भ्यु टावर निर्माण सुस्त
काठमाडौँ : काठमाडौँ भ्यु टावर निर्माण सुरु भएको साढे तीन बर्ष पुरा भयो। तर टावरले भूँइ छाड्न सकेको छैन। यति लामो अवधिमा जमिनमा खाल्डो खनेर वरिपरी पर्खाल मात्र लगाइएको छ। भवनको पिलर समेत उठाइएको छैन।
टावर बनाउँन २०७१ फागुनमा काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र विकोइ विल्डरसवीच सम्झौता भएको थियो। सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण सम्पन्न हुने टावर २९ तले बन्ने सम्झौता भएको थियो। तर २०७२ सालको भूकम्पपछि १२ तला भन्दा बढीको स्वीकृत पाएन।
सोही अनुसार १२ तले भ्यु टावरको सोही वर्षको कात्र्तिकमा उपर्राष्ट्रपति नन्दबहादुर पुनले शिल्यान्स गरेका थिए। तर भूकम्पले विविध समस्या ल्याएपछि २०७३ साल असारदेखि ५ वर्षमा सम्पन्न गर्ने गरि निर्माण कम्पनीसँग सम्झौता भएको महानगरपालिकाका निजी साझेदारी लगानी महाशाखाका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।
पुरानो बसपार्कको करिब २४ रोपनी क्षेत्रफलको ४० प्रतिशत भागमा टावर निर्माण गर्न लागिएको हो। बाँकी ६० प्रतिशत भाग भने खुल्ला राख्ने सम्झौता भएको छ। टावरको जमिन मुनिको दुइतला मध्ये एउटामा सवारी पार्किङ अर्कोमा बसपार्क सञ्चालन गर्ने योजना महानगरको छ। टावर निर्माणको प्रकृया अघि बढेसँगै बसपार्क अहिले खुल्ला मञ्चबाट सञ्चालन भइरहेको छ। जसले गर्दा खुल्लामञ्च साँघुरिएको भनेर पटक पटक आवज पनि उठ्ने गरेको छ।
भ्यु टावरको निर्माण पश्चात बसपार्क पुनः पुरानै ठाउँमा सर्ने प्रमुख काफ्लेले जानकारी दिए। तर टावरको निर्माण सुस्त गतिमा भएको र परिणाम प्रतिशतमा मापन गर्ने काम नभएको उनी स्वीकार्छन्। ‘अहिलेसम्म जमिन मुनिको काम सुरु भएको छैन,’ उनले भन्छन् ‘खाडल मात्र खनेर वरिपरी पर्खाल लगाउँदैछ, त्यसैले यति नै काम भयो भनेर मापन गर्ने अवस्था छैन।’
करार सम्झौता बाँकी भएकाले ठेकेदारलाई दबाव दिन पनि नमिल्ने महानगर अधिकारी बताउँछन्। सम्झौता अनुसार करार अवधि अझै करिब डेढ वर्ष बाँकी छ। निर्माण पक्षका मनोज भेट्वाल भने सम्झौता अवधि भित्रै निर्माण सम्पन्न हुने दावी गर्छन्। जमिनमुनीको कामले गति लिन समय लागेपनि सतहमाथिको काम अघि बढाउन समय नलाग्ने उनको भनाई छ।
सम्झौता अनुसार निर्माण कम्पनीले ३० बर्ष सम्म तोकिएको कर बुझाएर टावर सञ्चालन गर्ने छ। त्यसपश्चात कम्पनीले महानगरपालिकालाई हस्तान्तरण गर्ने छ। निर्माण अवधिभर कम्पनीले टावरको भाडा भने तिर्नुपर्ने छैन। जमिनको कर भने कम्पनीले नियमित बुझाइरहेको महानगरपालिकाको राजश्व विभागका निर्देशक शिवराज अधिकारीले बताए।