वीरेन्द्रनगरका महिलालाई नि:शुल्क सेनेटरी प्याड
सुर्खेत : वीरेन्द्रनगरका महिलाहरुले अब सेनेटरी प्याड नि:शुल्क पाउने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका सबै महिलालाई नि:शुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउन थालेको हो । वडामा रहेका स्वास्थ्य संस्थाबाट नगरभित्रका किशोरी तथा महिलालाई नि:शुल्क रुपमा प्याड वितरण सुरु गरिएको हो ।
कर्णाली प्रदेशको राजधानी सहरसमेत रहेको वीरेन्द्रनगरले नगरसभाबाटै यो कार्यक्रम घोषणा गरेको थियो । हाल संघीय सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई मात्र नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । तर महिनावारी हुने उमेरका छात्रा र महिला सबैलाई नि:शुल्क प्याड वितरण गर्ने वीरेन्द्रनगर देशकै पहिलो नगरपालिका बनेको उपप्रमुख मोहनमाया ढकालले दाबी गरिन् ।
आर्थिक अभावका कारण अहिले पनि अधिकांश किशोरी र महिलाले महिनावारीको समयमा प्याड प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा उनीहरुले सास्ती भोग्नु परेको छ । यही समस्या समाधान गर्न र सुरक्षित महिनावारीका लागि नि:शुल्क रुपमा सेनेटरी प्याड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
प्याड वितरणका लागि महिला र किशोरीहरुलाई कार्डको व्यवस्था गरिएको छ । प्याड स्वास्थ्य संस्थामा आफैँ उपस्थित भएर लिनुपर्ने नियम बनाइएको छ । यसले किशोरी र महिलाहरु महिनामा कम्तिमा एकपटक स्वास्थ्यकर्मीको पहुँचमा हुने र उनीहरुको मासिक रुपमा स्वास्थ्य परीक्षण पनि गरिने नगरपालिकाले जनाएको छ । मर्यादित महिनावारीका लागि भन्दै नगरपालिकाले महिला स्वास्थ्य स्वंयम् सेविकाहरु पनि परिचालन गरेको छ ।
नगरपालिकाले चाँडै नगरलाई छाउगोठमुक्त घोषणा गरिने जनाएको छ । वडा नम्बर १६ को सानीलेक स्वास्थ्य चौकीबाट नि:शुल्क प्याड वितरण अभियान सुरु गरिएको हो । नि:शुल्क प्याड पाएपछि स्थानीय रुपमाया आचार्यले भनिन्,‘प्याड किन्न सक्ने अवस्था थिएन, सुरक्षित महिनावारी नहुँदा पाठेघरमा संक्रमण भयो । अहिले मेरो पाठेघर नै फालिएको छ, अब हाम्रा छोरी बुहारीलाई प्याडले सजिलो हुनेभयो ।’
यस्तै स्थानीय किशोरी ममता कँडेलले पनि नि:शुल्क सेनेटरी प्याड पाउँदा अब महिनावारी हुँदा छोइछिटो हुने समस्याबाट मुक्ति मिल्ने बताइन् । वीरेन्द्रनगरभित्रै अहिले पनि कतिपय परिवारले महिनावारीको समयमा बार्ने चलन कायमै छ ।