लाइसेन्स फिर्ता गर्न घुस लिने प्रहरीविरुद्ध मुद्दा
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्काविरुद्ध मुद्दा दायर भएको छ । उनले मोटरसाइकलको कागजात माग्ने क्रममा लाइसन्स राखी कुनै चिट नदिइ सेवाग्राहीसँग घुस लिएका थिए।
मोटरसाइकल चालकको सवारी चालक अनुमतिपत्र नियन्त्रणमा गल्ती गरेको भेटिएमा नियमानुसार राजस्व रसिद काटी पठाउनु पर्ने हुन्छ। तर खड्काले सो नगरी उल्टै दु:ख दिएको बुझिएको छ।
लाइसेन्स फिर्ता दिन पटकपटक बार्गेनिङ गरी दुई हजार लिएको तथ्य निर्विवाद रुपमा पुष्टि हुन आएको अख्तियारले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।