‘हामीले बोलेर के हुन्छ र’ भन्ने प्रमुख विपक्षी कांग्रेसका सांसदको मनोविज्ञानले संसद्मा जनताका आवाज मलिन हुँदै गएका छन्। जनताका आवाज बोल्ने ठाउँकै अवस्था नाजुक भयो भने जनताका आवाज दबिने र सत्तामा बस्नेहरूमा मनपरी बढ्न गई शासन व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन जान्छ। सरकार र विपक्षीको विश्वास लिँदै संसद्लाई प्रभावकारी र जीवन्त बनाउन सापकोटाले नेतृत्वदायी भूमिका निर्वाह गर्नैपर्छ।