'छिमेकीसँग काम गर्न तत्पर छु'
नयाँदिल्ली : भारतका विदेशसचिव हर्षवर्धन शृंगलाले अन्तरराष्ट्रिय प्रणालीमा रहेका भारतका विभिन्न साझेदासँग काम गर्न तत्पर रहेको बताएका छन्। उनले मुख्य रूपमा विकास तथा आर्थिक सम्बन्ध विस्तार गर्नुका साथै छिमेकी देशहरूसँगको सम्बन्ध, प्रमुख शक्तिहरूसँग तालमेल मिलाउँदै स्वतन्त्र समाजका लागि खतरा रहेको आतंकवादविरुद्ध साझा तथा स्पष्ट दृष्टिकोण बनाउने तथा नियमसंगत बहुपक्षीय आदेशका फाइदालाई संस्थागत गर्दै लैजान अन्तरराष्ट्रिय प्रणालीमा रहेका साझेदार शक्तिसँग कार्य गर्न तत्पर रहेको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बुधवार नयाँदिल्लीको साउथ ब्लकस्थित भारतीय विदेश मन्त्रालयमा पदभार सम्हालेपछि शृंगलाले भारतीय विकासको अनुभव विश्वका गरिब देशहरू मुख्य रूपमा अफ्रिका तथा ल्याटिन अमेरिकासँग साझा गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। यी मुलुकमा नयाँ मिशन तथा नयाँ पहल शुरु गर्न आफू तयार रहेको विज्ञप्तिमा भनिएको छ।
अमेरिकाका लागि भारतीय राजदूतको जिम्मेवारीबाट विदेशसचिव बनाइएका शृंगलाले शीतयुद्धका बेला विदेश सेवामा प्रवेश गरेको बताउँदै उनले ग्लोबल वार्मिङ दबाबमूलक चिन्ता बनेको वर्तमान समयमा विदेश सचिवको जिम्मेवारी सम्हाल्न आइपुगेको बताएको विज्ञप्तिमा उल्लेख छ। साइबर डोमेन र प्रविधिको द्रुत विकासका अवसर र चुनौतीलाई पनि आफूले ध्यान दिने भन्दै उनले विदेश मन्त्रालयले भारतका लागि यस्ता महत्वपूर्ण मुद्दामा भएको आलोचनात्मक प्रकृतिको सह्राना गरेको विज्ञप्तिमा भनिएको छ।
भारतीय विदेशमन्त्री जयशंकरले विदेशसचिव शृंगलालाई विदेश मन्त्रालयमा स्वागत गरेका छन्। उनले आधिकारिक ट्विटरमा जानकारी गराउँदै लेखेका छन्, ‘आज पदभार सम्हालेपछि विदेशसचिव शृंगलालाई स्वागत गरे। उहाँको न्यानो व्यक्तित्व र विशाल अनुभवले विदेश मन्त्रालयलाई थप उचाइमा पुर्याउनेमा म विश्वस्त छु।’
पदभार ग्रहणपछि भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विदेशसचिवको रूपमा काम गर्न पाएकोमा अत्यन्त सम्मानित महसुस गरेको बताए। उनले भने, ‘म यो आश्वासन दिन चाहन्छु कि म यो विशेष सेवा र कार्यलाई कर्तव्यनिष्ठाका साथ पूरा गर्दछु।’
पूर्व विदेशसचिव विजय गोखलेले निर्धारण गरेको उच्च मानक तथा भारत तथा विदेशमा समेत सक्षम नेतृत्वको छवि बनाएका विदेशमन्त्री जयशंकरको नेतृत्वमा काम गर्न पाएकोमा आफूमा विशेषानुभूति भएको बताउँदै उनले भने, ‘यसलाई मैले अवसरको रूपमा लिएको छु।’
राष्ट्र र जनताप्रति समर्पित र जिम्मेबारी वहन गर्ने मन्त्रालयमा आबद्ध भएको आफूले राम्ररी बुझेको बताए। ‘हामी जनताका सेवाका लागि हौं भन्ने कुरामा म एकदमै सचेत छु। हाम्रा सबै प्रयास सुरक्षा र समृद्धिको वैदेशिक सम्बन्धका आधारमा राष्ट्र र जनताका लागि योगदान पुर्याउन हुनुपर्छ भन्ने कुरामा म दृढ छु’, उनले भने। झण्डै ३६ वर्षअगाडि युवावस्थामा भारतीय सेवामा प्रवेश गरेको स्मरण गर्दै उनले आगामी दिनमा प्रधानमन्त्री र विदेशमन्त्रीको मार्गदर्शनमा नयाँ भारतको निर्माणका लागि गतिशील र उत्तरदायी कूटनीतिको आधार तयारका लागि प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।