हिमपातपछि चिसोले दुई हप्तामा आठको ज्यान गयो
हुम्ला : जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म हिमपातपछिको चिसोले आठ जनाको ज्यान गएको छ। दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउँपालिकामा पाँचको ज्यान गएको हो।
हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायत कारण मृत्यु भएको हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले फोनमार्फत जानकारी दिए। करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रजिअ दत्तराज हमालले जानकारी दिए।
हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत् सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ। त्यस्तै बैंक कारोवार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले जानकारी दिए।