मलाई देखेपछि साथीहरू लुक्न थाले
रामेछापमा ३१ वर्षदेखि शिक्षण पेसामा रहेका माधव सयपत्री भर्खरै पेसानिवृत्त भएका छन्। ‘पालैपालो कथा भनौं’, ‘तीनसल्लेको वनभोज’, ‘पीपलपाते ताली’, ‘डढेलो र जुरेली’, ‘आशिषको हेलिकप्टर’, ‘म चोर होइन’, ‘झोलाभित्र के होला’, ‘मुसा फाल्ने पालो’, ‘बाँदरको बुद्धि’, ‘पूmलमा भँवरा’ जस्ता बाल साहित्यिक कृति रचेका उनका ‘सीमान्त विचलन’ उपन्यास तथा ‘बादशाहको अटोग्राफ’ कथासंग्रह चर्चित छन्। ‘पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार–२०६८’ प्राप्त गरेका उनी मोफसलमै बसेर लेखपढ गर्नेमध्ये अग्रणी हुन्। प्रस्तुत छ, सयपत्रीसँग फुर्सद–वार्ता :
सर, जागिर छोड्नुभो, फुर्सदमा हुनुहोला नि ?
शिक्षण पेसाबाट भर्खर निवृत्त भएको छु। फुर्सदै छ।
अब के गर्नुहुन्छ त फुर्सदमा ?
पुस्तक, पत्रपत्रिका पढ्ने र यसो कथासथा लेख्ने। आँखाले चस्मा मागेपछि लेखन–पठन पातलिएको छ। खुलेर लेखपढ गर्न गाह्रो हुँदो रहेछ।
पछिल्लो पटक कुन किताब पढ्नुभयो ?
अलि ग्रिपरले लेखेकी र खगेन्द्र संग्रौलाले अनुवाद गरेको डा. सन्दुक रुइतको बायोग्राफी पढेँ।
मन पर्यो ?
पर्यो।
किन ?
विश्वमै नाम चलेका नेपालीको जीवनी मन नपर्ने त कुरै भएन। अरूहरू कुरा मात्रै गर्छन्; सन्दुक, महावीर र कुलमानहरू काम गर्छन्। काम गरेर देखाउनेहरूलाई त पढ्नैपर्छ नि ! नेपालमै आँखाको सस्तो लेन्स बनाएर विश्वभरि पुर्याउने डा. रुइतको जति प्रशंसा गरे पनि कम हुन्छ। उनको निःस्वार्थ सेवाभावले कसलाई द्रवित नबनाउला ! त्यसमाथि भुइँबाट उठेर आएकाहरूलाई पढ्दा मनै हल्का भइदिन्छ। ऊर्जा पनि आउँछ। अनुवाद भए पनि यो पुस्तक अनुवाद जस्तो लाग्दैन। खगेन्द्र संग्रौलाको अनुवादै खास्साको हुन्छ, छ।
तपाईंको सिरानीमा किताब ?
सिरानीमा सधैं किताब हुँदैन। खाट–टेबुलतिर अस्तव्यस्त फालिएका चैं हुन्छन्। खाटभरि पुस्तक छर्दा क्यानभासमा कोरेको सुन्दर चित्र जस्तो लाग्छ।
हातमा भएको किताब ?
बाह्रखरीको ‘उत्कष्ट कथा–२०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कथाएँ–२०१९’ पढ्दै छु। त्यसमा मेरो कथा पनि छ। हिन्दीमा आफ्नै कथा पढ्दा बहुत मजा आयो।
थाती राखेको किताब ?
मदन पुरस्कारवाला ‘धृतराष्ट्र’ र ‘रणहार’ दुईचार पेजमै थन्किए।
धेरै पल्ट पढेको किताब ?
‘मकवानी वाला’, ‘तरुण तपसी’, ‘गौरी’, ‘वसन्ती’, ‘सेतो बाघ’।
पहिलो (बच्चाको) किताब ?
लाटोबुंगाको कथा भएको दन्त्यकथाको किताब।
धेरैपल्ट उपहार दिएको किताब ?
०६६ सालबाट दसैं, तिहार र बिहेमा पुस्तक उपहार दिन थालेँ। दसैंमा छोरीलाई ‘कर्णाली ब्लुज’ र ‘खुसी’ उपहार दिएँ। बढी चैं आफ्नै किताब दिएँ। तर नेपाली समाज पुस्तक उपहार लिनेदिने भएको रैनछ। समाजले पुस्तकको महत्त्व बुझेको जस्तो लाग्दैन। अहिले खास मान्छेलाई बाहेक पुस्तक उपहार दिन्नँ।
धेरैपल्ट उपहार पाएको किताब ?
‘माइक्रोसफ्टदेखि बाहुन डाडाँसम्म’, ‘सोच’ र ‘मेरो संघर्ष’ (हिटलरको आत्मकथा) मित्र इन्द्र खपांगीले मलाई सोधेरै २०६५ सालमा उपहार दिएका थिए, अर्को साथीबाट पनि ‘सोच’ उपहार आयो। मसित दुइटा ‘सोच’ भए। दु–दुइटा ‘सोच’ हुँदा पनि सोचेजस्तो चैं गर्न सकिएन।
पढ्न मन लागेर नपाएको किताब ?
‘कुमारसम्भव’ र ‘स्यापियन्स : अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’को नेपाली अनुवाद पढ्न मन लागेको छ। छैन क्यारे !
पुस्तक प्रायः कहाँ किन्नुहुन्छ ?
काठमाडौंमा किन्छु। छोरीलाई पठाइदिन भन्छु। मन्थली सदरमुकाममा फाट्टफुट्ट पुस्तक पाइए पनि तिन्ले एकरत्ति छुट दिँदैनन्।
कुन समय धेरै किताब पढ्नुभयो ?
साठीको दशकमा सबैभन्दा बढी पुस्तक पढियो। पुस्तकले तानेपछि निद्रा पनि लाग्दैनथ्यो। अहिले त्यस्तो हुँदैन।
मन परेको पुस्तकालय ?
म पढ्नै भनेर कुनै पुस्तकालय गएको छुइनँ। सुत्ने खाटअगाडिको खुला दराज नै मेरो मन पर्ने पुस्तकालय हो, जहाँ आँखा पुग्दा पनि बेग्लै आनन्द आउँछ।
पढिसकेपछि राम्रो लागेको किताबबारे भन्न खसखस लाग्दैन ? के गर्नुहुन्छ ?
लाग्छ। एकदुई वर्ष समीक्षा पनि लेखेँ। अचेल पढेपछि पुस्तकको फोटो फेसबुकमा टाँस्छु। छोटो टिप्पणी लेख्छु। कतिपयले यसो गरेको मन पराएका छैनन्। हुन त पढेर फेसबुकमा हाल्नैपर्छ भन्ने छैन। तर हामी अक्षरको खेती गर्नेले यति त गर्नै पर्यो नि !
समीक्षा पढ्दा कस्तो लाग्छ ?
अधिकांश समीक्षा आग्रही हुन्छन्। कि खुइल्याउँछन् कि धुरी चढाइदिन्छन्। तटस्थ समीक्षा गर्नेहरू एकदमै कम छन्।
पढ्दै गर्दा मन परे–नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने बानी छ कि ?
पढेपछि पानाको माथिपट्टिको कुनो थोरै दोबारेर राख्छु। मन परेको वाक्यलाई सिसाकलमले तेर्सो लाइन दिन्छु। अनुच्छेदमा ठाडो धर्को तान्छु।
अनि, किताबमा गाता हाल्ने बानी नि ?
थियो। अहिले छैन। किताबको अनुहार भनेकै कभर हो। राम्रो अनुहार किन छोपिदिनु ! मदन भण्डारीको श्रद्धाञ्जलि स्मारिका, चक्रपाणि चालिसेको ‘महाभारत कथा’ र ‘पागल बस्ती’मा प्लास्टिकको कभर हालेको छु।
नयाँ किताब हात परेपछि सुँघ्नुहुन्छ ?
नाकमै लगेर नसुँघे पनि परैबाट बास्ना आइहाल्छ। नयाँ किताबको बास्ना निकै मन पर्छ।
पाना पल्टाउँदा औंलामा थुक लगाउने बानी छ कि ?
छैन।
यात्रामा किताब पढ्नुहुन्छ ?
पछिल्लो पटक ‘उत्कृष्ट कथा–२०७६’का प्रथम, द्वितीय र तृतीय कथा बसमा पढेँ।
कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
पढ्न समयले फरक पार्दैन तर स्थानले फरक पार्छ। आफ्नै कोठा र घरछेउको खुला चौरमा गुन्द्री हालेर पढ्दा आनन्द आउँछ।
यहाँसँग भएको दुर्लभ जर्नल/पुस्तक ?
‘बागीना’ र ‘परोपकार’का पुराना अंक अनि राँची उपचारमा जाँदा देवकोटा परिवारका सदस्य र डाक्टरले लेखेको चिठीहरूको संग्रह छ। आधाउधी पाना त छुट्टिइसक्यो।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
राष्ट्रपतिलाई मल्लकालीन इतिहास पढ्न सिफारिस गर्छु। जनताको धुरी नधुवाई राजा भात खाँदैनथे रे नि त ! अरू तीन प्रमुखलाई चैं आफ्नै विगत पढ्न अनुरोध गर्छु।
किनेको सबैभन्दा महँगो पुस्तक ?
सुरु स्याम्पल निस्केको हार्ड कभरवाला ‘चिना हराएको मानिस’ दुई हजार हो कि बाइस सयमा छोरीले किनिछिन्। लगत्तै सामान्य मूल्यमा आइगो नि।
पठन रोजाइमा कुन विधा ?
कविता र कथा।
पढ्न नपरे हुन्थ्यो भन्ने पनि छ कि ?
समाज नझल्केको र छिपछिपे रचना पढ्न मन लाग्दैन। पहिला गजल र मुक्तक खुब पढियो। अहिले खासै पढ्दिनँ।
के कहिल्यै कुनै किताब चोर्नुभएको छ ?
चोरेको छु। मामाको ट्यांकाबाट ‘लालहीराको कथा’ सानैमा चोरेको थिएँ। शिवपुरी स्कुल पढ्दाताका मालिकको टेबुलबाट २०४३–४४ तिर ‘रूपरेखा–३००’ र रामचन्द्र अधिकारी लिखित ‘प्रजातन्त्रका महासेनानी विश्वेश्वरप्रसाद कोइराला’। मैले दोहोर्याएकोमध्ये त्यो पनि एउटा हो।
पढिसकेका किताब कसरी व्यवस्थापन गर्नुहुन्छ ?
आफूले पढेपछि फिर्ता गर्ने गरी मात्रै अरूलाई किताब दिन्छु। गाउँमा किताब पढ्ने खासै मानिस छैनन्। मन गर्नेलाई बोकेरै लगिदिन्छु। पुस्तक दिँदा रेकर्ड राखेर दिन्छु। फिर्ता भएपछि ‘ठीक’ चिनो लगाउँछु। मेरो रेकर्डअनुसार २०० किताब मबाट अरूले लगेर पढेछन्। धेरैले लगेर पढेका चैं गौरा प्रसाईको ‘मेरो जीवनका पाना’ र शान्ता चौधरीको ‘कमलरीदेखि सभासद्सम्म’ हो।
किताब मनमनै पढ्नुहुन्छ कि सस्वर ?
छन्द कविता सस्वर पढ्छु। अरू मनमनै। विद्यार्थीलाई वाचनकला सिकाउँदा भने कथा, कविता, निबन्ध पनि स्वर निकालेर पढ्छु।
कुन लेखक—प्राध्यापक भेट्न चाहनुहुन्छ ?
अभि सुवेदी, सञ्जीव उप्रेती र राजेन्द्र विमलसँग एक–दुई घण्टा बिताउन मन छ।
तपाईंले लेख्न चाहिरहेको पुस्तक ?
लेखिसकेका र केही थपेर संस्मरण–अनुभूतिहरूको संग्रह निकाल्ने चाहना छ। क्लासिकल खालको, ग्रामीण नेपाली जनजीवन आउने उपन्यास लेख्ने रहर छ।
तपाईंले अनुसन्धान गरिरहेको विषय ?
अनुसन्धान नै त नभनूँ। गाउँमा मैले पठन संस्कार र बालसाहित्यसम्बन्धी केही काम गरेको छु। आफैंले बालपत्रिका किनेर ल्याइदिने, अतिरिक्त क्रियाकलापमा पुस्तक पुरस्कार दिने गर्दा नानीहरू ज्यादै रमाएका छन्। नानीहरू नयाँ किताब पाउँदा बहुत खुसी हुन्छन्। मलाई भेटेपछि पत्रिका र किताबका कुरा गर्छन्। उनीहरूले कथा बढी मन पराए। कथा पढेपछि नानीहरू आफैं कथा लेख्न थाले। छापिएका रचनाको पारि श्रमिकसमेत पाउँदा उनीहरू हौसिए। अहिले धेरैले कथा लेखेर देखाउँछन्। पुस्तक, पत्रपत्रिका पढ्ने नानीहरूको अरू विषयको पढाइ पनि राम्रो हुँदो रहेछ।
बढ्ता होहल्ला भएको औसत किताब ?
त्यस्ता धेरै किताब छन्। मिडिया पहँुच भएरै त होहल्ला भएको होला।
कम होहल्ला भएको राम्रो किताब ?
पढ्नुभएको छैन भने गत साल आएको रमेश दियालीको उपन्यास ‘छाप्रो नं ५५’ पढ्न अनुरोध गर्छु।
आफूलाई मन परेका पाँच पुस्तक सिफारिस गर्न सक्नुहुन्छ ?
गाह्रो भो। मैले नाम दिन सकिनँ। पाँचको साटो पचास भनेको भए नाम दिन सक्थेँ हुँला।
किताबबारे कुनै एउटा रोचक घटना ?
स्कुल स्कुल गएर म आफ्ना किताब किनाउँथेँ। पछि त मलाई देखेपछि साथीहरू लुक्न थाले। एक दिन एकजना साथीले भनिदियो, ‘मैले तपाईंका किताब किन पढ्ने ? म खेलकुदको मान्छे, खेलमा रुचि छ। तपाईंले कर गरेर हुन्छ ? ’ त्यसपछि म पनि ‘किताब बेच्’ अभियानबाट ‘ब्याक’ भएँ।
रामेछाप के लेखपढ गर्दै छ ?
विकासको कुरा गर्नुहुन्छ भने वनपाखा, खेतबारीमा डोजर चलाउँदै छ। साहित्यको कुरा हो भने सुस्त छ। गजल लेख्ने भाइबैना पनि थाकेका छन्। पेशल आचार्य, रवीन्द्र बुढाथोकी, सिर्जना बस्नेत, सुमन कर्माचार्य, लालबहादुर तामाङ, सजना वाइबा, प्रिन्स प्रकाश, उद्धव अविचल, धनलाल योञ्जन, नवीन गाउँलेहरू कथा–कविता लेखिरहेका छन्। बाक्लै गजल र मुक्तक लेख्ने कल्पना तामाङ बैनी अमेरिकातिर उडिन्। नवीन गाउँले निकै गहकिला पाठक पनि हुन्। वर्षमा एकदुई साहित्यिक कार्यक्रम हुन्छन्। तिनमा जिल्लाकालाई वास्तापास्ता गरिन्न। उतैबाट आएकाहरूको ‘मेला’ लाग्छ।
ए...
पहिले शिक्षकहरू पत्रपत्रिका र पुस्तक पढून्। डिग्री त गेसपेपर च्यातेर पनि लिइएको होला। थप पुस्तक नपढी शिक्षक कसरी सक्षम हुन्छ ? निरन्तर अपडेटेड हुनुपर्ने पेसामा पुस्तकै पढ्न अल्छी गर्यो भने पुस्ता नै पछि पर्छ। ‘शिक्षक’ पत्रिका मात्रै भए पनि पढौं। तपाईं–हाम्रै क्षमता बढ्ने हो। हरेक वडामा पुस्तकालय खोल्न स्थानीय सरकारलाई सुझाव दिन्छु। व्यवस्थित पुस्तकालय हुँदा मेरा पनि किताब दिन्थेँ।