चर्चमा भागदौड : २० जनाको मृत्यु
चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तिमा २० जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
जिल्ला आयुक्त किप्पी वारीओबाले मोशी शहरमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने खतरा रहेको जानकारी दिए । उनका अनुसार घटना शनिबार दिउँसो भएको हो ।
'घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, अरू केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने देखिएको छ,' उनले भने ।
शनिबारीय साप्ताहिक प्रार्थनाका लागि भेला भएकाको एकाएक भागदौड हुँदा च्यापिएर मृत्यु भएको वारीओबाले जानकारी दिए ।
तान्जानियाका मन्त्रीसमेत रहेका चर्चित पादरी बोनिफाक म्वाम्पोसाले प्रार्थनाको नेतृत्व गरेका थिए । उनी आफूलाई ‘ईश्वर दूत’का रुपमा व्याख्या गरिरहेका बेला भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।