नुवाकोटमा चोरी गर्ने महिला दोलखामा पक्राउ
दोलखा : नुवाकोटको बिदुरमा १२ तोला सुन चोरी गरी फरार भएकी एक महिला दोलखाको सदरमुकाम चरिकोटमा पक्राउ परेकी छन् । नुवाकोट विदुर नगरपालिका–१, त्रिशुलीबजारबाट १२ तोला सुन चोरी चरिकोटको सातदोबाटो आइपुगेकी आस्था भनिने नम्रता श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दोलखाको विगु गाउँपालिका–४ लादुक घर भएकी श्रेष्ठ भीमेश्वर नगरपालिका–६, चरिकोटमा बस्दै आएकी थिइन्।
त्रिशुली बजारमा हिराकृष्ण श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ होटलबाट १२ तोला सुनका गरगहना चोरी गरी फरार रहेकी नम्रतालाई खाजी गर्न क्रममा चरिकोट सातदोबाटोबाट पक्राउ गरिएको दोलखा प्रहरीकी सूचना अधिकारी प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिइन्।
नम्रताको साथबाट सुनको औंठी, ब्रास्लेट, सिक्री, सुनको टप, मुन्द्रा, टपको सिक्री, सुनको बाला र चाँदीको बाला बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकी नम्रतालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको प्रहरी निरीक्षक बज्राचार्यले बताइन्।