रामग्राममा ६ अर्बको गुरुयोजना
बुटवल : महत्वपूर्ण बौद्ध स्मारक रामग्रामको गुरुयोजना निर्माण भएको छ। लुम्बिनी विकास कोषले रामग्राम स्तुपलाई केन्द्रमा राखेर गुरुयोजना निर्माण गरेको हो। बौद्ध साहित्य अनुसार रामग्राममा बुद्धको अस्तुधातु रहेको छ। माटोको ढिस्को मुनि पुरिएको स्तुपाभित्र अस्तुधातु रहेको उल्लेख भए पनि अहिलेसम्म उत्खनन भएको छैन।
विकास कोषले स्तुपा क्षेत्रको उत्खनन गर्दै पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाएको हो। प्रारम्भिक गुरुयोजनामा रामग्राम स्तुप क्षेत्रभित्रको करिब १ सय ६७ बिघा जमिन अधिग्ररण गर्नुपर्ने छ। स्तुपलाई केन्द्रमा राखेर एक किलोमिटर गोलाकारभित्रको जमिन अधिग्रहण हुने कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए।
गुरुयोजनाको प्रारम्भिक लागत ६ अर्ब अनुमान गरिएको छ। जमिन अधिग्रहणमा साढे १ अर्ब खर्च हुनेछ। कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार स्तुपा आसपासका क्षेत्रमा ‘जिलोफिजिकल सर्भे’ गरेर मात्रै पूर्वाधार निर्माणको काम सुरु हुनेछ। ‘सर्भेबाट पुरातात्िवक क्षेत्रको पहिचान हुनेछ। त्यसै आधारमा उत्खनन र पूर्वाधार निर्माण गर्ने योजना छ’, उनले भने।
रामग्राममा अहिलेसम्म भौतिक संरचना बनेका छैनन्। गत वर्षमात्र स्तुपा घुम्न मिल्ने गरी पदमार्ग बनाइएको थियो। विकास कोषमा पर्याप्त बजेट नहुनु र लुम्बिनी बाहेकका क्षेत्रको वेवास्था हुँदा पूर्वाधारको काम हुन सकेको थिएन।
अहिले रामग्राम स्तुपा क्षेत्रमा करिब ९ बिघा जमिन मात्रै छ। अधिग्रहण गर्ने क्षेत्रमा केही निजी घरसहित खेतीयोग्य जमिन पर्छ। गुरुयोजनामा स्तुपाको चारैतर्फ सौन्दर्ययुक्त पार्क, बसपार्क, कोषको कार्यालयसहितका संरचनाको डिजाइन गरिएको छ। रामग्राम पुग्ने साँघुरो सडकलाई विस्तार गर्ने योजना बनाइएको छ।
विकास कोषले तिलौराकोट र रामग्रामलाई एकैसाथ विकास गर्ने योजना बनाएको छ। तिलौराकोटको अहिलेसम्म गुरुयोजना तयार भएको छैन। कोषका सूचना अधिकृत बस्नेतका अनुसार कपिलवस्तुस्थित तिलौराकोटमा करिब ७ सय बिघा जमिन अधिग्रहणको प्रक्रियामा छ। त्योमध्ये ३ सय ४५ बिघा जमिन अधिग्रहण गर्नेपर्छ। यो क्षेत्रमा पुरातात्िवक वस्तुहरू फेला परेका छन्। तिलौराकोटको जमिन अधिग्रहणका लागि अहिलेसम्म करिब ४२ करोड खर्च भएको छ। १७ बिघा जमिन अधिग्रहण भएको छ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न नेपालले पहल गरिरहेको छ। त्यसका लागि प्रमाण जुटाउन उत्खननलाई समेत निरन्तरता दिइएको छ। पुरातत्व विभाग, विकास कोष, दुराम विश्वविद्यालयले निरन्तर उत्खनन गरिरहेका छन्। यहाँ बुद्धकालभन्दा पहिलेदेखिकै पुरातात्िवक वस्तु फेला परिरहेको कोषका निमित्त सदस्यसचिव भट्टराईले जानकारी दिए। उत्खनन गरिएको स्थलमा शुद्धोधनको दरबारका खम्बाका अवषेश भेटिएको पुरातत्वविद्हरूले दाबी गरेका छन्।
तिलौराकोटको जियोफिजिकल सर्भेमा दरबारकै संरचनासहितका कैयौं पुरातात्िवक वस्तुहरू देखिएका छन्। कपिलवस्तु क्षेत्रमा २ सय बढी पुरातात्िवक स्थल भेटिएका छन्। तीमध्ये केहीस्थानमा मात्रै संरक्षणको पहल भएको छ। कोषका अनुसार गोटिहवाको उत्खननलाई समेत अघि बढाइएको छ। यहाँ निर्माण भएका केही संरचना हटाइएको छ।
रामग्राम, तिलौराकोटको उत्खनन र गुरुयोजना निर्माणसँगै दुई क्षेत्रलाई लुम्बिनीसँग जोडिनेछ। जसका लागि बौद्ध परिपथ सडक निर्माण भइरहेको छ। प्रदेश सरकारले यी क्षेत्र जोडिने गरी रेल सञ्चालनको अवधारणा बनाएको छ। तर गुरुयोजना सम्पन्न गर्न कम्तिमा २० अर्ब लाग्ने अनुमान छ। लुम्बिनी विकास कोषको गुरुयोजनामा अझै ६ अर्ब लाग्नेछ। तिलौराकोटका लागि सोही अनुपातकै रकम लाग्ने अनुमान विकास कोषले गरेको छ।