कोरोना नियन्त्रणको चुनौती
चीनको हुपे प्रान्तबाट फैलिएको नयाँ प्रजातिको नोबेल कोरोना भाइरसले धेरै मुलुकमा त्रास फैलाएको छ। दुई दर्जन मुलुकमा फैलिसकेको यस भाइरसले महामारी ल्याउन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटको घोषणा गरेको छ। तथापि, अन्तर्राष्ट्रिय यात्रा र व्यापारमा कुनै किसिमको प्रतिबन्ध सिफारिस गरिएको छैन।
डब्लूएचओले समेत चीनलाई धेरै उच्च जोखिम मुलुकका रूपमा घोषणा गरेको छ। विश्वभर उच्च जोखिम देखिएको छ। यो भाइरसबाट मानिस कसरी संक्रमित भएका छन् भन्ने सम्बन्धमा वैज्ञानिक तवरबाट अझै पुष्टि हुन सकेको छैन। हाल यस विषयमा अनुसन्धान भइरहेको छ। यो भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ। चीनमा १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। १५ हजार दुई सय ३८ जना निगरानीमा छन्। भाइरस संक्रमणले उपचारमा संलग्न चिकित्सकसहित दुई सय १३ चिनियाँको मृत्यु भइसकेको छ। चीनबाहेक अन्य १९ मुलुकमा संक्रमितहरू फेला परेका कारण नियन्त्रणको चुनौती बढेको छ।
भाइरसको केन्द्र मानिएको चीनको हुपे प्रान्तको राजधानी उहानमा दुई सयभन्दा बढी नेपाली विद्यार्थी बन्दीसरहको जीवन बिताउन बाध्य भएका छन्। कोठाभित्र थुनिएर बस्न बाध्य भएका उनीहरू स्वदेश फर्कन आतुर छन्। छिमेकी मुलुक भारत, बंगलादेश, माल्दिभ्स लगायतले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन्। नेपाल सरकारले पनि नेपाली विद्यार्थीलाई संक्रमण नहुँदै फर्काउनुपर्छ। राज्यले अभिभावकको भूमिका निर्वाह गर्दै नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन विलम्ब गर्नु हुँदैन। चार्टड विमानबाट उद्धार गरी अभिभावकीय दायित्व सरकारले पूरा गर्नुपर्छ।
चीनसँग नेपालको सीधा हवाई सम्पर्क छ। नेपाल भ्रमण वर्ष, २०२० मनाइरहेको बेला संक्रमणको जोखिम झन् बढेको छ। नेपालमा धेरै आउने पर्यटकमा भारतीयपछि चिनियाँ पर्छन्। पर्यटक आगमन अधिक हुने स्थानहरू पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा विशेष निगरानी राख्नुपर्ने आवश्यकता देखिएको छ। त्यस्तै चीनसँग सीमा जोडिएका तातोपानी र केरुङ नाकामा रहेको हेल्थ डेस्कलाई थप सुदृढ बनाउनुपर्ने टड्कारो देखिएको छ। यस्तो अवस्थामा त्रिभुवन विमानस्थल लगायतका स्थानमा विशेष निगरानी गर्नुपर्ने अवस्था छ। गत माघ ९ गते चीनको उहानबाट स्वदेश फर्किएका नेपाली विद्यार्थीको र्याल र रगतको नमुना परीक्षण गर्दा भाइरस भेटिएको पुष्टि भइसकेको छ। स्वास्थ्यमा संकटकाल घोषणापछि नेपाललगायत अल्पविकसित मुलुकले झन् बढी सतर्कता अपनाउनुपर्ने अवस्था छ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति बनाइसकेको छ। त्यस्तै स्वास्थ्य सचिवको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुखको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन गरेर संक्रमण व्यवस्थापनको पूर्वतयारी गरेको छ। विभिन्न विमानस्थल एवं नाकाहरूमा स्थापना गरिएका हेल्थ डेस्कलाई स्रोतसाधन, प्रविधि, उपकरण र जनशक्तिले चुस्त पार्नुपर्छ।
कोरोना भाइरसका कारण हुने रोगको हालसम्म कुनै खास उपचार पत्ता लागेको छैन। यस भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन। भाइरसले निम्त्याएका लक्षणका आधारमा उपचार गर्नुपर्ने अवस्था छ। रोग नियन्त्रण र संक्रमितको उपचारका लागि चीन सरकारले अपनाएका उपायहरूको उच्च मूल्यांकन गर्नुपर्छ। संकटको यो घडीमा नआत्तिनुका साथै अफवाह र हल्लाबाट समेत जोगिनुपर्छ। भाइरसको संक्रमणबाट आफू जोगिने र अरूलाई बचाउनेतिर ध्यान दिनुपर्छ।
भाइरसको जोखिम न्यूनीकरणका लागि नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ। खोक्दा, हाच्छ्युँ गर्दा नाक र मुख छोप्नुपर्छ। फ्लुजस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ। जंगली तथा घरपालुवा पशुपन्छीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनुपर्छ। पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खानुपर्छ। यस्ता चेतनामूलक सन्देश सरकारले जनस्तरसम्म पुर्याउनुपर्छ। रोग फैलनबाट रोक्नुपर्ने पहिलो चुनौती देखिएको छ। रोगको सम्बन्धमा अफवाह फैलन नदिन र नागरिकलाई सुसूचित गराउन सरकारले सूचना प्रवाहलाई चुस्त पार्नुपर्छ। रोग निदानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई व्यवस्थित बनाउनुपर्छ। नेपालले यसअघि संक्रामक रोगहरूविरुद्ध पाएको सफलतालाई कायम राख्नुपर्छ। कोरोना भाइरसविरुद्ध प्रवद्र्धनात्मक, उपचारात्मक तथा प्रतिकारात्मक सेवामा ध्यान दिनुपर्छ।