‘बल्ने ढुंगा’ को लोभ देखाएर ५० लाख लुटियो

‘बल्ने ढुंगा’ को लोभ देखाएर ५० लाख लुटियो

काठमाडौं : बल्ने ढुंगाको लोभ देखाएर स्वयम्भू भगवान्पाउ बस्ने बच्चुराम गुरुङलाई ६ जनाको गिरोहले ५० लाख रुपैयाँ लुटेको तथ्य खुलेको छ। सिन्धुपाल्चोक मेलम्ची घर भएका गुरुङलाई लुटेराको समूहले काभ्रेस्थलीको कच्चीबाटोमा पुर्‍याई लुटेको हो।

गुरुङलाई मित्रनगरका भीमबहादुर घर्तीमगरले आफ्ना बाजेसँग बल्ने ढुंगा रहेको र बिक्री गर्न लागेको सुनाएका थिए। गुरुङले उक्त ढुंगा आफूले खरिद गरी महँगोमा बिक्री गर्ने योजनाअनुसार जग्गा एक सहकारीमा धितो राखेर ५० लाख रुपैयाँ झिकेका थिए। ‘ढुंगा जथाभावी बिक्री गर्नु हुँदैन’ भन्दै गुरुङलाई माघ ९ गते काभ्रेस्थलीस्थित शान्तिधाम मन्दिर जाने बाटोमा बोलाएका थिए। गुरुङ बिहान १० बजे ५० लाख रुपैयाँ लिएर उतै पुगे। ढुंगा खै ? भनेर प्रश्न गर्नेबित्तिकै उनलाई घर्तीमगरसहितको लुटेरा समूहले आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुटेर भागे। गुरुङ चिच्याए। कसैले सुनेन। उनले आफू लुटिएको बारे प्रहरीमा जानकारी गराए। महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थाल्यो। अनुसन्धानका क्रममा प्रहरीले घर्तीमगरको फोनको कलडिटेल हेरेर उनीसँग सम्पर्कमा रहेका काभ्रेस्थलीकै नकुर तामाङ, तेन्जिङबहादुर तामाङ, तार्केश्वर डाँडागाउँका दावाछिरिङ तामाङ, बालाजु बाइपासका कुमारबहादुर बुढाथोकी, र गोंगबुका सञ्जित वाइवालाई पक्राउ गर्‍यो।

लुटेरा समूहले लुटपाटको रकम जनही बाँडेर लिएको पाइएको छ। घटनाबारे जानकारी दिन आइतबार महाशाखाले पत्रकार सम्मेलन गरेको थियो। सम्मेलनमा महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले भने,‘ लुटेको पैसाले मोटरसाइकलदेखि सुनका गरगहनासमेत किन्न भ्याइसकेका रहेछन्।’ प्रहरीले १८ लाख ७५ हजार ५ सय रुपैयाँ मात्रै बरामद गरेको छ। बाँकी रकम भने लुटेरा समूहले खर्चिसकेको थियो। एसएसपी थापाका अनुसार यो गिरोहले लुटेको रकममध्ये ५० हजार रुपैयाँ नगरकोटमा रमाइलो गरी खर्चिएको थियो। वाइवाले पाएको ५ लाखमध्ये २ लाख ११ हजार सानिमा विकास बैंकमा जम्मा गरेका थिए। उनले पवित्र सुनचाँदी पसलबाट ७७ हजारको औंठी मात्रै बनाएनन्, १९ हजार तिरेर मोबाइल खरिद गरेको प्रहरीले जनाएको छ। लुटेकै पैसामध्ये वाइवाले घर बनाएबापत लागेको ऋण तिर्न दिदीलाई एक लाख रुपैयाँ दिएका थिए।

अर्का लुटेर घर्तीमगरले डाँका गरी पाएको ७ लाखमध्ये ३ लाख ३० हजार तिरेर नयाँ पल्सर मोटरसाइकल खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दावाछिरिङ लामाले भने पाँच लाख पाएका थिए। उनले ऋण लिएको एक लाख ५० हजार तिरेका थिए। महाशाखाका अनुसार बुढाथोकीको भागमा साढे ४ लाख रुपैयाँ परेको थियो। उनले ७५ हजार रुपैयाँ घरबेटीलाई भाडा तिरे भने एक लाख २५ हजार रुपैयाँ ठेकेदारलाई ऋण तिरेका थिए। अर्का लुटेर नकुर तामाङले भागमा परेको पाँच लाखमध्ये ३० हजार रुपैयाँ फाइनान्समा किस्ता तिरे भने बाँकी खर्च गरिसकेका थिए। तेन्जिङ तामाङले भागमा परेको ५ लाख ८० हजार रुपैयाँ खर्चिन भ्याएका थिएनन्।

प्रहरीले सञ्जितको साथबाट २३ हजार पाँच सय, तेन्जिङबाट ५ लाख ८० हजार, भीमबहादुरबाट ३ लाख ५ हजार, नकुरबाट ४ लाख ३१ हजार, कुमारबहादुरबाट २ लाख ५ हजार र दावाछिरिङको साथबाट ३ लाख ३१ हजार रुपैयाँ बरामद गरेको छ। त्यसैगरी, लुटेराले लुट्न प्रयोग गरेको तीन वटा मोटरसाइकल, लुटेको पैसाले खरिद गरेको नयाँ मोटरसाइकल, खरिद गरेको मोबाइल र औंठी बरामद गरेको महाशाखा प्रमुख एसएसपी थापाले जानकारी दिए।

यो गिरोहले अन्यलाई पनि यसैगरी लुटपाट गरेको आशंका प्रहरीको छ। बल्ने ढुंगा, वनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख र पुरातात्विक वस्तु आफूसँग छ भनेर ठगी गर्ने र लुटपाट गर्ने गिरोहमाथि सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। ‘हुँदै नभएका वस्तु आफूसँग छ भनेर लोभ देखाउने र पछि लुट्ने घटना हुन सक्छ,’ एसएसपी थापाले भने, ‘यस्ता गिरोहदेखि बेलैमा सावधानी अपनाउनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.