माटोसँग कृष्णकुमारको ५० वर्षे साइनो (भिडियो)
भक्तपुर : भक्तपुर मध्यपुर थिमीका कृष्णकुमार प्रजापति उमेरले ६१ पुगे। पुर्खौली थलो डिदु टोलमा उनले पुर्खौली पेसा नै अँगालेका छन्। उनले माटोको भाडा बनाउने पेसा अँगालिरहेका हुन्।
गिलो माटोलाई प्रयोग गर्न मिल्ने भाँडो बनाउन थाल्दा कृष्णकुमारको उमेर कलिलै थियो। ११ वर्षीया हुँदादेखि नै उनले माटोसँग कामको साइनो गाँसेका हुन्। उनले यो पेशाको सुरुवात २०२६ सालदेखि गरेका हुन्।
कालो कपाल सेतो भइसकेको छ। तर, उनको काम रोकिएको छैन। कति माटो पकाए र कति भाँडा बनाए त्यो संख्या थाहा छैन। तर, गिलो माटो मुछ्दा र माटो पोल्दापोल्दै उनको उमेर पनि पाकिसकेको छ। उमेर जति पाके पनि उनले माटो पोल्न भने छोडेका छैनन्।
पहिले कृष्णकुमार तिहारमा बाल्ने दियोदेखि जाँड राख्ने घ्याम्पोसम्म बनाउँथे। अहिले घ्याम्पोलाई रबरको भाँडोले प्रतिस्थापन गरेको छ। घ्याम्पो जस्तै अरू भाँडा पनि आधुनिक भाँडाले प्रतिस्थापन गरिसकेका छन्।
‘अहिले खाना पकाउने कसौडी, गाग्रो पनि हटिसक्यो,’ उनले भने, ‘अहिले अलिअलि हाँडी र अलि धेरै फूलको गमला जान्छ।’ त्यसैले अहिले पहिले जस्तो धेरै थरिका भाँडा बनाउँदैनन्। विशेषगरी फूल रोप्ने गमला मात्र बनाउँछन्। उनलाई गमला बनाउन चार जनाले सहयोग गर्छन्। ती सबै उनका परिवारका सदस्य हुन्।
परिवारका १५ मध्ये पाँचजना यही पेसामा छन्। कोही सानै छन्। ती स्कुल जान्छन्। गमलाको व्यापारले १५ जनाको परिवारको छाक टरेको छ भने केटाकेटीको पढाई खर्च पुगेको छ। ‘कमाई त त्यै, खाने पिउने र केटाकेटीको पढाई खर्च पुग्या छ’, उनले भने।
गमलाको मूल्य त्यसको ‘साइज’अनुसार हुन्छ। कुनै ठूला हुन्छन्, कुनै साना। इन्चमा नापेर ठूलो सानो गमलाको मूल्य निर्धारण हुन्छ। कृष्णकुमारलाई बजारको भने त्यति धेरै चिन्ता छैन। उनले बनाएका भाँडा ‘कन्ट्याक्ट’मा घरमै लिन आउँछन्। हरेक महिना उत्पादन भएका दुईदेखि तीन हजार हाँडी र गमलाको भाँडा किन्न घरमै आउँछन्। पछिल्लो समय उनले हिटरको चुह्लोसमेत बनाउन थालेका छन्।
आधुनिकतासँगै माटोको भाँडा प्रयोग गर्ने घटे पनि कृष्णकुमारले पुर्खौली पेसा छाडेका छैनन्। आधुनिकतामा उनी मौलिकताको स्वाद पस्किरहेका छन्। तर उनलाई पुर्खौली पेसाले आधुनिकतासँग प्रतिस्पर्धा गर्न नसक्नेमा भने चिन्तित छन्। तैपनि नयाँ कदम चाल्न सकेका छैनन्। भिडियो : विकास कार्की