केके भएका थिए इतिहासमा यो साता ?
जनवरी ३०
सन् १९३३ को जनवरी ३० मा जर्मनीका राष्ट्रपति पउल भन हिन्डेनबर्गले नाजी पार्टीका प्रमुख एडोल्फ हिटलरलाई जर्मनीको चान्सलर पदमा नियुक्त गरेका थिए। त्यतिबेला चान्सलर पद खाली हुन गएको थियो। हिटलरको पार्टीका युवा सदस्यहरूको अर्धसैन्य दस्ताले जर्मनीमा उपद्रो मच्चाइरहेकाले हिटलरलाई चान्सलर बनाएर उनीहरूलाई शान्त पार्ने नीतिअनुरूप राष्ट्रपति हिन्डेनबर्गले त्यस्तो निर्णय गरेका थिए। त्यतिबेला चान्सलरलाई राष्ट्रपतिपछिको प्रभावशाली पद मानिन्थ्यो। चान्सलर बनेपछि हिटलरले सत्तामाथि एकाधिकार जमाउँदै लगे। यसै क्रममा हिन्डेनबर्गको कालगतिले मृत्यु भएपछि हिटलरले आफूलाई मुलुकको सर्वोच्च नेता घोषणा गरे।
जनवरी ३१
सन् १९५० को जनवरी ३१ मा अमेरिकी राष्ट्रपति हेनरी ट्र्युम्यानले अमेरिकी सेना र मातहतका वैज्ञानिकलाई हाइड्रोजन बम बनाउन सहयोग गरिने वचन सार्वजनिक रूपमै दिएका थिए। युद्धोन्मादले ग्रस्त अमेरिकी राष्ट्रपतिका रूपमा चिनिएका ट्र्युम्यानको सो कदमलाई शान्तिवादीहरूले अहिलेसम्म आलोचना गर्ने गरेका छन्। अमेरिकाको सैन्य शक्तिको अवाञ्छित प्रयोग गर्नसमेत नहिचकिचाउने उनले रुससँगको प्रतिस्पर्धामा अमेरिकालाई हाबी गराउने प्रयोजनका साथ हाइड्रोजन बम बनाउने कार्यमा आवश्यक परेको आर्थिकलगायत सहयोग गर्ने वचन सार्वजनिक रूपमै दिएका थिए। ट्र्युम्यानले नै पराजयको सँघारमा पुगिसकेको जापानका दुई शहर हिरोसिमा र नागासाकीमाथि एटम बम खसाउने निर्देशन अमेरिकी वायुसेनालाई दिएका थिए।
फेब्रुअरी १
सन् १९९२ को फेब्रुअरी १ मा शीतयुद्ध विधिवत् रूपमै अन्त्य भएको थियो। तत्कालीन सोभियत संघका राष्ट्रपति बोरिस येल्तसिनले सोभियत संघ विघटन भएको घोषणा गरेपछि शीतयुद्ध औपचारिक रूपमा अन्त्य भएको थियो। व्यवहारमा भने त्यसअगावै सोभियत संघ विघटित भइसकेको थियो। पूर्वी युरोपमा रहेका आफ्ना सेना फर्काउने घोषणा राष्ट्रपति मिखाइल गोर्बाचेभको पालामै भएको थियो, जसबाट शीतयुद्ध अन्त्य हुन आरम्भ भएको थियो। यसै क्रममा सोभियत संघमा आबद्ध युक्रेनलगायत विभिन्न राष्ट्रले सोभियत संघबाट आफूहरू अलग भएको निर्णय गरे। यत्तिकैमा बोरिस येल्तसिनले सन् १९९२ को फेब्रुअरी १ मा सोभियत संघ विघटित भएको र सोभियत संघको उत्तराधिकारी रुस हुने घोषणा गरे।
फेब्रुअरी २
संसारबाट रंगभेदी व्यवस्था कानुनी रूपमा हटेको करिब ३० वर्ष मात्र भएको छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर, यो सत्य हो। सन् १९९० को फेब्रुअरी २ मा मात्रै अश्वेत जातिका मानिसमाथि हुने विभेदकारी व्यवहारको संगठित रूपमै विरोध गर्नु कानुनसम्मत मानिएको थियो। यही दिनमा दक्षिण अफ्रिकाको सरकारले रंगभेदविरुद्ध आवाज उठाउने दल अफ्रिकन नेसनल कंग्रेसमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। ३० वर्ष लामो प्रतिबन्ध यसरी फुकुवा भएको थियो। यति गर्दा पनि अफ्रिकन नेसनल कंग्रेसका नेता नेल्सन मन्डेला भने जेलमै थिए। उनलाई रिहा गर्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको थियो।
फेब्रुअरी ३
परोपकारी काममा संलग्न भारतीय समाजसेवी मदर टेरेसाले सन् १९८६ को फेब्रुअरी ३ मा भव्य अन्तर्राष्ट्रिय हैसियत हासिल गरेकी थिइन्। इसाई मिसनरीसमेत रहेकी उनले चर्चहरूको सहयोग र प्रोत्साहनलाई उपयोग गरेर विभिन्न मुलुकमा परोपकारी गतिविधि सञ्चालन गरेकी थिइन्। खास गरी, बिरामी र असहाय व्यक्तिहरूको उपचार र लालनपालनका लागि उनले ‘मिसनरी अफ च्यारिटी’ नामक संस्था नै खोलेकी थिइन्। सन् १९८६ ताका संस्थामा ४५ सय नर्स आबद्ध भएका थिए र उनीहरूले १ सय ३३ मुलुकमा परोपकारी गतिविधि सञ्चालन गरेका थिए। उनको समर्पणको कदर गर्दै क्याथोलिक क्रिस्चियन धर्मका शिखर व्यक्ति पोपले फेब्रुअरी ३ मा उनकै कार्यालयमा गएर भेट गरेका थिए।
फेब्रुअरी ४
पूर्वयुगोस्लाभियामा जातीय वैमनस्य चर्को भएकाले सन् २००३ को फेब्रुअरी ४ मा यो मुलुक विधिवत् रूपमा विश्व मानचित्रबाट हराएको थियो। त्यसअघि युगोस्लाभियाको औपचारिक नाम ‘फेडरल रिपब्लिक अफ युगोस्लाभिया’ थियो। त्यसपछि मुलुकको अस्तित्व पूरै नामेट भयो र पूर्वयुगोस्लाभिया रहेको ठाउँमा ‘फेडरल रिपब्लिक अफ सर्बिया एन्ड मोन्टेनेग्रो’ मुलुक गठन भएको थियो। त्यो मुलुक पनि अन्ततः मोन्टेनेग्रो, सर्बिया, कोसोभोलगायत देशमा विभक्त भएको थियो। युगोस्लाभियामा बोस्न्याक, क्रोएसियन, मेसेडोनियन, मोन्टेनेग्रो, सर्बियन, स्लोभानियनलगायत जातिका मानिस बस्थे। त्यहाँको राजनीतिक संस्थापनले यी जातिबीच एकता कायम गर्न नसकेपछि युगोस्लाभिया विश्व मानचित्रबाट हराएको थियो।
फेब्रुअरी ५
सन् १९८९ को फेब्रुअरी ५ मा अफगानिस्तानबाट तत्कालीन सोभियत संघका सबै सैनिक फिर्ता भएका थिए। त्यसअघि नै ठूलो संख्यामा सोभियत सैनिक अफगानिस्तानबाट फिर्ता भए पनि सानो संख्यामा केही सैनिक अझै तैनाथ थिए। ती सैनिकलाई पनि अन्ततः सोभियत संघले फिर्ता बोलायो। त्यसको ठीक १० वर्षअघि सन् १९७९ मा सोभियत संघले अमेरिकी सहयोगप्राप्त अफगानिस्तानको राजनीतिक शक्तिलाई नष्ट गर्न भनेर सैन्य हस्तक्षेप गरेको थियो। त्यहाँको सत्ता कब्जा गरेर आफूले चुनेको मानिसलाई नयाँ राष्ट्रपति बनाउने, अफगानिस्तानमा कम्युनिस्ट शासन सुरु गर्नेलगायत काम भयो। तर, अमेरिका, नेटोमा आबद्ध अन्य मुलुक र पाकिस्तान लगायतको संयुक्त प्रयासमा अफगानिस्तानभित्रका धर्मान्ध जिहादीहरूलाई अत्याधुनिक हातहतियार र तालिमले सुसज्जित गराइयो र उनीहरूसँग लामो समयसम्म भिड्नु महँगो साबित हुने देखेर सोभियत संघले अन्ततः आफ्ना सैनिक फिर्ता बोलायो।