उपकरणले पछि पारेको मानिसको खुसी
सुन्दा स्वीकार्य नलाग्न सक्छ तर सत्यता गहिराइमा छ कि उपकरणको वृद्धि र विकाससँगै मानिसको खुसी भने पछि परेको छ। मानवको उत्पत्ति, विकास र मनस्थितिमा आएको विकासलाई हेर्ने हो भने शारीरिक, मनोवैज्ञानिक र भावनात्मक रूपमा जसरी विकासले फट्को मारेको छ, त्यसको तुलनामा मस्तिष्क पनि विकास हुँदै गएको भने छैन। मस्तिष्कको कार्यक्षमता र यसको नियम प्राकृतिक रूपले नै चलिरहेको छ। विश्वभर जति मात्रामा नयाँनयाँ प्रविधि र किसिमकिसिमका साथ मोबाइल, कम्प्युटर, प्याड, ट्याब्लेटलगायतका उपकरणको आविष्कार, प्रयोग र आदत बढेको छ, त्यसले त्यति नै मात्रामा मानिसको खुसी खोसिरहेको छ। झट्ट हेर्दा त आज मानिस आफ्ना हातमा संसार लिएर घुम्न सकेको, संसारलाई आफ्नै हातबाट जान्न, बुझ्न र नियन्त्रणमा लिन सकेको अनुभूति गर्छन् र घमण्ड पनि। तर मानव स्वास्थ्य, पारिवारिक संरचना, आध्यात्मिक विकासलगायतका बहुआयामबाट हेर्न थाल्यौं भने थाहा लाग्छ– यसले जति खुसी दिएको छ, त्यो खुसीलाई बचाएर दीर्घकालीन बनाइराख्न त्यति नै चुनौतीपूर्ण पनि छ। ती आयामलाई छोटकरीमा बुझ्ने कोसिस गर्ने हो भने व्यावहारिक र प्रयोगात्मक लाग्न सक्छ।
मस्तिष्क र खुसीको विज्ञान
मानिसमा बाहिर प्रस्फुटन हुने खुसी मस्तिष्कबाटै प्राप्त हुने हो। हाम्रो मस्तिष्कमा उत्पादन हुने डोपामिन नामको हर्माेनले नै हामीलाई खुसी अवस्थामा रहन प्रेरित गर्छ। हाम्रो उत्तेजना, आन्दोलित मन, प्रतिक्रिया आदि क्रियाकलापअनुसार डोपामिन उत्पादन हुन्छ, त्यसलाई मस्तिष्कले रिसिभ गर्छ र हामीमा खुसीको अनुभूति हुन्छ। पुरानो जमानामा मानिसका हातमा धेरै प्रकारका उपकरण थिएनन्, त्यसैले तात्कालिक खुसी प्राप्त गर्ने साधन पनि कम थियो मस्तिष्क र खुसी सन्तुलनमा थियो। सबै कुरा प्राकृतिक रूपले चलिरहेको थियो। अहिले धेरै उपकरणका धेरै तरिकाको प्रयोगले क्षणिक रूपमा तत्कालै खुसी प्राप्त गर्ने माध्यम धेरै छन्। तर धेरै मात्रामा उत्पादन भएको डोपामिन मस्तिष्कले ग्रहण र रिसिभ गर्न सक्छ भन्ने छैन।
मस्तिष्कको आफ्नो कार्य हुन्छ, धेरै कुरा एकैचोटि प्राप्त गरेर ग्रहण गर्न सक्दैन। त्यसो हुँदा ग्रहण गर्ने क्षमता ह्रास हुँदै जाने सम्भावना हुन्छ। सामाजिक सञ्जालका समाचार, अन्य सञ्चारमाध्यमबाट प्राप्त हुने समाचार एवं प्याड, ट्याब्लेटलगायतका विविध उपकरणको एकैचोटिको प्रयोग र त्यसमा रहेका उत्तेजनात्मक सामग्रीले दिने खुसी एकैचोटि प्राप्त हुनु पनि प्राकृतिक होइन। यसले मस्तिष्कमा उत्पन्न हुने डोपामिन हर्माेन र सामान्य क्रियाकलापलाई सन्तुलनमा राख्न वाधा पुगिरहेको हुन सक्छ।
आदत र स्वभावको प्रतिकूल विकास
आजका मानिसलाई आफ्नो जीवनशैली, परिवार, स्वास्थ्यभन्दा पनि आवश्यक चिज मोबाइल, कम्प्युटरजस्ता उपकरण हुन् भन्ने लाग्न थालेको छ। अरू चिज कतै छुटोस् या बिर्सियोस्, त्यतिधेरै वास्ता हुँदैन जति धेरै वास्ता आफ्नो साथमा मोबाइल नहुँदा हुन्छ। एकछिन आफ्ना उपकरण आफ्नो साथमा छैनन् भने चिन्ता हुन्छ। आफूमा कस्तो संवेदना घटित भएको छ, सकारात्मक ऊर्जाले आफू रिचार्ज छु कि छैन वास्ता हुँदैन तर मोबाइल रिचार्ज गर्ने र बेट्री चार्ज गर्ने काममा हरपल होस बनिरहन्छ। आफ्नो ध्यान, योग, स्वास्थ्य, सम्बन्ध, जीवनशैलीलाई समयसमयमा ख्याल गर्दै छुटेका कुरा समायोजन गर्दै लैजाने बानी पनि छुटिसकेको छ भन्दा अनुपयुक्त हुँदैन। मोबाइलमा कुनै समाचार आओस्–नआओस्, मोबाइल हेरिरहन मन लाग्छ। बेलाबेलामा नहेरी मनै मान्दैन। स्वतः हात मोबाइलमा जान्छ कुनै जरुरी मिटिङ या सेमिनारमै बसेको किन नहोस्। मानिसले थाहै नपाई बसेको यो आदत स्वस्थ जीवनशैलीका लागि कदापि प्रतिकूल छैन। यसले नजानिँदो तरिकाले हाम्रो खुसी बढाएको होइन, कम गर्दै लगेको छ।
मानसिक विकासमा प्रतिकूलता
बढ्दै गइरहेका उपकरणको प्रयोगले बालबालिकादेखि युवा र वृद्धसम्म, कामकाजी मानिस र घरायसी काममा व्यस्त हुने सबै किसिमका मानिसलाई सहज बनाएको छ। सूचना र सञ्चार क्षेत्रमा विकास गरेको छ। तर बालबालिकाको मानसिक विकासमा भने नजानिँदो तरिकाले असर पुर्याइरहेको हुन्छ। यो तथ्यलाई विभिन्न अनुसन्धानले समेत पुष्टि गरिसकेका छन्। उपकरणकै बढ्दो प्रयोगले व्यक्तिमा प्रेम होइन, उपकरणप्रति प्रेम बढेको छ। व्यक्ति हृदयमा होइन, कुनै उपकरणमा सीमित हुन थालेको छ। तयारी खुसी र क्षणिक उत्तेजनामा रमाउने बानी परेको छ। अनुशासन र मर्यादामा ह्रास आउन थालेको छ। व्यक्ति आज मानवताको स्वभावबाट हटेर उपकरणजस्तो भएको छ। यसले गर्दा बेचैनी, छट्पटी, क्रोध, लोभ, मोह सबै अवगुण विकासतहुँदै गएका छन्। पाहुना हुन जाँदासमेत पहिले चियापानीको अपेक्षा हुन्थ्यो भने हिजोआज नेटवर्क छ कि छैन, वाईफाई छ कि छैन भनेर चिन्तित र सचेत हुनुपर्ने अवस्था छ। यो बहिर्मुखी खुसीका माध्यमले मानसिक विकासमा सहयोग पुर्याउँदैन, बरू वाधक बन्न सक्छ। प्राकृतिक आचरण, मानसिक शान्ति गुमाएर क्षणिक खुसीका साधनमा अल्झिनु पटक्कै बुद्धिमता हुँदैन।
सृजनात्मकता हराउँदै जान्छ
बालबालिकाको गृहकार्य सिकाउन, गणितका समस्या समाधान गर्न होस् या जुनसुकै भाषाका निबन्ध लेखन, अनुसन्धानका पक्ष होऊन् या कुनै पनि शैक्षिक सृजनात्मकता अब युट्युब र गुगलमा भेटिने हुँदा औंला भाँच्दै गणितको समाधान गर्न पनि परेन। कुनै पनि विषयमा गहन भएर सोच, समझ र आफ्नो स्वविवेकको प्रयोग गर्नु पनि परेन। गुगलमा ब्राउज गर्नासाथ जे चाहियो त्यही आउँछ। यसले सहज र सरल बनाएको होला तर आन्तरिक सृजनात्मकता भने पूरै नोक्सान भएको छ भन्दा अनुपयुक्त हुँदैन। खाना खाने समय भयो, परिवारका सबै सदस्य भान्छामा जम्मा हुने त चलनै हरायो। आआफ्नो कोठा बन्द गरेर मोबाइल, कम्प्युटर आदि उपकरणमा घोप्टे मुन्टोका साथ व्यस्त हुन्छन्। एउटा कोठाबाट अर्को कोठामा मोबाइल कल गरेर बोलाउनुपर्ने अनि यसैलाई सभ्यता मानिन्छ। सहजताका नाममा विसंगति र विकृति पनि भित्रिरहेका छन् र व्यक्तिको सृजनात्मकता अनि मौलिकता नष्ट हुँदै गइरहेको छ भन्ने बोध भएन भने हाम्रा उपकरणले खुसी होइन, नहानिँदो तरिकाले दुःखी बनाउँदै लगेका छन्।
ध्यान नै दीर्घकालीन खुसीको माध्यम
हुन त आजका मानिस ध्यान भन्नासाथ सबै कुरा छाड्नुपर्ने हो कि भनेर डराउँछन्। हुन पनि अधिकांश समय उपकरण हातमा र साथमा लिएर बिताउने मानिसलाई शान्त, मौन रहेर ध्यानमा डुब्नु भनेको कुनै कुराबाट छुट्कारा लिनु र समयको व्यवस्थापन गरेर आफूलाई समय दिनु हो। अरूप्रतिको ध्यान संसार हो, मानिसलाई अरूकै ध्यानमा, अरूकै चर्चापरिचर्चामा खुसी मिल्छ भने आफ्नो ध्यानले ती कुरा खोसिन्छन् कि भन्ने चिन्ता पर्नु स्वाभाविकै होला। उचित आहार, व्यायाम, जीवनशैली, चालचलन, ध्यानको अभ्यास एवं मनोवैज्ञानिक कल्याणको निरीक्षणको माध्यमबाट हासिल हुन्छ। यसले आत्मस्वीकृति र प्रेमको ऊर्जा बढाउँछ।
पूर्वीय सभ्यतामा भगवान् गौतमबुद्ध, शिव, पतञ्जलीलगायत सन्त पुरुषहरूले २५०० वर्षअगाडि प्रतिपादन गरेका ध्यानविधिलाई पछिल्लो समयमा पश्चिमी वैज्ञानिकहरू खुसीका आयामबारे अनुसन्धान गर्दै ध्यान नै खुसी रहने एक मात्र विकल्प हो भन्न थालेका छन्। सबै भावदशा र मनका वृत्तिहरूबाट खाली भएको अवस्था ध्यानस्थ हो। ध्यान कसरी गर्ने भन्ने प्रश्नको अलावा दिनमा कम्तीमा एक घण्टा केही नगरी कसरी बस्ने अभ्यास गर्न सिक्यो भने सार्थक हुनेछ। हामी मानिस कर्मयोगी हौं। २४ घण्टा समय केही न केही नगरी हामी बस्नै सक्दैनौं र बस्न हुँदैन पनि। तर २४ घण्टामध्ये एक घण्टा आफ्ना लागि छुट्टयाएर केही नगरी बस्नु ध्यानमा उपलब्ध हुनु हो। केही नगर्नु, वि श्रामपूर्ण बस्नु र हाम्रो आन्तरिक ऊर्जालाई प्रस्फुटन हुन दिनु ध्यान हो। बाह्य ऊर्जाले व्यस्त बनाउँछ भने आन्तरिक ऊर्जाले मस्त बनाउँछ। बाहिरका कर्मले बाहिरी आनन्द प्रदान गर्छन् भने भित्री जागरणले भित्रबाट आनन्दित बनाउँछ।