गोर्की

गोर्की

मैले सम्झेदेखि बाको दुईवटा रूप देखेँ। एउटा क्रूर बा। सधैं बाको सिरानीमुनि खुकुरी हुन्थ्यो। बा घरमा होउन्जेल म आतंकित हुन्थेँ। अर्को पढन्ते बा।


हामी निस्केकै रात हुरी चल्यो। उत्तर दक्षिण भएर। बेस्सरी। मैले आमाको पछ्यौरा जोडले अँठ्याएँ। आमाले मलाई अँठ्याउनुभयो। हेटौंडा औद्योगिक क्षेत्रकोे घन्टी बाह्र पटक बज्यो। टङ टङ टङ ...। आमा र म बगरमा पुग्यौं। कमाने छोएर बगेको खोलामा खुट्टा चोपल्यौं। हामी नाक्सोतीको बाटो जाँदै थियौं। ग्राबेल बाटो। मसिना ढुंगा। जून अलप भएको रात। चकमन्न।

बाटो छेउछाउका रूखका ठुटाहरू हाम्रो सातो लिन पर्याप्त थिए। अँध्यारोमा ती अजीवका जनावरजस्तै देखिन्थे। कुनै कुनै त संगीताले सुनाएको कथाको भूतजस्तै देखिन्थे। आमा सुइँसुइँ हिँडिरहनुभएको थियो। आमाको मनमा के चलिराथ्यो कुन्नि ? मेरो मनमा भने आतंक चलिराथ्यो। भूतको। आँधीको। अँध्यारोको। सबैभन्दा ठूलो आतंक बाको थियो।

बा त्यस रात नबहुलाउनुभएको भए म आफ्नै ओछ्यानमा निदाइरहेकी हुन्थेँ। न्यानोमा। मस्त। टायलको छानोमुनि। सुरक्षितसँग।

अचानकको चिच्याहटले म ब्यूँझिएकी थिएँ। रातको एघार बजेको हुँदो हो। छयालीसको आन्दोलन अगाडिको कुनै एक रात थियो त्यो। म आठ नौ वर्षकी थिएँ। बलिरहेको बीस वाटको बल्बको उज्यालोमा मैले भुइँमा लम्पसार आमालाई ठम्याएँ। आमामाथि लात बर्साइरहनुभएको बालाई ठम्याएँ। आमाको सुस्केरा नमीठो लयमा बत्तिएको थियो। झाँक्रो फिँजिएको थियो। हातलाई क्रस बनाएर आफ्नो बचाउ गर्ने असफल प्रयासमा हुनुहुन्थ्यो आमा। म अवाक् भएँ। बाको आँखामा अजंगको राक्षस नाचिरहेको थियो। यस्तो लाग्यो— मानौं, बा आमाको रगत पिउने दाउमा हुनुहुन्छ। मानौं, बाको यो संसारमै कोही दुश्मन छ भने त्यो आमा नै हो।

हेर्दाहेर्दै बाले सिरानमुनिबाट दापसहितको खुकुरी झिक्नुभयो। अचानकसँग आमा उठ्नुभयो। चिच्याउँदै मलाई ओछ्यानबाट तान्नुभयो। मलाई घिसार्दै ढोकाबाहिर पुग्नुभयो। बाहिरबाट ढोकामा चुकुल लाइदिनुभयो। अब बा भित्र। हामी बाहिर थियौं। यो सब सेकेन्डभरमा भएको थियो।

अब कहाँ जाने ? हामी आमाछोरीको हृदयले प्रश्न गर्‍यो। एउटै। एकैपटक।

‘हिँड् मामाघर जाऊँ।’ फुस्फुसाउँदै आमाले उत्तर दिनुभयो। त्यसपछि हामी घरपछाडिबाट निस्कियौं। बारी, खोल्ची हुँदै हेटौडा मेन रोड निस्कियौं। औद्योगिक क्षेत्रको हनुमान गेट छिचोल्दै नाक्सोतीको बाटो हिँड्यौं। मामाघर पुग्दा रातको पौने एक भएको थियो। यसअघि पनि पटक पटक हामी नाक्सोती पुगिरहन्थ्यौं। किनकि बा पटक पटक बहुलाइरहनुहुन्थ्यो।

बा र आमाबीच किन झगडा हुन्थ्यो ? म जान्दिनँथेँ। किन बा क्रूर बन्नुहुन्थ्यो ? किन आमा मामाघर नै जानुहुन्थ्यो ? म त्यो पनि जान्दिनँथेँ। मेरो बालमस्तिस्कले त्यति धेरै सोच्न सक्दैनथ्यो। म औधि दुःखी हुन्थेँ। जब देख्थेँ, आमाको सुन्निएको अनुहार। जीउको नीलडाम। रगत जमेको आँखा। मलाई घर, घर होइन कुनै बधशालाजस्तो लाग्थ्यो। जहाँ जतिखेरै पनि काटामार हुन सक्छ। जहाँ जतिखेरै पनि भवितव्य आइलाग्न सक्छ। मलाई कहाली लाग्थ्यो। घरदेखि। बादेखि। समाजदेखि। म यो सबबाट भाग्न चाहन्थेँ। तर कहाँ ? कसरी ?

अन्योलको भुमरी मेरो मस्तिष्कमा मच्चिरहन्थ्यो। सधैं। भयंकरसँग। मलाई डर लाग्थ्यो। कतै त्यो भुमरीले मलाई उडाउने त होइन ? म आफ्नो वजनसहित अस्तित्वमा रहन चाहन्थेँ। धुलोको कणजस्तो बिलाउन चाहन्नथेँ। घरभित्रको द्वन्द्वले मलाई खोक्रो पार्दै लगेको थियो। म भरिन चाहन्थेँ। अजंगको भय मभित्र बस्थ्यो। म छिमेकमा जान्थेँ। साथीकहाँ जान्थेँ। स्कुलमा जान्थेँ। जता गए पनि त्यो भयले छोड्दैनथ्यो। अट्टहाससाथ भय मेरो शरीरको नसानसामा बगिरहन्थ्यो। पलपल हरपल आतंक मेरो समीप रहन्थ्यो।

म विकल्प खोजिहिड्थेँ। म चाहन्थेँ, आमाको ओठ फक्रिएको होस्। भान्सामा खीर पाकेको होस्। बा हात चाट्दै आमाको प्रशंसा गर्दै होऊन्। पूर्व फर्किएको झ्यालमा मनी प्लान्टको लहरा तनक्क तन्किएको होस्। अगाडिको बगैंचामा अशोकको बोट हुर्किएको होस्। वर्षात्मा आरु पूmलको गुलाबी रङ हेर्दै हाँस्न सकियोस्। तर साँचोमा यस्तो केही हँुदैनथ्यो।

बलेसी नाघेर हाम्रो घरको कलह मभन्दा पहिले वल्लो घर पुग्थ्यो। पल्लो घर पुग्थ्यो। छिमेकमा पुग्थ्यो। गाउँमा पुग्थ्यो। प्रश्न उब्जिन्थ्यो। मसँग तिनीहरूको प्रश्नको उत्तर हुँदैनथ्यो। उत्तर दिन नपरोस् भनेर म लुक्थेँ। घरको कुनामा। बारीको कान्लामा। ढोडको उरुङमा। परालको कुन्युमा। बिस्तारै म एक्लिँदै गएँ।

अभावले द्वन्द्व निम्त्याउँदो रहेछ। द्वन्द्वले मान्छेलाई एक्ल्याउँदो रहेछ। एक्लोपनले साथ खोज्दो रहेछ। जोसँग सारा भावना साझा गर्न सकियोस्। रुन सकियोस्। हाँस्न सकियोस्। खुसी बाँड्न सकियोस्। कुण्ठा पोख्न सकियोस्। म यस्तै केही चाहन्थेँ।

मैले सम्झेदेखि बाको दुईवटा रूप देखेँ। एउटा क्रूर बा। सधैं बाको सिरानीमुनि खुकुरी हुन्थ्यो। बा घरमा होउन्जेल म आतंकित हुन्थेँ। अर्को पढन्ते बा।

प्रायः बाको सिरानीमुनि उपन्यास हुन्थ्यो। धेरैजसो जासुसी उपन्यास हुन्थ्यो, हिन्दीका। म खुकुरीलाई एकदमै घृणा गर्थें। बरु बा नभएको मौका पारेर हिन्दी जासुसी उपन्यास झिक्थेँ। कोठाको अँध्यारोलाई टुकीले उज्यालो पार्थें। त्यही टुकीमा म ती जासुसी उपन्यास पढ्थेँ। उपन्यास पढुन्जेल म आफ्नो यथार्थ जीवन भुल्थेँ। यथार्थमा त दुःख मात्र थियो। अभाव थियो। कलह थियो। म यी सबबाट भाग्न चाहन्थेँ। उम्कन चाहन्थेँ। बिस्तारै मैले अरू किताब पढ्न थालेँ। मैले पढ्ने किताबभित्र अर्कै संसार थियो। त्यो संसारमा कतै उज्यालो थियो। कतै अँध्यारो थियो। उज्यालो र अँध्यारोको बीचबाट मैले आपूmलाई निकास दिने बाटो भेटेँ। म त्यही बाटो हँुदै हिँडेँ। त्यो बाटो आनन्ददायी थियो। मैले कहिल्यै नदेखेको संसार देखेँ। कहिल्यै नभेटेको मान्छे भेटेँ। म बाँचिरहेको परिवेशभन्दा बिल्कुल फरक दृश्य देखेँ। किताबका ती पात्रसँग संवाद गरेँ। अविश्वसनीय र आश्चर्यजनक हुन्थे तिनीहरू। कुनै पात्र मेरो प्रेरणा बन्थे। कुनै पात्रसँगै म सहयात्रा गर्थें। यसरी बिस्तारै म किताबको लती बन्दै गएँ।

किताब खोज्दै गर्दा मेरो हातमा एक दिन आइलाग्यो— आमा। कहिल्यै नाम नसुनेका लेखक पहिलोपटक मेरो टेबलमा आइपुगे। उनको नाम नै अनौठो लाग्यो— म्याक्सिम गोर्की।

उनका उपन्यासका पात्र पनि मेरा लागि एकदमै अपरिचित थिए। साशा, पाभेल, उक्राइनी, नताशा, भ्लासिभकोभ। उपन्यासको भूगोल पनि मेरा लागि अञ्जान थियो। कहिल्यै नदेखेको, कल्पनासम्म पनि नगरेको ठाउँ। तैपनि मलाई त्यो उपन्यासले सम्मोहित गरिरह्यो। पहिलोपटक मैले किशोर उमंगका साथ त्यो उपन्यास पढेँ। उपन्यासले मलाई आफू बाँचिरहेको निरस यथार्थबाट टाढा हुन सिकायो।

तर, जिन्दगीले अर्कै मोड लियो। एकाएक किताबहरूसँग मेरो सम्बन्ध छुट्यो। विवाह भयो। बालबच्चा भए। कैशोर्यका सारा सपना बिर्सेर म सांसारिकताको झमेलामा झुल्न थालेँ।

त्यो सांसारिकतामा मलाई सधैं एउटा अभाव महसुस हुन्थ्यो। आफैं बाँचिरहेको यथार्थदेखि दिक्क लागिरहन्थ्यो। तर कहाँ जाने, के गर्ने बाटो पाइरहेको थिइनँ। त्यही बेला फेरि मेरो जिन्दगीमा किताबहरू जोडिन आइपुगे।

फेरि ‘आमा’ उपन्यास मसँग आइपुग्यो। यसपालि कैशोर्य उमंगसहित होइन। अर्कै भावभंगीमामा त्यो पुस्तक मसँग जोडियो। म आफंै आमा भइसकेकी थिएँ। तर म कमजोर आमा थिएँ। स्वप्नविहीन, उमंगविहीन, उत्साहविहीन। दैनिक जीवनयापनको बोझले थिचिएकी।

यसपालि आमा उपन्यासकी आमाले मलाई सबैभन्दा बढी तरंगित गराइन्। मान्छेले किताबका पात्रलाई पनि आफ्नै यथार्थमा बढी बुझ्दोर हेछ। कैशोर्यमा म पाभेलको नजिक थिएँ। युवाकालमा म आमाको नजिक भएँ। गोर्कीकी आमाले देखेको सपनाले मलाई झस्काइदियो। ‘के म आमा भएर सपना नै देख्न नसक्ने भएकी हुँ त ? ’ आफैंभित्र प्रश्न उठाइदियो। विस्मृतिको गहिरो खाडलमा कतै पुरिइबसेका मेरा कैशोर्यकालीन सपनाहरू एकाएक जीवित भए। र, म बिस्तारै लेखनको दुनियाँमा आएँ।

यस अर्थमा म अनुग्रहित छु, म्याक्सिम गोर्कीप्रति। त्यसैले म जान्न चाहन्थेँ। त्यो मैले नचिनेको गोर्कीचाहिँ कसरी लेखक बन्यो ? के ऊ मभन्दा भिन्दै परिवेशबाट आएको थियो ? कि ऊ पनि मैले जस्तै जीवनयापनका क्रूर कठिनाइबाट गुज्रेर अघि बढेको थियो ?

खासमा म त्यो अपरिचित लेखकसँग परिचित हुन चाहन्थेँ। उसका जीवन भोगाइले नजिकबाट हेर्न चाहन्थेँ। तर कसरी ? थाहा थिएन। त्यहीँ बेला मलाई किताबहरूबारे छलफल चल्दै गर्दा लक्ष्मण श्रेष्ठले गोर्कीका संस्मरणसँग परिचय गराइदिए। त्यति मात्र होइन, ती पुस्तक उपलब्ध गराइदिए मेरो अध्ययन कक्षको टेबलमै।

गोर्कीका आत्मपरक उपन्यासले मलाई उनको जीवनसँग परिचित बनाए। उनका उपन्यासका तीन खण्ड पढिसक्दा मैले आफ्नै बाल्यकाल सम्झिएँ। सम्झिएँ ती अभाव, हैरानी, खप्कीका दिनहरू। सम्झिएँ मानसिक उथलपुथल र त्यसका परिणामहरू। र, ठ्याक्कै त्यस्तै पाएँ गोर्कीको बाल्यकाल पनि। उनी गोर्की हुनुअघि अलेक्सेई माक्सिमविच पेस्कोभ रहेछन्।

गोर्की एघार वर्षको हुँदा बाबुको मृत्यु हुनु। आमाले दोस्रो बिहे गर्नु। निझ्नीमा बज्यैसँग बाँकी बाल्यकालीन दिन बिताउनु। बाजेको क्रूरता खप्नु। मिखाइल मामाको बहुलट्ठीपन भोग्नु। दयालु बूढो खरोसेये देलोको संगत पाउनु। जुत्ता पसलमा काम गर्नु। सामोभार तताउन नजानेर हात खुइल्याउनु। मालिकको घरबाट भाग्नु। पानीजहाजमा काम गर्न पुग्नु। त्यहाँ स्मुरीको संगतले किताब पढ्न पाउनु। किताबको लत बस्नु। सुचिकारकी सानी श्रीमतीसँग दोस्ती बढ्नु। उसैको संगतले तत्कालीन रुसी साहित्यका किताबहरू भरमार पढ्न पाउनु। यी सबै घटनाक्रमले गोर्कीभित्र नजानिँदो तवरले साहित्यिक व्यक्तित्व निर्माण गर्दै लगेको रहेछ।

बाल्यकालीन यी घटनाप्रति गोर्की कत्ति पनि उदासीन देखिँदैनन्।

उनले भनेका छन्, ‘बाल्यकालमा आपूmलाई म मौरीको घारसमान कल्पना गर्छु। कैयौं साधारण मानिसले त्यो घारमा मौरीझैं आफ्नो ज्ञानको मह ल्याउँथे। जीवनबारेको सोचाइ पुर्‍याउँथे। जसले जसरी सक्छ, उसले त्यसरी नै मेरो चरित्रको समृद्धिमा योगदान पुर्‍याउँथ्यो। प्रायः यो मह फोहोर र तीतो हुन्थ्यो। तर हरेक ज्ञान जे जस्तो भए पनि मह नै हो।’

मलाई सबैभन्दा बढी किताबप्रति उनको अनुग्रहले आकर्षित गर्‍यो।

उनी कतिसम्म किताबप्रेमी थिए भने रातरातभर मैनको उज्यालोमा पढिरहन सक्थे। मालिक्नीले मैनको खपत धेरै हुँदै गएको थाहा पाएर सिन्का भाँचेर मैनको लम्बाइ नाप्थिन्। सिन्काको लम्बाइ र मैनको लम्बाइमा फरक परेको दिन गोर्कीको किताब धुजा–धुजा हुन्थ्यो। त्यो किताब उनले बुइगलमा लुकाएका हुन्थे। तर मालिक्नी कुनाकाप्चा नछोडी भेट्टाएरै छोड्थिन्। एकपटक त उनले काँसको थालमा जूनको चहक पारेर त्यहीँ उज्यालोमा समेत पढे।

यस्तो अप्ठ्यारो परिस्थितिमा पनि गोर्कीले किताब पढ्न छोडेनन्। उधारै भए पनि। रोटी खाने पैसा उबाएरै भए पनि। जसले उनलाई दुःखद क्षणहरूमा पनि खुसी दिन्थ्यो। उनलाई उनी बाँचेको जीवनभन्दा उम्दा लाग्थ्यो किताबको दुनियाँ। शारीरिक, मानसिक आहतले थिलथिलो पारेको बखतमा तिनै किताबले राहत दिन्थ्यो। यसले उनीभित्र दुई भिन्न प्राणी निर्माण गरेको थियो।

एउटा घृणित कुराहरूबाट क्षुब्ध प्राणी। निरसताले हरेक कुरामा खोट खोज्ने। शंका गर्ने। आपूmलाई, दुनियाँलाई असहाय देख्ने। यो प्राणी किताबको संगतिमा शान्त र निर्जन एकान्तमा बाँच्न चाहन्थ्यो। जति कम मानिस र जति टाढाको स्थान त्यति बेस मान्थ्यो। अर्को प्राणी बुद्धिमत्तापूर्ण थियो। सत्यवादी पुस्तकद्वारा दीक्षित थियो। जीवनको भयावह निरसताले उसको हृदयलाई धुलोपीठो पार्न सक्छ भन्ने बुझेको थियो। र आत्मरक्षाको निमित्त सम्पूर्ण शक्ति एकीकृत गरेको थियो। ऊ हरहमेशा वादविवादका लागि तत्पर हुन्थ्यो। कुनै उपन्यासको नायकझैं प्रेम र करुणाले भरिपूर्ण थियो।

यो सब हुँदा उनी सोह्र वर्षका पुगेका थिए।

यसपछि उनी काजान गए। विश्वविद्यालयमा अध्ययन गर्ने हुटहुटी बोकेर। गोर्की जिम्नेजियमका विद्यार्थी निकोलाईको सम्पर्कबाट त्यहाँ पुगे। तर त्यसपछिका दिनहरू पनि गोर्कीका लागि सुखद रहेनन्। उनले कहिल्यै विश्वविद्यालयको प्रांगणमा पाइला टेक्न पाएनन्। काजानमा गरिबहरूको बस्ती, फोहोरी गल्लीमा भौंतारिनु। बाँच्नका लागि पाउरोटी कारखानामा मजदुरी गर्नु। दैनिक बीस घण्टाको श्रममा शरीर घोट्नु। गोर्कीले भोग्नु परेको नियति थियो। यस्तो दयनीय अवस्थामा पनि उनले आन्तोख चेखव, तोल्सतोयका कथाहरू पढ्न छाडेनन्। विस्तारै उनले आफ्ना भावनालाई कवितामा प्रस्फुटित गर्न थाले। लेखनको दुनियाँमा देखा परे।

ठीक सोह्र वर्षकै उमेरमा म पनि काठमाडौं आएँ। विवाह गरेर। म लमी तर माईको बाबुको सम्पर्कबाट यहाँ आइपुगेँ। त्यसपछि अध्ययन स्थगन हुनु। सत्र वर्षको उमेरमा आमा बन्नु। पहिलो शिशु गुमाउनु। घाँस, दाउरा, मेलापातको रिलेमा अल्झनु। बुहार्तनको पराकाष्टा भोग्नु। आपूmले बाँचिआएको भन्दा पनि निकृष्ट जीवन बाँच्नुपर्दा मानसिक रूपमा विचलन आउनु। यावत् समस्यासँग पौंठेजोरी खेल्दै ठीक सोह्र वर्षपश्चात् म पुनः किताबको दुनियाँमा प्रवेश गरेँ। जब किताबसँग मेरो संवाद हुन थाल्यो यसले ममा पुनर्ताजगी भर्‍यो। मभित्रको सुषूप्त पाठकलाई ब्यूँझायो। मभित्रको क्षुब्तता हटायो। विकल्पका बाटोहरू देखायो। फेरि स्वप्न देख्न सिकायो। मैले अध्ययन र भोगाइलाई अक्षरमा पोख्न थालेँ। बिस्तारै मैले लेख्न थालेँ।

गोर्की मेरा लागि पहिलो भेटदेखि नै प्रिय बने। कैशोर्यकालमा उनी आफ्ना पात्रहरूमार्फत प्रिय बने। युवाकालमा स्वप्नदर्शी बनेर प्रिय बने। जब अहिले मैले उनको जीवन पढेँ। उनी प्रिय लाग्नुको कारण बुझेँ। हामीलाई ती मानिस प्रिय लाग्दा रहेछन् जो हामीजस्तै जीवन भोगेर हुर्केका हुँदा रहेछन्। सुदूर भूगोलको भए पनि, समयको ठूलो अन्तर भए पनि, भाषा र संस्कृतिका अग्ला पर्खालहरू भए पनि भोगाइको समानताले उस्तै अनुभूति जन्माउँदो रहेछ। त्यसैले त अचेल मलाई गोर्की आफैंसँग उस्तै दुःख गरी हुर्किएको साथीजस्तै लाग्छ। र त जबजब जीवनका कठिनाइहरूले मलाई विचलित तुल्याउन खोज्छन् म गोर्कीको समीप पुग्छु। उनका जीवनका कठिनाइलाई फेरि पढ्छु। र उनले आमा उपन्यासमा सृष्टि गरेको सपना आत्मसात् गर्छु। फेरि नयाँ जोश र उत्साहका साथ जीवनलाई झेल्न तयार हुन्छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.