राजदूत-प्रभावशाली निर्मला, तर गुमनाम
सामान्य परिवारकी २५ वर्षीया निर्मलाको कृषि र पोषण क्षेत्रको नवीनतम अभ्यास समुदायलाई प्रेरणा बनेको छ।
गत असोजमा नेपालगन्ज–काठमाडौं हवाई यात्रा गर्दा विमानमा भेटिएको ‘यात्रा’ म्यागेजिनमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको अन्तर्वार्ता पढेको थिएँ। ‘नेपाल भ्रमणको सिलसिलामा तपाईंले थुप्रै मानिस भेट्नुभयो होला। आफूले भेटेको सबभन्दा रोचक मान्छेबारे बताउनुहोस् न ? ’ भनेर सोधेको प्रश्नको जवाफमा राजदूत बेरीले भनेका छन्, ‘मैले थुप्रै रमाइला मान्छे भेटेको छु। तीमध्ये केही महिलाबाट म प्रभावित भएको छु। उहाँहरूले साधारण र असाधारण दुवै काम गरिरहनुभएको छ। केहीअघि नेपालगन्जको ग्रामीण इलाकामा मैले एक युवती भेटेको थिएँ। जसले २५ वर्षकै उमेरमा आफ्नो समुदायलाई कृषि र स्वास्थ्यका नवीनतम् उपाय सिकाउँदै नेतृत्व गरिरहनुभएको छ। मैले भेटेका मानिसहरूमध्ये उहाँ पक्कै पनि एक प्रभावशाली व्यक्ति हुनुहुन्छ।’
विश्वकै सर्वशक्तिमान राष्ट्र अमेरिकाका राजदूत बेरीको नजरमा देशैभरिबाट प्रभावशाली व्यक्तिको सूचीमा रहेकी बाँके जिल्लाको खजुरा गाउँपालिका–४, डीगाउँकी निर्मला घिमिरे क्षत्रीलाई खोज्न मलाई तीन महिना लाग्यो। उमेर २५ वर्ष। चार वर्षीया छोरी सुदीक्षा र डेढ वर्षका छोरा सुशान्तकी आमा। सामान्य किसान परिवारकी बुहारी। पति राकेश वैदेशिक रोजगारीबाट फर्केर गाउँघरमै प्लम्बरको काम गर्ने। शिक्षा एसएलसी। जग्गा १० कट्ठा। यी परिवेशका आधारमा उनी प्रभावशाली हुनै सक्दिनथिन्।
बागेश्वरी स्वास्थ्य आमा समूहको बैठक बसिरहेको बेला २८ फागुन ७५ मा कृषिमन्त्री खनालसँगै राजदूत बेरीसँग उनको भेट भएको थियो। बागेश्वरी घरायसी खाद्यान्न उत्पादन कृषक समूहको अध्यक्षका रूपमा ६ महिने दूधे छोराकी आमा निर्मलाले प्रस्तुति दिइन्। कृषिमन्त्री खनालले ‘यो उमेरमा यति राम्रो कृषि अभ्यास’ भनेर प्रशंसा गरे। राजदूूत बेरी उनको कामबाट निकै प्रभावित भए। भेटको झन्डै ६ महिनापछिको अन्तर्वार्ताका क्रममा बेरीले देशैभरिका महिलामध्ये निर्मलालाई प्रभावशाली व्यक्तिको सूचीमा राखे, आखिर किन ?
साधारण काम, असाधारण प्रतिफल
राजदूत बेरीकै भाषामा निर्मलाले कृषि र पोषणका क्षेत्रमा गरेको काम ‘साधारण र असाधारण’ दुवै हो। बाँके बालबालिकामा कुपोषण बढी हुने जिल्लामध्येमा पर्छ। निर्मलाले पोषणका क्षेत्रमा साधारण विधिबाट असाधारण परिवर्तन ल्याएकी छन्। गाउँमा कुनै बेला सुत्केरीका लागि लोकल भालेको जोहो गर्ने गरिन्थ्यो। यो चलन हराउँदै थियो। सुनौलो हजार दिन (गर्भवतीदेखि बच्चा दुई वर्षसम्म)मा आमा र बच्चालाई पोषक तत्त्व चाहिन्छ भनेर एक संस्थाले कुखुराका पाँचवटा चल्ला दिएको थियो। चल्ला कतिले हुर्काउँछन्। धेरैले पाल्न सक्दैनन्, पाल्दैनन्।
छोडुवा कुखुरा पाल्दा घर फोहोर हुन्थ्यो। बारीमा तरकारी केही पनि बाँकी रहँदैनथ्यो। भालेको तौल एक किलो हुन वर्ष दिन कुर्नुपथ्र्यो। ब्रोइलर कुखुराको मासु जताततै पाइने भएकाले धेरैले लोकल कुखुरा पाल्न छोडिसकेका थिए। उनले टोललाई अर्धबन्देज अवस्थामा कुखुरा पाल्न र दाना पनि घरमै बनाउन सिकाइन्।
त्यही संस्थाले गर्भवतीलाई तरकारी खेतीका लागि भनेर बीउबिजन पनि दियो। बीउ सबैले लैजान्छन् तर थोरैले मात्र तरकारी फलाउँछन्। निर्मलाले त्यही तरकारीलाई व्यावसायिक बनाइन्। घरमै आलु, मकै, बोडी, काँक्रा, फर्सी, लौका, खुर्सानीको बीउ उत्पादन गर्न थालिन्। प्याजको बेर्ना लिन छिमेकी पनि उनकै घरमा पुग्छन्। ‘यो वर्ष डढुवाले आलु सत्यानास पार्यो। यो वर्ष बीउ राख्न सकिन्न,’, उनले चिन्ता व्यक्त गरिन्।
उनले बाख्रा र भैंंसी पनि पालेकी छन्। कृषि उपजबाट आएको पैसा समूहमा बचत हुन्छ। उनको समूहमा ४५ हजार रुपैयाँ संकलन भइरहेको छ। मासिक एक प्रतिशत ब्याजमा लगाइन्छ। राजदूत र मन्त्रीसँगको भेटपछि उनी झनै उत्साही बनेकी छन्। भन्छिन्, ‘अझै केही गरौंला भन्ने ऊर्जा थपिएको छ।’
उनको टोलमा गर्भवतीले स्वास्थ्य संस्थामा चारैै पटक गर्भ जाँच गरिरहेका छन्। सबैको घरमा करेसाबारी छ। हरेकले कुखुरा पालेका छन्। गर्भवती, सुत्केरी र बच्चाका लागि अर्गानिक पोसिला खानेकुरा घरमै उत्पादन भइरहेको छ। परिवारले गर्र्भवतीका लागि कुखुरा पाल्न थालेका छन्। तरकारी लगाउँछन्। पैसा नहुनेले ऋण लिएर भए पनि पोसिला खानेकुरा किनेर खुवाउँछन्। गाउँटोलमा दुब्ला, पातला, ख्याउटे बच्चा भेटिँदैनन्। स्वास्थ्य स्वयंसेविका दुर्गा खत्री भन्छिन्, ‘यो सबै उनकै देन हो।’
०००तर पनि संघीय सरकारका पूर्व कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, अमेरिकी राजदूत र्यान्डी बेरी, दूतावास प्रवक्ता एन्डी डे आर्मन्टलगायत कूटनीतिक नियोगका प्रमुख उनलाई भेट्न घरमै पुगेका छन्। उनी कसरी प्रभावशाली व्यक्तिको सूचीमा परिन् होलिन् त ? निर्मलाले ती कुखुरालाई अर्धबन्देज कुखुराको खोर विकास गरेर पालिन्। उनले अनुभव सुनाइन्, ‘पाँचवटा चल्लाबाट पाल्न सुरु गरेँ। पछि त खोरमा गिरिराज, न्यु हेम्सार र ब्ल्याक अस्टोलक उन्नत जातका ४० वटासम्म कुखुरा थिए। मासु पनि खायौं। कुखुरा बेचेर आम्दानी पनि भयो।’
‘घाँस र दुबो पनि काटेर हाल्छौं। बचेको खाना पनि कुखुरालाई नै हुन्छ। अहिले तीन महिनामै दुई किलो तौल हुन्छ। एउटै भाले चार–पाँच किलोसम्मको पनि हुन्छ,’ उनले भनिन्। अहिले गाउँलेहरू गर्भवती र सुत्केरीका लागि मासु र अन्डाका लागि कुखुरा अनिवार्य पाल्न थालेका छन्। कतिलाई यही कुखुरा आम्दानीको स्रोत पनि बनेको छ। भाले बेचेर अरू पोषिला खानेकुरा किन्छन्। उनले टोलमा अर्गानिक तरकारी प्रवद्र्धन गरिन्। तरकारीका लागि नयाँ जैविक विषादी उत्पादन गरिन्। ‘गाउँमै भएका अमिलो, पिरो, टर्रो, चोप आउने, दूध आउने, गन्हाउने, आँप, तुलसीको पात, भैंसीको पिसाब संकलन गरेर विषादी बनाएर तरकारीमा छर्कन्छौं’, उनले भनिन्। तरकारी र कुखुरापालनबाट वर्षमा ५० हजार रुपैयाँ बचत भइरहेको छ।
गोबर खुला ठाउँमा थुपार्ने गरिन्थ्यो। ग्याँस उडेर जान्थ्यो। मल छोपेर राख्दा चाँडो कुहिने र गुणस्तरीय प्रांगारिक मल बनाउन उनले सिकाइन्। उनले रोपेको सुन्तला रङको सखरखण्ड गाउँटोलमा फैलिएको छ। सानो करेसाबारीमा पनि टनेलमा तरकारी खेती गर्न सिकाइन्। अहिले तीनवटै सिजनमा तरकारी फलाउँछिन्। ताजा तरकारी आपूmलाई खान पनि पुग्छ। बेचेर आम्दानी पनि हुन्छ।