धादिङमा क्रिकेटको क्रेज

धादिङमा क्रिकेटको क्रेज

बेनीघाट (धादिङ) : धादिङ जिल्लामा पनि क्रिकेटको क्रेज बढ्दै गएको छ। चाडपर्वको समयमा विभिन्न क्लबहरूले स्थानीय स्तरमा फाट्टफुट्ट क्रिकेट प्रतियोगिता गर्दै आएकोमा पछिल्ला दिनहरूमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगितासमेत हुन थालेको छ। विद्यालयमा हुने वार्षिक खेलकुदमा पनि क्रिकेट खेललाई समावेश गरिने थालिएको छ। गाउँपालिकाले पनि प्रतियोगिता नै आयोजना गर्न थालेका छन्।

यसैक्रममा बेनीघाट रोराङ गाउँपालिकाले आफ्नो स्वर्गीय प्रशासकीय अधिकृत हर्षबहादुर थापाको स्मृतिमा गाउँपालिका स्तरीय अन्तरमावि क्रिकेट प्रतियोगिता आयोजना गरेको छ। पहिलो पटक आयोजना गरिएको हर्षबहादुर थापा स्मृति कप टीट्वेन्टी क्रिकेटको उपाधि मलेखुस्थित ब्राइट फ्युचर बोर्डिङले जितेको छ।

विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा दुई दिनसम्म चलेको अन्तरमाध्यमिक विद्यालय टीट्वेन्टी क्रिकेट प्रतियोगितामा रिचोकटारको बागेश्वरी माध्यमिक विद्यालयलाई हराउँदै ब्राइट फ्युचरले उपाधि जितेको हो। बेनीघाट रोराङ गाउँपालिकाको युवा तथा खेलकुद समितिले आयोजना गरेको बृहत् खेलकुद महोत्सवअन्तर्गत पालिकामा कार्यरत रहेकै बेला हृदयाघात भएर मृत्यु भएका प्रशासकीय अधिकृत थापाको सम्झनामा टीट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा बेनीघाट रोराङमा रहेका ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए। जसमा मलेखुस्थित ब्राइट फ्युचर बोर्डिङ प्रथम, मलेखु रिचोकटारस्थित बागेश्वरी मावि द्वितीय र मझिमटारस्थित शंखादेवी मावि सान्त्वना भएका थिए।

प्रतियोगितामा बलिङतर्फ ब्राईट फ्युचर मलेखुका सृजन पाण्डे, चन्द्रोदय मावि बेनीघाटका अभिषेक पाण्डे, आयुष गिरीको खेल उत्कृष्ट रहेको थियो। यस्तै ब्राइट फ्युचरका विलियम श्रेष्ठ, सोनु सिंह, बागेश्वरी मावि रिचोकटारमा दीपेश सेढाईं, गोकुल सुनार र शंखादेवी माविका सुरेश रायमाझी बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रूपमा छनोट गरिएको खेल संयोजक दीपेश कँडेलले बताए।

भौतिक पूर्वाधारबिना पनि विद्यालयस्तरीय क्रिकेटमा विद्यालयको र खेलाडीहरूको सहभागिता चाखलाग्दो रहेको गाउँपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक एवं खेल व्यवस्थापक दीपेश कँडेलले बताए। ‘स्थानीय तहबाटै खेलाडी उत्पादन हुने हो, खेल्ने र देखाउने अवसर नपाएर पनि कतिपय प्रतिभाहरू गाउँगाउँमै लुकेको अवस्थामा छन्, त्यसैलाई उजागर गर्न हामीले क्रिकेट प्रतियोगिता गरेका हौं’, उनले भने, ‘पहिलो वर्ष आयोजना गरिएको प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको सहभागिताले हामीलाई धेरै हौसला थपिएको छ।’

धादिङ जिल्लामै पहिलो पटक गाउँपालिका स्तरीय अन्तरमाध्यमिक विद्यालय क्रिकेट आयोजना गरेको बेनीघाट रोराङ गाउँपालिकाले क्रिकेटको पूर्वाधार विकासमा पनि सघाउने प्रतिबद्धता जनाएको छ। ‘क्रिकेटमा हाम्रो नेपालले ठूलो सफलता हासिल गर्दै छ, त्यसलाई निरन्तरता दिनका लागि पनि तल्लो तहमा खेलाडी उत्पादन हुनु जरुरी छ’, गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले भने, ‘यसैले खेलाडीको लागि खेल्ने ठाउँ बनाउन गाउँपालिका प्रतिबद्ध छ, हामी बेनीघाटमै एउटा उत्कृष्ट क्रिकेट रंगशाला बनाउने योजनामा छौं।’

यसअघि बेनीघाट रोराङ गाउँपालिकाकै बेनी शिक्षा सदनले विद्यालयको वार्षिक खेलकुद कार्यक्रममा विद्यालयमा अध्यययरत विद्यार्थीहरूबीच फ्रेन्चाइज शैलीमा क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितापश्चात् बालबालिकाहरूले देखाएको क्रिकेटप्रतिको सद्भाव र आकर्षणले क्रिकेटप्रेमीका ध्यान तानेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.