बिगबोस, मनोरञ्जन र पितृसत्ता
बिगबोस, मनोरञ्जन र पितृसत्ता आइमाईका शत्रु आइमाई नै। यसो हेर्दा देखिन्छ पनि त्यस्तै। तर, पख्नुस्...।
अचेल इन्डियन रियालिटी सो बिग बोस हेरिरहेकी छु। त्यहाँ हुने घरझगडा, गुट–उपगुटबीचको खिचातानी कम्ती रमाइलो लाग्दैन। सो नहेरेका बेला सोच्छु, कस्ती असत्ती मान्छे म, अर्काको झगडा हेरेर आनन्द लिने। फेरि अर्को मनले भन्छ— आ, म मात्रै हो र ?
आखिर दोस्रै तर्कले जित्छ। भोलि पनि बिग बोस हेर्न समय निकालेरै छाड्छु। मलाई टीभी दिउँसो हेर्नुपर्छ। राति झ्याउ लाग्छ। अघिल्लो दिनको सो भोलिपल्ट हेर्छु। समाचार हो र ताजै हेर्नलाई ?
तर कहिल्यै समाचार नसुन्ने मेरा छिमेकीलाई आफ्नो कुरा ताजै सुनाउनु पर्छ भन्ने थाहा छ। यस्सो टीभी हेर्न मात्रै के बसेकी हुन्छु, आइपुगी हाल्छन् खबर बोकेर।
आज एउटी दिदी आइन्। सासूसँग कच परेछ। आफ्नो एकै आना दोष नभएको बताइन्। सासूससुराले बिहे गरेर आएदेखि दिएको सास्ती सुनाइन्। सुकसुकाइन्। बिलौना गरिन्। बुझ्दै जाँदा झगडाको निहुँचाहिँ एक ठाउँको घाँस काट्नुपर्ने अर्को ठाउँको काटेको भन्ने विषयमा रहेछ।
ओहो ! कत्रो ठूलो अपराध गरिछिन् त ? तर कुरा आजको झगडाको मात्रै होइन। यहाँ वर्षौंदेखि दबिएका दबाइएका विषय पनि हरेक झगडापिच्छे थपिँदै जान्छन्। यो सुल बनेर मनमा गढिरहेको हुन्छ। जुन मौका पाउनासाथ यस्तरी बाहिर निस्किन्छ कि, सुन्नेलाई बडो अनौठो लाग्छ। अरे, आजको झगडामा दस वर्षअघिको घटनाको के लेनादेना छ र ?
घर झगडा पर्न ठूलो कारण नै चाहिँदैन। यस्तै झिनामसिना कुरामा दिनहुँ मान्छेका झगडा हुन्छन्। सुरुमा त कम्ता झोँक चलेको थिएन। ला ! आज पनि सो हेर्न पाइएन। तर बिस्तारै म बिग बोसको घरबाहिर निस्केर समाजमा हुने घरझगडातिर खिचिन थाल्छु। सहरबाट गाउँ फर्केजस्तो।
यी झगडामा प्राकृतिक गन्ध त आउँछ तर यसबाट आनन्द लिन भने सकिँदैन। कम्तीमा मेरा लागि यो मनोरञ्जनको विषय होइन।
अस्ति एकजना भाउजू पर्ने आएकी थिइन्। ती बेलाबेला आइरहन्छिन। कहाँबाट कसरी कुरा सुरु गर्छिन्, मेसै पाउँदिनँ। आउनासाथ सुरु भइहाल्छिन्। उनलाई गाउँभरिका मान्छेको घरमा हुने प्रत्येक गतिविधिमा दक्खल छ। फलानाकी सासू कस्ती ? ससुरो कस्तो ? बुहारी कस्ती ? ढिस्कानाको घरमा कहिले झगडा भयो ? किन भयो ? कसरी भयो ? को सही ? को गलत ?
उनी पहिले पत्रकार बन्छिन। फेरि वकिल। अनि न्यायाधीश।
गाउँलेहरूले भने उनको पहिलो रूपलाई खुबै उपयोग गर्छन्। उनले सुनाएका कुरा तोडमोड हुँदै गाउँभरि फैलिन्छ। कोही त्यसको पक्षमा हुन्छन्, कोही विपक्षमा। फेरि के चाहियो र ? झगडा। कहिले मनमनै घमासान युद्ध हुन्छ त कहिले मैदानमै उत्रिन्छन्।
तर यति मात्रै हुँदैन। यी दुईको बीचमा तेस्रो कुरा पनि हुन्छ। त्यो हो मनोरञ्जन। जानेर वा अञ्जानमा महिलाहरू आफ्नो मनोरञ्जनका लागि झगडाको बीउ रोपिरहन्छन्। हुर्काइरहन्छन्।
गाउँका अधिकांश महिलाको मनोरञ्जन लिने तरिका हो, यो। सहरिया महिलाको सिरियल हेर्नेजस्तै।
गाउँमा महिलासँग सिरियल हेर्ने फुर्सद हुँदैन। न लत। गाईबस्तु, घाँसपात, घरधन्दाबाट अलिकति समय निकालेर उनीहरू साथीसँगीसँग गफगाफ गर्न भने भ्याउँछन्। उनीहरू कहिलेकाहीँ आफ्नो पीरव्यथा पनि बाँड्छन्। बढीजसोचाहिँ अरूकै खराबी देखाउँछन्। अर्काको पीठपछाडि कुरा काट्छन्। तर दुई जनाले सुटुक्क गरेको कुरा भोलिपल्ट सम्ममा अरू दसजनालाई थाहा भइसकेको हुन्छ।
कसरी ? यो बडो हैरान बनाउने सवाल हो।
म भने यस्ता गफ गर्न आउनेलाई ठाडै पन्छाउन पनि सक्दिनँ। न पूरै कुरा सुन्न सक्छु। सोको बिच्चबिच्चमा आउने विज्ञापनजस्तो घरिघरि ट्वाइलेट जान्छु ता कि उनको कुराको त्यान्द्रो चुँडियोस्।
उनी फेरि सुरु हुन्छिन्। दिनहुँ जोतिएका अनुभवी गोरुले मेलो नबिराएजस्तो। भोकले मेरो पेट बटार्छ। तिर्खाले ओठ सुक्छ। तर उनको जाने छाँटकाट हुँदैन। मनै नपर्ने कुरा गरेर दिमाग खराब पार्नेलाई चिया–खाजा दिन मनले मान्दैन। काललाई पल्काएजस्तो।
तर यस्तो काल हरेक गाउँले गृहिणी महिला बनेकै हुन्छन्। भोगेकै हुन्छन्। यो नियति हो, हाम्रो। कैयौंपटक मैले यस्तो उकुसमुकुसको स्थितिबाट गुज्रिनु परेको छ।
बिहेअघि भने यस्तो समस्या झेल्नुपरेको थिएन। अर्काको कुरा दोचार्ने मान्छेहरू उता पनि थिए। आमालाई कुरा सुनाउन आउँथे। उनीहरूलाई म हप्काउँथँे, ‘अर्काको कुरा हाम्रो घरमा आएर नसुनाओ।’
यहाँ त त्यसो भन्न पनि सक्दिनँ। नयाँ नयाँ जो छु।
यस्ता गफ सुनेर बस्नुपर्दा आफूलाई भने खपिनसक्नु गरी जिन्दगी खेर गएजस्तो लाग्छ। म पनि सहरिया हावाले छोइएकी गाउँले हुँ। बिग बोस हेरेर रमाउने समय छ। छिमेकीको घरझगडा होइन।
यसबाट पुरुषहरूलाई पनि उन्मुक्तिचाहिँ छैन। दिनभरि देशविदेशका ठूल्ठूला गफ हाँकेर फर्केको उसलाई बेलुका दुईचार समाचार बूढीका पनि सुन्नुपरेको छ। जो सुनेर उसलाई आफ्नो दस मिनेट समय बेकार भएको लाग्छ। तर उसले कहिल्यै श्रीमतीलाई संसार योभन्दा पनि ठूलो छ है भनेर बुझाउँदैन। देश बनाउने ऊसँग ठूल्ठूला योजना छन्। तर आफ्नै आमा, श्रीमतीको सोचाइ फराकिलो बनाउनुपर्छ भन्ने सोच्न सक्दैन।
ती कुरौटे दिदी फेरो लगाएर गाउँभरिको कुरा गर्दै मेरो घरसम्म आइपुग्छिन्। मेरा सासूससुरा, आमाजू, जेठानी सबका कुरा गर्छिन्। सकेसम्म अरूलाई गुन्डिनी र मलाई हिरोनी बनाउँछिन्। यस्सो मेसो मिलाएर मलाई परिवारका विरुद्ध दुईचार शब्द बोलाउन खोज्छिन्। ता कि मसला मिलोस् भोलि अर्काेतिर गएर भन्न— फलानीले त यसोयसो भन्दैथी तँलाई।
म सकेसम्म सचेत हुन खोज्छु। ती गएपछि निकै बेरसम्म भिडियो पज गर्दै हेरेजस्तो तिनले के भन्दा के बोलेँ सम्झिन्छु। कम्ता डर लाग्दैन। भोलि मलाई नै बिताउने पो हुन् कि ?
गाउँमा प्रायः मान्छेले सम्झिरहने केही उखान छन्। हावा नचली पात हल्लिँदैन।
खाएको विष पो लाग्छ, नखाएको त लाग्दैन नि।
तर गाउँमा हावाबिना पनि पात हल्लिन्छ। नखाएको विष पनि लाग्छ।
एकजनाले एउटा सन्दर्भमा भनेको कुरा बुझ्नेले अर्कै तरिकाले बुझिदिन्छ। सुनाउनेले अर्कै तरिकाले सुनाइदिन्छ। यो प्रक्रिया हो। यो चरणमा सबैले आनन्द लिन्छन्। अन्त्यमा जसलाई असर पर्छ उसले विरोध गर्छ। झगडा हुन्छ। बदलाको भावना आउँछ। फेरि अर्को झगडाको बीउ रोपिन्छ। कुरा गर्ने या भनौं मनोरञ्जनको लिने विषय फेरिफेरि फुराइराखिन्छ।
यहाँ कोही सिक्दैनन् पाठ। मेरो घरमा आएर मजस्तै कसैको आलोचना गर्नेले उसको घरमा गएर मेरो तारिफ गर्दैन भनेर। एकपटक फत्तुर लागेपछि पनि चेत्दैन कोही।
मानौं, यो एउटा चक्र हो। निरन्तर चल्नैपर्छ। यसो नभए समाजको पूरै इकोसिस्टम गडबड हुन्छ। जति जुधे पनि जति फुटे पनि समाज यो कुरौटे प्रणालीलाई जोगाउन भने एकजुट भएकै हुन्छ।
कहिले सासूलाई बुहारीको घर लिप्ने ढंग नभएको लाग्छ त कहिले तरकारीमा तेल धेरै भयो भन्ने लाग्छ। तर बुहारीलाई भन्दा पहिले यो कुरा गाउँलेलाई थाहा हुन्छ।
बुहारीलाई सधैं लाग्छ अपजसे सासूलाई कहिले मेरो पालो आउला र देखाइदिऊँला भन्ने।
सासू तल्लो घर, माथ्लो घर जाँदा बुहारीलाई लाग्छ, मेरै कुरा दोचारेर बसेकी होलिन्।
बुहारी यसो लाखापाखा लागेर घर आउँदा सासू रिसले मुर्मुरिन्छिन्, दिनभरि गाउँ डुलेर कहाँकहाँ केके खिचडी पकाएर आई ?
एकलाई अर्को गाउँमा गएर कुरा गरेको मन पर्दैन। तर दुवैका गुनासा–आरोप उनीहरूले गाउँबाटै थाहा पाउँछन्। आपसमा कुरा हुँदैन।
आखिर किन त ? म सोतर्फ फर्किन्छु। त्यहाँ पनि त यस्तै झुर झुर निहुँमा झगडा हुन्छ। हेरिरहँदा लाग्छ, के बुद्धि नभएकाहरू रैछन्। यो पनि झगडा गर्ने विषय हो र ?
यस्तै सानो सानो निहुँमा दिनहुँ झगडा हुन्छन् घरघरमा। यिनै झगडा हेरेर वा सामेल भएर आममहिला मनोरञ्जन या तनाव लिइरहेका छन्। समाजमा महिलाको मनोरञ्जन लिने शैलीको संरचना यसैगरी स्थापित भएको छ।
अनि पुरुषको ?
समाजमा स्थापित अर्को चर्चित उखान हो, आइमाईका शत्रु आइमाई नै हुन्छन्। यसो हेर्दा देखिन्छ पनि त्यस्तै। एकले अर्काको कुरा काटेको छ। खेदो गरेको छ। रिस गरेको छ। आरिस गरेको छ। यी सबैको बीचमा पुरुषचाहिँ के एलियनझैं अलग्गै बसेका छन् त ?
लोग्ने मान्छेहरू पनि झगडा गर्छन्। कुरा काट्छन एकार्काको। हामीले देखेकै हो। सुनेकै हो।
यसलाई मज्जाले प्रमाणित गरिदिएको छ, बिग बोसले पनि। त्यहाँ झगडा गर्नमा महिलालाई जित्ने गरीका क्षमतावान् पुरुषहरू बर्सेनि देख्न पाइन्छन्। ती पुरुष यही समाजका होइनन् र ? झगडा गर्न, कुरा लगाउन, मान्छेलाई बझाउन पनि त माहिरै हुँदा रैछन नि पुरुषहरू। तर समाजमा भने प्रत्यक्ष रूपमा पुरुषको त्यस्तो रूप देख्न पाइन्न।
यसको कारण छ।
एउटा घरभित्र, सीमित काम र सीमित साधनका बीच सारा संसारबाट बेखबर भएर बस्नुपर्दा मान्छेको असली रूप देखा पर्दो रहेछ। न पुरुष, न महिला। आखिर मान्छेको स्वभाव त एउटै रहेछ। यसलाई विचारले मात्रै फरक नपार्दो रहेछ। मुख्यतः मान्छेको व्यवहार, परिस्थिति र वातावरणमा निर्भर हुँदो रहेछ।
आज निर्मित आम महिलाको स्वभावको जिम्मेवार के अनि को हो ? यही समाजको बिगबोसवाला संरचना न हो।
महिलाको जात कुरौटे जात होइन। आइमाईका शत्रु आइमाई होइनन्। हामी त बस् परिस्थितिका दास हौं। पितृसत्तारूपी बिग बोस बसेको छ हाम्रो शिरमाथि जो हरपल हामीलाई आदेश दिइरहन्छ।
यही घरमा बस।
मैले दिएको खाऊ।
यहाँ जाऊ। त्यहाँभन्दा पर जान पाउँदैनौ।
यही हो तिम्रो संसार। यसैमा रमाऊ।
यहीँ नाच। यहीँ गाऊ। यहीँ जुध। यहीँ मर।
तर यहीँ पनि आफ्नो इच्छामा गर्ने छुट छैन तिमीलाई। मैले भनेजसरी नाच। मैले भनेभन्दा धेरै नरमाऊ। यसरी लड, यसरी जुध तर तिमीले जित्न पाउँदैनौ।
यो सत्ताले हामीलाई बिग बोस बनेर आफू अनुकूल उपयोग गरिरहेको छ। आफ्नो मनोरञ्जनका लागि हामीलाई खेलाउँछ नानाथरी खेल। जहाँ जित्न मनाही छ।
झेलु गरेर जितेको थाहा हुँदाहुँदै पनि केटाकेटीले हार्ने साथीलाई जिस्क्याएजस्तो बिगबोस हामीलाई बारम्बार जिस्क्याइरहन्छ— हरुई...। डरछेरुउई...।