करेन्ट लागेर मृत्यु
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय टिकाबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।
कार्कीलाई आफ्नै बारीमा पिपलको रुखमा चढी घाँस काटने क्रममा नजिकै ३३ हजार भोल्टेज प्रवाह भइरहेको विद्युतको मुख्य प्रशारण लाइनबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रमुख रन्जु सिग्देलले जानकारी दिइन् ।
'पिपलको हाँगा काट्ने क्रममा हाँगाले विद्युतको लाइनमा छोएपछि त्यही करेन्टले कार्कीलाई छोएको थियो । करेन्ट लागेपछि उनी अचेत भइ रुखबाट खसेका थिए । स्थानीयले उद्धार गरेर खुर्कोटकै सुभ जीवन अस्पतालमा उपचारका लागि ल्याएका भएपनि डक्टरले मृत घोषणा गरेका हुन्' उनले भनिन् ।
उता स्थानीयले भने विद्युत प्राधिकरणको लापरवाहीका कारण दुर्घटना भएको बताएका छन् । मुख्य प्रशारण लाइन आसपासका रुख विद्युत प्राधिकरणले नै कटान गरी सुरक्षित गर्नुपर्ने भएपनि वेवास्था गरेको बताइएको छ । एसपी सिग्देलले भने घटनाका विषयमा अनुशन्धान भइरहेको बताइन्।