बैतडीमा फेरि हिमपात
बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पाचौं पटक हिमपात भएको छ । बैतडीको श्रीभावर, ढोल्यामोड, सिगासधुरा, खोड्पे,सतबाँझ, ग्वाल्लेक, जित्कीजुवाँड, कलालबसेलगायतका अधिकांश क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।
बुधबार बिहान भएको हिमपातले जनजीवन प्रभावित भएको छ । चिसोका कारण बाहिर निस्कन मुस्किल भएको स्थानीयले बताएका छन् । वर्षा र हिमपातका कारण वस्तुभाउको स्याहारमा समेत समस्या भएको सुर्नया ६ की कमला अवस्थीले बताइन् । उनले भनिन्, 'यो वर्ष उच्च क्षेत्रमा पाँचौं पटक हिमपात भएको छ । चिसोका कारण बाहिर निस्कन समेत मुस्किल भएको छ । हिमपातका कारण जनजीवन कष्टकर भएको छ।'
जिल्लाको खोड्पे क्षेत्रमा पनि हिमपात भएको स्थानीय मोहन बिष्टले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेको उनले बताए । ‘हिमपातले निकै समस्या भएको छ । यो बर्ष बर्षा र हिमपातले जनजीवन प्रभावित भइएको छ ।उनले भने ,'हिमपातले बाहिर निसक्न समेत मुस्किल भएको छ ।'
हिमपातले जिल्लाको सिगास गाउँपालिकाको केन्द्रमा काम गर्न मुस्कील भएको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 'हाम्रो गाउँपालिकाको केन्द्रमा बिहीबार बिहानैदेखि हिमपात भएको छ । हिमपातका कारण कामकाजमा समेत समस्या भएको छ । चिसोले बाहिर निस्कन मुस्कील भएको छ ।'उनले भने,'लगातारको बर्षापछि हिमपात भएको हो । हिमपातले उच्च क्षेत्रको जनजीवन प्रभावित भएको छ ।'
हिउँदेबालीमा क्षति
यो वर्ष लगातार भएको वर्षा र हिमपातले हिउँदेबालीमा क्षति पुगेको छ । सुरुको वर्षा र हिमपातले बालीनालीलाई फाइदा पुर्याएको भएपनि लगातार वर्षा र हिमपात हुँदा हिउँदेबालीमा क्षति पुगेको किसान देवदत्त भट्टले बताए । लगातारको वर्षा र हिमपातले गहुँबालीमा क्षति पुर्याएको सुर्नया ६ का किसान मुरलीप्रसाद अवस्थीले बताए ।