संसदमा फिटनेस सेन्टरबारे प्रश्न : कसले खोल्छ, कसले अनुगमन गर्छ ?
काठमाडौं : राष्ट्रियसभा सदस्य डा.बिमला राई पौडेलले राजधानीका फिटनेस सेन्टरको गुणस्तर र मापदण्डबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्। आइतबार राष्ट्रियसभा बैठकमा सांसद पौडेलले मानव स्वास्थ्यका लागि खोलिएका फिटनेस सेन्टरको गुणस्तर र मापदण्डबारे ध्यानाकर्षण गराएकी हुन्।
'राजधानीमा च्याउ उम्रेजसरी फिटनेस सेन्टर खोलिएका छन्।तिनीहरु कहाँ रजिष्टर हुन्छन्? यिनीहरुको मापदण्ड के हो ? फिटनेस सेन्टरको सुरक्षाको व्यवस्था के छ? कर्मचारी ट्रेन्ड छन् कि छैनन्, त्यो कही पनि केही पनि थाहा छैन,' उनले भनिन्,' 'सम्बन्धित निकाय के हो ? कहाँ रजिष्टर हुन्छ यसबारे समयमै
अनुसन्धान हुनुपर्छ।'उनले जतिसक्दो चाँडो फिटनेस सेन्टको मापदण्ड र गुणस्तरबारे अध्ययन गर्न राष्ट्रियसभाका अध्यक्षमार्फत स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराइन्। उनले मकवानपुरस्थित दामनको एक रिसोर्टमा ग्यासको हिटरले निस्सासिएर ८ जना भारतीय पर्यटकको मृत्यु भएको घटना सेलाउन नपाउँदा ललितपुरको फिटनेस सेन्टरमा साउना गएका दम्पतीको निस्सासिएरै मृत्यु भएपछि फिटनेस सेन्टरको मापदण्ड र गुणस्तरको माग गरेकी हुन्।
ललितपुरको सातदोबाटोस्थित विशालचोकमा फिट एन्ड फाइन् फिट्नेस सेन्टरमा स्वस्थ हुनका लागि साउना गएका दम्पतीको निस्साएर मृत्यु भएकोप्रति चिन्ता व्यक्त गरिन्। ' फिटनेस सेन्टर खोल्ने कसले हो, कर्मचारीले कति पढेको हुनुपर्छ। नुहाउन बेलुका ६ बजे गएको मान्छे राती ९ बजेसम्म खोजखबर नहुनु यो कहाँसम्मको लापरवाही हो,उनले भनिन्,' त्यहाँ हेर्ने मानिस हुन्छ कि हुँदैन। यसको जिम्मेवार को हो?'
बुधबार साँझ ललितपुर महानगरपालिका-१४ नखिपोटका हस्तकुमार गुर्बाजु (थापा) (४२) र नेत्र पुन (३४) को 'फिट एन्ड फाइन हेल्थ क्लब' मा निधन भएको हो। विशालचोकस्थित हेल्थ क्लबमा साउना बाथ लिने क्रममा दम्पतीको निधन थियो।मृतक गुर्बाजु पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हुन्।
उनले फरक प्रसंगमा एग्रीकल्चर फोरेस्ट्री युनिभरसिटीमा शिक्षाको गुणस्तर डामाडोल भएको जिकिर गरिन्। 'विगत भदौ ६ गते एग्रीकल्चर फोरेस्ट्री युनिभरसिटीको भाइस चान्सलरको पद खाली छ।उपकुलपतिको स्थान मात्र खाली छैन।अरु ४/५ महत्वपूर्ण पद खाली छन्।यसले विश्वविद्यालको शैक्षिक गुणस्तर, शैक्षिक सूचारुपन र व्यवस्थापनमा नकारात्मक असर परेको छ,' उनले भनिन्।
'समितिले उपकुलपतिको नाम सिफारिस गरिसकेको अवस्था छ। किन हो सरकारले अहिलेसम्म नाम चयन गर्न सकेको छैन। शैक्षिक शत्र डामाडोल भएको छ,' उनले भनिन्,' सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण होस्।'