तीन करोड लगानीमा बाख्रापालन

तीन करोड लगानीमा बाख्रापालन

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १८ गोवरैयास्थित चन्दाज गोट एन्ड एग्रिकल्चर फर्मको मूल गेटमा लेखिएको छ ‘सोच बदलौँ, जुन काम गरे पनि स्वदेशमै गरौं’ ।उक्त नारालाई आत्मसात गर्दै लामो समय फुटबल क्षेत्रमा समय बिताएका महेन्द्रनगरका गणेशबहादुर चन्दले ३ करोड लगानीमा अत्याधुनिक खोरसहित व्यावसायिक बाख्रापालन सुरु गरे । अस्ट्रेलियाबाट बोयर जातको बाख्रा नेपाल भित्र्याएर चन्द व्यावसायिक बाख्रापालनमा लागे ।

केही वर्ष अगाडि खेलकुदको दौरानमा पोखरा पुगेका चन्दले बन्दीपुरमा रहेको बाख्रा रिसर्च सेन्टर देखेपछि आधुनिक बाख्रापालनतर्फ आकर्षित भएको बताए । त्यसपछिको २ वर्ष उनले बाख्रापालनका लागि अध्ययन अवलोकनमा बिताए ।

‘दुई वर्ष बाख्रापालनकै लागि अध्ययन गरेँ, नेपाल, अस्ट्रेलियालगायत देशमा समेत अवलोकन गरेर व्यावसायिक रूपमा बाख्रापालनमा लागेको छु’, सञ्चालन चन्दले भने । ‘आफ्नै ठाउँमा केही गनुर्पर्छ भन्ने भावनाका साथ लागेको छु ।’

व्यवसाय सुरुवातका लागि घरजग्गा धितो राखेर ऋणका लागि थुप्रै बैंक धाए पनि कुनै पनि बैंकले नपत्याएको उनले बताए । ‘व्यावसायिक रूपमा काम गर्न खोज्ने कृषकलाई पुँजी जुटाउनै सकस छ’, चन्दले भने, ‘बैंकले कृषिमा सहुलियत ऋण भने पनि कागजमै सीमित छ ।’

व्यावसायिक रूपमा अस्ट्रेलियाबाट उन्नत जातको बाख्रा भित्र्याउन पनि प्रक्रियागत अल्झनले निकै सास्ती खेप्नुपरेको उनको दुखेसो छ । बोयर जातको बाख्रापालन पोषणका लागि सहज र रोग लड्न सक्ने क्षमता बढी हुने भएकाले यो जातको बाख्रा फस्टाउने चन्दले बताए ।

‘आउँदो ५ वर्षसम्म सुदूरपश्चिम प्रदेशमा मासु आयात विस्थापन गर्ने अवधारणाका साथ लागेका छौं’, चन्दले भने । ‘सुदूरपश्चिममा रहेका कृषकसँग सहकार्य गरेर एक सय आधुनिक बाख्रा फर्म सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’

आधुनिक खोर निर्माण र अस्ट्रेलियाबाट भित्र्याएको उन्नत जातका बाख्रासहित तीन करोड लागतमा व्यवसाय सञ्चालन गरेको उनले बताए । उनले अस्ट्रेलियामा प्रतिबोयर २ लाख २६ हजार पर्ने ५३ वटा उन्नत जातका बाख्रा नेपाल ल्याएका छन् ।

मेसिनरी र २ सय बाख्रा अटाउने क्षमताको आधुनिक खोरमा २ करोड बजेट खर्च भएको उनले बताए । उनले फर्मलाई रिसर्च सेन्टरको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

दैनिक अर्बौं रुपैयाँ बराबरको मासु नेपालमा आयात हुने बताउँदै उनले मासुको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । सरकारले दिने अनुदान वास्तविक कृषकले नपाउने बताउँदै चन्दले सरकारले अनुदान बन्द गरेर सहुलियत ऋणको व्यवस्था गनुपर्ने बताए ।

‘सरकारले ल्याएका राम्रा नीतिहरू कागजमा मात्रै सीमित भए, व्यवहारमा भएनन्’, सञ्चालक चन्दले भने, ‘अहिलेका तीन तहका सरकारले व्यवसाय सुरु गर्नेका लागि निश्चित समयका लागि कर छुट गर्नुपर्छ ।’

आधुनिक बाख्रापालनबाट राम्रो आम्दानी गर्न सकिने उनको विश्वास छ । बाख्रापालनसँगै उनले फलफूल खेती सुरु गरेका छन् । युवा विदेश पलायन भइरहेको अवस्थामा आफ्नै ठाउँमा मेहनत गरे विदेशको भन्दा राम्रो आम्दनी गर्न सकिने उनले बताए ।

उनले ६ बिघा प्रोटिनयुक्त सुपर नेपियर प्रजातिको घाससमेत लगाएका छन् । चन्दको अनुभवमा बाख्रापालनका लागि प्रमुख चुनौतीको रूपमा प्राविधिक पक्ष रहेको छ ।

‘केही गरी खोरमा बाख्रा बिरामी भयो भने उपचारका लागि आवश्यक स्रोत सामाग्री नै छैन’, उनले भने, ‘भेटेनरीमा डक्टर भए पनि रोग पत्ता लगाउन सक्ने उपकरण र औषधि नै छैन ।’

करिब २३ वर्ष फुटबलमा बिताएका चन्दले फुटबल संघको जिल्ला अध्यक्ष र केन्द्रीय तहको जिम्मेवारीसमेत बहन गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.