दिल्ली निर्वाचनले दिएको सन्देश

दिल्ली निर्वाचनले दिएको सन्देश

संघीय राष्ट्र भारतको संसदीय निर्वाचन प्रत्येक पाँच वर्षमा भए पनि त्यहाँ राज्यहरूको विधानसभा निर्वाचनमा एकरूपता छैन । त्यसैले भारतमा प्रत्येक वर्ष निर्वाचन भइरहन्छ । भारतीय जनता पार्टी (भाजपा) ले गत मे महिनामा भएको संसदीय निर्वाचनमा अभूतपूर्व विजय प्राप्त गरेपश्चात् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालमा छन् । इन्डिया टुडेले हालै गरेको एक सर्वेक्षणमा मोदीको लोकप्रियतामा ह्रास नआएका तथ्यांकहरू प्रकाशित गरेको छ । भारतीय राजधानी दिल्ली निर्वाचनको तयारीमा छ । दिल्लीको यो निर्वाचनमा विश्वव्यापी सञ्जाल भएका कम्युनिस्टहरू, पुरानो र पारम्परिक प्रतिस्पर्धी कांग्रेस वा अन्य पुराना दलहरू भाजपाका लागि चुनौती छैनन् । मोदीलाई एउटा सानो र तुलनात्मक रूपले नयाँ दल आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले चुनौती दिएका छन् । राजनीतिका धुरन्धरलाई केजरीवालले दिएको चुनौती नेपालका लागि सान्दर्भिक छ ।

कानुन व्यवस्था, प्रहरी र जमिन केन्द्रीय सरकारको जिम्मेवारीमा पर्ने राजधानी दिल्ली एक युनियन टेरिटरी (केन्द्रशासित प्रदेश) भए पनि यसको आफ्नै विधानसभा र सरकार छ । दिल्ली राज्य भारतको राजधानी भएकाले यसको निर्वाचनले मोदीका लागि राजनीतिक महत्व राख्छ । गत लोकसभा निर्वाचनमा दिल्लीका सम्पूर्ण स्थानमा भाजपाले सजिलै विजय हासिल गरेको थियो । त्यसैले दिल्लीको निर्वाचन मोदीको लोकप्रियताको मापक पनि हो । दोस्रो कार्यकालको सुरुसँगै मोदीको सरकार अनेक राजनीतिक विवादमा मुछिएको छ । दिल्लीलगायत अनेक सहरहरूमा दंगा भएका छन् । जन–धनको क्षति भएको छ । दी इकोनोमिस्ट नामक प्रख्यात अन्तर्राष्ट्रिय पत्रिकाले मोदी नेतृत्वको भारत असहिष्णु हुँदै गएको लेखेको छ । भारतको लोकतान्त्रिक सूचकांक खस्केको छ । तर यसको लाभ कम्युनिस्ट र कांग्रेसलाई मिलेको देखिँदैन ।

यसअघिको दिल्लीको निर्वाचनमा केजरीवालको दल आपले भारतको केन्द्रीय सत्तालाई चुनौती दिँदै दिल्ली विधानसभाको ७० मध्ये ६७ सिटमा विजय प्राप्त गरेका थिए । दशकौंसम्म राजनीतिमा डेरा जमाएका नेतालाई कसरी एउटा सामान्य नागरिक केजरीवालले चुनौती दिए ? यसको जवाफ हो– केजरीवालको योग्यता । उनी एक शिक्षित नागरिक हुन् । उनी भ्रष्ट्राचारविरोधी शान्तीपूर्ण आन्दोलनबाट उदाएका हुन्, हिंसात्मक आन्दोलनबाट होइन । उनी कुनै दलका झोले कार्यकर्ताका रूपमा दीक्षित वा तोडफोड र हत्या–हिंसामार्फत दक्षता प्राप्त गरेका वा केही पुस्तक रटेका अर्धज्ञानी राजनीतिज्ञ होइनन्, उनी एक सफल विद्यार्थी हुन् । उनी वंशवादबाट उदाएका पनि होइनन् । सुशासन उनको मुद्दा हो, बलपूर्वक सत्ता कब्जा गरेर शासन गर्ने होइन । राजनीति उनको समाजसेवा हो, व्यवसाय होइन । राजनीति नगर्दा पनि उनलाई खान–लाउन समस्या थिएन, राजनीति उनको पेसा होइन । उनले गरिबका लागि थुप्रै काम गरेका छन्, सर्वहारा वर्गको अधिनायकवाद उनको नारा होइन । यसरी एउटा असल र योग्य व्यक्तिका कारणले राजनीतिमा पार्न सक्ने सकारात्मक प्रभावका उनी एक उत्कृष्ट उदाहरण हुन् ।

प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस संकटको संघारमा छ । लोकसभामा पराजय भएपछि कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामा गरेपश्चात् उनकी आमा सोनिया गान्धीलाई पुनः अध्यक्ष बनाएर कांग्रेसले वंशवाद नै योग्यता भएको निरन्तरता दिएको छ । यो भाजपाका लागि निकै सुखद हो । कांग्रेसमा योग्यताको खोजी नै गरिँदैन । सोनिया गान्धीपछि कांग्रेसले सोनियाकी छोरी प्रियंका गान्धीलाई नेताको रूपमा सहजै स्विकार्ने छन् । केही परम्परागत मुस्लिम भोटको तुष्टीकरणका लागि कांग्रेसले दिल्लीमा स्वतस्फूर्त रूपमा भइरहेका मोदीविरोधी आन्दोलनमा सहानुभूति दर्शाउनेसिवाय कुनै उल्लेखनीय कार्यक्रम गर्न सकेको छैन । शीला दीक्षितपछि कांग्रेसले दिल्लीमा कुनै सक्षम चेहेराको खोजी नै गरेन । दिल्लीमा कम्युनिस्टहरू विश्वविद्यालयमा तालाबन्दी र उपकुलपति घेराउमै सीमित छन् । मोदीविरोधी आमसभा र व्यक्तव्यसिवाय उनीहरूसँग कुनै कार्यक्रम छैन । दिल्लीमा कम्युनिस्टले विजय प्राप्त गरेको इतिहास पनि छैन । भाजपाले दिल्लीको निर्वाचनलाई मोदीको नेतृत्वमा लड्ने निर्णय गरेको छ । त्यसैले दिल्लीको निर्वाचनलाई भारतीय केन्द्रीय सरकार र अरविन्द केजरीवालको विरुद्धको प्रतिस्पर्धाका रूपमा लिन सकिन्छ ।

दिल्लीको सत्ता सञ्चालनमा केजरीवाललाई मोदी सरकारको सहयोग कहिल्यै रहेन । केजरीवालले आफ्नो कार्यकालका सुरुका केही वर्ष मोदीविरोधी व्यक्तव्व्यबाजी र गतिविधिमा बिताएका थिए । केन्द्रीय सरकार र केजरीवालबीचको द्वन्द्वले भारतको अदालतमा समेत प्रवेश पाएको थियो । केही भारतीय राज्यहरूमा लोकसभामा मोदीलाई र विधानसभामा अन्यलाई जनताले मत दिएको देखिएको थियो । केजरीवालले मोदीको छविसुध्रिँदै गरेको देखे र बुझे । उनले मोदीविरुद्धको बयानबाजी आफ्नो हितमा नहुने देखेर मोदीविरुद्ध भन्दा स्थानीयका समस्यामा उनी केन्द्रित भए । कम्युनिस्ट, कांग्रेस र अन्य दलहरूले दिल्लीका सडक अवरुद्ध गरेको, विश्वविद्यालयमा तालाबन्दी गरेको, सरकारी कानुनविरुद्ध प्रदर्शन गरेकोमा दिल्लीमा शासन गरिरहेको केजरीवालको दल आप लगभग मौन छ । भाषामै हिंसा दर्सिने किसिमले भाजपाले गरेको धार्मिक विभाजनमा समेत आप मौन रहेको छ । राष्ट्रिय मुद्दामा मौन रहेर केजरीवाल स्थानीय विकासका आधारमा मत मागिरहेका छन् ।

केजरीवाल सरकारको योजनाले करिब १३ लाख जनतालाई दिल्लीमा निःशुल्क बिजुली उपलब्ध गराएको छ । त्यति नै जनातालाई पानीको शुल्क मिनाहा भएको छ । पिउने पानी लाइनको विस्तार गरिएको छ । सरकारी विद्यालयको स्तरोन्नति गरिएको छ । सरकारी विद्यालयले राम्रो नतिजा ल्याएको तथ्यांक प्रस्तुत भइसकेका छन् । माध्यमिक शिक्षाको पाठ्यक्रममा खुसी र उद्यमशीलताको विषय राखेर शिक्षालाई व्यावहारिक बनाउन गरिएको कोसिस प्रशंसनीय छ । शिक्षकलाई विदेशमा समेत तालिमका लागि पठाउने व्यवस्था गरिएको छ । शिक्षामा २७ प्रतिशतसम्म खर्च गरिएको छ । निजी विद्यालयलको शुल्कमा नियन्त्रण गरिएको छ । दिल्लीका सरकारी विद्यालयमा गरिएका उल्लेखनीय सुधार एक शिक्षित नेताबाट मात्र सम्भव छ । केजरीवालका सहकर्मी मनीष सिसोडिया यो शैक्षिक सुधारका नायक हुन् । जनताको स्वास्थ्योपचारका लागि निःशुल्क वा सस्तोमा मोहल्ला क्लिनिकहरू सञ्चालनमा ल्याएका छन् । स्वास्थ्यमा अन्य प्रशंसनीय कार्य गरेका छन् । महिलालाई नगर बसमा निःशुल्क यात्राको व्यवस्था मिलाएका छन् । सडकमा सीसीटीभी उपकरण जोडिएका छन् । कतिपय मुद्दाहरूमा केन्द्रीय सरकारले सहयोग नगरेको उनको आरोप छ । उनले करको दरमा वृद्धि गरेनन् तर दिल्लीमा कर संकलनमा उल्लेखनीय वृद्धि गरे । केजरीवाललाई भ्रष्ट्राचार वा कुशासनको एउटा पनि आरोप लागेको छैन । यसको एउटै अर्थ हुन्छ– भ्रष्टाचार नियन्त्रण र सुशासन ।

भारतमा भाजपा, कांग्रेस, कम्युनिस्ट आदि दलमा नेताको बोलीलाई अकाट्य सत्य मान्ने हरीलट्ठक वा अन्य खालका अनुयायी वा अर्धशिक्षित र अवसरवादी झोले नभएका होइनन् । भाजपाका कार्यकर्ता पाकिस्तान, धर्म वा अराष्ट्रिय तत्वजस्ता सुगारटाइमा आफ्नो अयोग्यताको प्रमाण दिइरहेका छन् । प्रमुख प्रतिपक्षी दलसँग नेता नभएकाले मुद्दा पनि छैनन् । उनीहरू आमा–छोरा र बहिनीमै को ठूलो नेता भनेर रमाएका छन् । जनताले उनीहरूलाई मत नदिनेमा उनीहरू एकमत देखिन्छन् । उनीहरूले अवसर गुमाउने कुनै पनि अवसर उनले गुमाएका छैनन् । तीन तलाकका समर्थक कट्टरपन्थीसँग, पृथकतावादी कश्मिरीसँग वा हिंसामा संलग्न अन्य कुनै पनि समूहसँग कम्युनिस्टहरू मज्जाले नजिक देखिन्छन् । त्यसैले कम्युनिस्टको आन्दोलन दिल्लीको जेएनयूमा सीमित छ । तर केजरीवालले दिल्लीको राजनीतिको परिपेक्ष नै बदलिदिएका छन् ।

नेपालमा गाउँ, नगर वा वडामा समेत केन्द्रीय राजनीति र राष्ट्रिय मुद्दाका आधारमा निर्वाचन हुन्छ । के नेपालमा स्थानीय निकायको निर्वाचन विकासका मुद्दामा हुन सक्दैन ? नेपालमा केजरीवालजस्तो नेतृत्वको उदय हुन सक्दैन ? यसका वाधक हुन नेपालमा व्याप्त ट्रेड युनियनका रूपमा स्थापित भएका संथाहरू । नेपालमा अनेक पेसाकर्मीहरूका दलीय संगठनहरू छन् । विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थीका आआफ्नै ट्रेड युनियन छन् । देउवा, दाहाल, ओली, भट्टराई आदिले नेपालमा कठोर संघर्ष पनि गरे तर यस्ता ट्रेड युनियनरूपी राजनीतिक सिन्डिकेट पनि खडा गरे । यो सिन्डिकेटबाट कुवाका भ्यागुता मात्रै निस्कन्छन् । भारतमा पनि भ्रष्टाचार र कुशासनको ७० वर्षको लामो अवधिमा मात्रै केजरीवालको उदय भएको हो ।

एकजना लोकप्रिय सञ्चारकर्मीले नेपालमा ‘द लिडर’ नामक कार्यक्रमको घोषणा गरेकोमा कतिपय बुद्धिजीवीले प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरूको तर्क छ– नेता कुनै रियालिटी शोबाट उत्पन्न हुँदैन । ट्रेड युनियनजस्ता संगठनवाला आफ्नो रोटी खोसिने भयले यो कार्यक्रमको विरोधमा बोलिसकेका छन् । नेपालको वर्तमान युवापुस्ताले कलंक, हत्या, बलात्कार, लुट, फिरौती दंगा आदिमा आरोपित नेता देखेको छ । अर्धशिक्षित वा अनपढ तर अनुयायी नेता देखेको छ । त्यसैले काठमाडौंमा किशोर थापालाई जनताले पत्याएनन् । यस्तो स्वच्छ छवि भएको, शिक्षित, विज्ञ र आफ्नो पेसामा सफल व्यक्तित्व पनि नेता हुन्छ भनेर कतिपय त आश्चर्यचकित परे । नेपालमा आफ्नो पेसामा सफल भएर समाज सेवाका लागि राजनीतिमा लागेका थोरै छन् । राजनीति व्यवसायका रूपमा फस्टाएको छ । राजनीतिबाट जीवन निर्वाह गर्ने नेताहरू नेपालमा धेरै छन् । जसको पेसा र व्यवसाय राजनीति हुन्छ, त्यसबाट समाज सेवा हुँदैन ।

नेपालमा पनि केजरीवाल र सिसोडियाजस्तै काठमाडौंको माहोल बदल्न सक्ने नेता होलान् । ‘द लिडर’ ले राजनीतिलाई एउटा पेसा र व्यवसायका रूपमा नभएर सेवाका रूपमा प्रेरित गर्न दिशानिर्देश गरिदिन सक्छ । घृणा, द्वेष र इष्र्या राजनीतिका लागि उपयुक्त गुण नभएको मान्यता स्थापित गरिदिन सक्छ । क्षमता, अनुभव र व्यक्तित्वका आधारमा असल र खराब नेताको पहिचान जनतासामु गरिदिन सक्छ । राजनीतिक दलमा समेत त्यस्ता सयौं योग्य युवा होलान्, जो वृत्ति विकास, ज्ञान वा प्रशिक्षणको अभावले नेताका अनुयायी हुनुमै रमाएका छन् । तिनको चेतानाको घैंटोमा घाम लगाइदिन सक्छ । केजरीवाल र सिसोडियाजस्ता नेताहरूको पहिचान गरिदिन सक्छ । अंग्रेजीको एउटा उखान ‘घोडालाई पानीसम्म पुर्‍याउन सकिन्छ, पानी पिउन बाध्य गर्न सकिँदैन’ भनेजस्तै त्यस्तो नेतालाई जनताले स्विकार्ने कि नस्विकार्ने भन्ने त अन्त्यमा जनताकै हातमा हुन्छ ।

जनताले तिरेको करमा आश्रित नभएका ‘द लिडर’ जस्ता नागरिकको जनचेतनाका क्षमता अभिवृद्धि गर्ने प्राज्ञिक र बौद्धिक कार्यक्रमको विरोध गर्नुको कुनै तुक छैन । भारतमा केजरीवालको उदय पनि एउटा क्रान्ति हो । यसले भाजपा र कांग्रेसलाई सुध्रिन मद्दत गरेको छ । ‘द लिडर’ को आवश्यकता पनि त्यस्तै एउटा क्रान्ति हो ।

‘द लिडर’ ले राजनीतिलाई एउटा पेसा र व्यवसायका रूपमा नभएर सेवाका रूपमा प्रेरित गर्न दिशानिर्देश गरिदिन सक्छ । घृणा, द्वेष र इष्र्या राजनीतिका लागि उपयुक्त गुण नभएको मान्यता स्थापित गरिदिन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.