उखु किसानको मुहारमा आंशिक खुसी

उखु किसानको मुहारमा आंशिक खुसी

जनकपुर : एक महिनादेखि उद्योगलाई उखु बिक्री गरेका किसानले भुक्तानी पाउन थालेका छन्। प्रदेश २ का अधिकांश उद्योगीले किसानको रकम बैंक खातामार्फत भुक्तानी दिन थालेका हुन्। उद्योगीले किसानको खातामा दैनिक तीन करोड रुपैयाँसम्म रकम पठाइरहेका छन्।

गत वर्ष उधारोमा उखु बिक्री गरेर भुक्तानी लिन आन्दोलन गरिरहेका किसानले यस पटकको पाएपछि पनि खुसी भएका छन्। प्रदेश २ मा सबैभन्दा बढी उखु खेती हुन्छ। उखु खेती हुने जिल्लामध्ये सर्लाही पहिलो र महोत्तरी दोस्रो हुन्। रामनगरमा रहेको एभरेस्ट चिनी उद्योग नेपालकै ठूलो चिनी उद्योग हो।

उद्योगले उखु गरिद गरेवापतको ४७१ रुपैयाँ २८ पैसा र सरकारको तर्फबाट किसानलाई अनुदान स्वरुप दिने ६५ रुपैयाँ २८ पैसा गरी प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा सरकाले यस वर्षको उखु मूल्य तोकेको छ। सोही अनुसार उद्योगले किसानलाई भुक्तानी दिन सुरु गरेका छन्।

एभरेस्ट सुगर मिलले दैनिक तीन करोड रुपैयाँसम्म किसानलाई भुक्तान गरिरहेको जनाएको छ। ११ पुसबाट मिलले ‘क्रसिङ’ सुरु गरेको थियो। पुस २५ सम्मको भुक्तानी तालिका सार्वजनिक गरेर किसानलाई रकम वितरण भइरहेको छ। ‘किसानलाई रकम दिइरहेका छौं। किसानलाई दिनकै लागि बैंकबाट ऋण पनि लिएका छौं। हामीले उत्पादन गरेको चिनी बिक्री भएको छ,’ एभरेस्ट मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले भने, ‘हाम्रो उद्योगले एक महिनामा १० लाख क्वीन्टल उखु क्रसिङ गरिसकेको छ।’

माघ १० भित्र बैंकमार्फत किसानको खातामा १० करोड भुक्तानी भइसकेको उनले बताए। यसअघि नेपाल उखु उत्पादक महासंघ-नेपाल चिनी उत्पादक महासंघबीच उखु खरिद गरेको एक महिनाभित्र किसानलाई भुक्तानी दिने सम्झौता भएको थियो। सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले पनि दुई साताअघि खरिद गरेको उखुको भुक्तानी गर्न थालिसकेको छ।

उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीका अनुसार इन्दुशंकरले चालू सिजनमा खरिद गरेको उखुको ८ करोड रुपैयाँ भुक्तानी गरेको छ। हिमाल चिनी मिल सिरहा, बाबा बैजनाथ चिनी मिल रौतहट, रिलायन्स चिनी उद्योग बाराले महिनादिन अघि खरिद गरेको उखुको रकम भुक्तानी दिन सुरु गरिसकेका छन्।

यसपटक उद्योगीले किसानसँग गरेको सहमतिलाई पालना गरेका उखु उत्पादक महासंघ अध्यक्ष मैनालीको दाबी छ। ‘उखु बिक्री भएलगत्तै किसानलको हातमा रकम परेको छ। यसले केही मात्रामा भए पनि किसानको मुहारमा खुसी छाएको छ’, उनले भने। भुक्तानी पाएपछि उखु कटानी, ढुवानी गर्नका अतिरिक्त खेती गर्न लिएको ऋण तिर्न सजिलो भएको महोत्तरीको गौशालाका कृषक भरत यादवले बताए।

‘पुसमा बिक्री गरेको उखुको रुपैयाँ माघमा पायौं। तर सरकारले दिने भनेको पोहोरको अनुदान भने कहिले पाइने हो, कुनै टुंगो छैन’, यादवले भने। चिनी उद्योगीले गत वर्ष खरिद गरेको उखुको मूल्य डेढ महिनाभित्र किसानलाई दिनुपर्ने लिखित सहमतिलाई लत्याएका छन्। प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा को दरले पाउनुपर्ने अनुदान अझै किसान पाएका छैनन्।

गत वर्ष सरकारले उखु किसानलाई एक अर्ब ३४ करोड अनुदान रकम वितरण गर्नुपर्ने थियो। अर्थ मन्त्रालयबाट ९२ करोड ८० लाख रुपैयाँ निकासा भइसक्दा पनि झन्झटिलो प्रक्रियाले गर्दा किसानले पाउने अनुदान जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयमै थन्किएको अध्यक्ष मैनालीले बताए। सर्लाहीको अन्नपूर्ण चिनी उद्योगले विगत तीन वर्ष अघिदेखिको रकम भुक्तानी गरेको छैन। सोही कारणले चालू सिजनमा उक्त मिल पनि सञ्चालन हुन सकेको छैन।

यस्तै, रौतहटको  श्रीराम चिनी मिलले पनि हालसम्म सञ्चालनको सुरसार गरेको छैन। सर्लाहीको महालक्ष्मी चिनी मिल सञ्चालनमा आए पनि किसानको पुरानो ८ करोड अझै भुक्तानी गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.