पाका चिनियाँ प्रेमको खोजीमा पार्कतिर

पाका चिनियाँ प्रेमको खोजीमा पार्कतिर

तीन दशकको आर्थिक विकास र सामाजिक परिवर्तनले चिनियाँ वरिष्ठ नागरिकमा प्रेम र यौनप्रतिको धारणा पनि बदलिदिएका छन्। देशका पाका तर एक्ला व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ। उनीहरू प्रेमको खोजीमा सार्वजनिक पार्कमा भौँतारिरहेका छन्। 


सुई ली वी

झाओ लिनलाई एक्लो जीवन बाँच्ने बानी परिसकेको थियो। वर्षौंदेखि उनी एक्लै थिए। तर, जतिजति उमेर बढ्दै गयो, उनका दिन र रात उति नै असह्य बन्दै गए। उनले निर्णय गरे– साथी खोज्ने बेला यही हो। 

त्यसैले ७८ वर्षीय झाओ पार्क पुगे। 

‘एक वर्षयता म प्रेमको खोजी गरिरहेको थिएँ,’ झाओले भने। उनीसहित दर्जनौँ अन्य वृद्धवृद्धा त्यहाँ टहलिइरहेका थिए। चीनका अनेकौँ सार्वजनिक पार्कमा यस्तै दृश्य हुन्छन्। तर, साथी भेट्ने सम्भावना अत्यन्त न्यून रहेको झाओ स्विकार्छन्। ‘प्रायः एक पटक बात मारेपछि कुरा सिद्धिन्छ,’ सन् १९७१ देखि एकल जीवन बिताइरहेका उनी पश्चात्तापपूर्ण स्वरमा भन्छन्, ‘दोस्रो मौका कहिल्यै नआउने रहेछ। तिनले मन दुःखाइदिन्छन्। त्यसपछि कुनै आशा रहँदैन। आखिर यहाँ आउनुको पनि के अर्थ रह्यो र !’

तीन दशकसम्मको आर्थिक विकास र सामाजिक परिवर्तनले चिनियाँ वरिष्ठ नागरिकमा प्रेम र यौनप्रतिको धारणा पनि बदलिदिएका छन्। देशका पाका तर एक्ला व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ। जसले गर्दा उनीहरू ‘बजार’मा उत्रिन थालेका छन्। चिनियाँ सञ्चारमाध्यममा प्रेमको यो रूपलाई ‘गोधूलि प्रेम’ नाम दिइएको छ। चिनियाँ डेटिङ सोहरूमा बुढेसकालले छोइसकेका प्रतिस्पर्धीहरू बारम्बार देखिने गर्छन्। त्यस्ता सोका नाम नै ‘सुन्दर फूल’, ‘उत्साहित पुराना साथी’ र ‘हातेमालो गर्दै’ जस्ता छन्। पाका एक्ला व्यक्तिका लागि अनलाइन च्याटरुम मौलाएका छन्।

तर, यी कुनै पनि स्थानको आकर्षण स्थानीय पार्कको जस्तो हुँदैन। बेइजिङका बूढाबूढीको रोजाइमा चाङपुहे र टेम्पल अफ हेभेन पर्ने गर्छन्। दक्षिण पश्चिमी शहर चङकिङको होङ्यादोङ पार्कमा त ‘जोडी बाँध्ने कुनो’ नै छुट्याइएको छ। उत्तरी शहर सियानमा रिभोलुसन पार्कमा हरेक बुधबार र शनिबार एकल बूढाबूढी भेला हुने गर्छन्। 

‘मेरा अमेरिकी सहकर्मीहरू चीन गइरहन्छन्,’ न्युयोर्क युनिभर्सिटीस्थित ग्लोबल हेल्थ एन्ड एजिङ रिसर्चका निर्देशक डा. बेई वू भन्छन्, ‘त्यहाँको पार्कमा त्यति धेरै मानिस सामाजिकीकरणमा सहभागी भएको देखेर उनीहरू छक्क पर्छन्।’ उनी चिनियाँ पाका व्यक्तिबारे विगत ३० वर्षदेखि अध्ययन गरिरहेका छन्। 

‘पार्कमा भेला हुनु, एकअर्कासँग गफगाफ र समय कटनी गर्नु उमेर समूहबीच सम्बन्ध बढाउने व्यावहारिक तरिका हो,’ डा. वू भन्छन्, ‘पार्क भनेको त्यस्तो स्थान हो, जहाँ गएर तपाईं सफल ब्लाइन्ड डेटको मौका बढाउन सक्नुहुन्छ।’

यस्तो हुनुको एउटै कारण हो– जनसंख्याको बनोट। 

चीनको जनसंख्या निरन्तर बूढो हुँदै गएको छ। जनसंख्या बूढो हुनुको अर्थ हो, मानिसहरू आफ्ना पति वा पत्नीभन्दा धेरै बाँचिरहेका छन्। अर्थात्, ‘विधवा’ र ‘विधुर’हरूको संख्या चीनमा बढिरहेको छ। चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले गरेको एक अध्ययनअनुसार चीनमा हाल ४ करोड ८० लाखभन्दा बढी  विधवा र विधुर छन्। सन् २०५० सम्ममा यो संख्या बढेर १२ करोडको हाराहारी पुग्ने अनुमान छ। 

एकेडेमीको एउटा सर्वेक्षणलाई उद्धृत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक मुखपत्र ‘पिपुल्स डेली’ले जनाएअनुसार पाँचमध्ये चार विधवा-विधुर पुनः विवाह गर्न चाहन्छन्। त्यस्तै, विवाहितमध्ये ठूलो संख्या आफ्ना पति÷पत्नीलाई छोड्न चाहन्छन्। बेइजिङमा सम्बन्ध विच्छेदका लागि परेका निवेदनमध्ये एकतिहाइ ६० देखि ७० वर्षबीचका मानिसले दिएको ‘बेइजिङ इभिनिङ न्युज’ले जनाएको छ। 

एकल वृद्धवृद्धाको संख्या बढिरहँदा त्यसले चीनको जनस्वास्थ्यमा पनि नकारात्मक असर पारिरहेको छ। वृद्धहरूमा एचआईभीको संक्रमण बढेको छ। किनभने, चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार त्यस्ता धेरैले असुरक्षित यौन सम्पर्क गर्ने गर्छन्। सन् २०१२ यता ६० वर्ष र सोभन्दा माथिका चिनियाँमा एचआईभी संक्रमण तीन गुणाले बढेको छ। गत अक्टोबरमा मात्रै केन्द्रीय सरकारले वृद्धहरूलाई एड्स रोकथामसम्बन्धी शिक्षा दिन अलग्गै नीति सार्वजनिक गरेको थियो। 

चीनका वृद्धहरूमा यौनसम्बन्धी ज्ञान कम हुनु स्वाभाविक हो। किनभने, जब उनीहरू जवान थिए, त्यसबेला यौनबारे कुरा गर्नु वर्जित थियो। मानिसहरूले आफ्नो जोडी या त साथीमार्फत या लमीमार्फत फेला पारेका थिए। डेटिङको त तिनले नामै सुनेका थिएनन्।

यी सबै कारणले अझै पनि चीनका पार्कहरूमा अनौठा दृश्य हुने गर्छन्। हालैको एक महिना मंगलबारको दिन बेइजिङस्थित फर्बिडेन सिटीनजिकै रहेको चाङपुहेमा वृद्ध पुरुषहरू एक ठाउँ भेला भएर बसिरहेका देखिन्थे। उनीहरू पार्कमा डुलिरहेका महिला तथा पुरुषलाई नियालिरहेका थिए, मानौँ, उनीहरू ती मानिससँग कुरा गर्न हिचकिचाइरहेका थिए। तीमध्ये कतिपय व्यक्ति कहिले यता र कहिले उता जान्थे। कुनै महिलासँग आँखा जुधाउने अवसरको खोजीमा थिए उनीहरू। 

एक वृद्ध पुरुष बैजनी ज्याकेट लगाएकी एक महिलाको नजिकै गएर बसे। केही मिनेटसम्म उनीहरूबीच कुनै कुराकानी भएन। त्यसपछि ती पुरुषले अलिकति झुकेर महिलालाई सोधे, ‘उमेर कति हो नि ?’

‘बहत्तर,’ महिलाले नरम आवाजमा उत्तर दिइन्। केही मिनेटपछि हेर्दा उनीहरू बात मार्न मग्न देखिन्थे। 

जोडी खोज्नु सजिलो छैन। अझ चीनमा त यो झनै गाह्रो काम हो। किनभने, आकर्षक जोडी बन्न चीनमा केही यस्ता मापदण्ड छन्, जुन चीनमा मात्रै पाइन्छन्। उदाहरणका लागि, पेन्सन र स्वास्थ्य बिमाले व्यक्तिको आकर्षण बढाउन सक्छ। यहाँ क्यान्सर लाग्नु भनेको टाट पल्टिनु हो। सम्बन्ध विच्छेद गरेकाभन्दा विधवा–विधुरहरू बढी आकर्षक मानिन्छन्। किन ? किनभने, तिनीहरूसँग अघिल्लो सम्बन्धको भावनात्मक बोझ कम हुने गर्छ। 

‘जीवनसाथीको खोजीमा’– पार्कमा एउटा रूखमुनि ढुंगाले थिचेर राखिएका एउटा खुम्चिएको खैरो कागजमा लेखिएको थियो। त्यहाँ यस्ता अनेकौँ विज्ञापन राखिएका थिए। 

‘पुरुष, जन्म–१९४९। सम्बन्ध विच्छेद गरेको। कुनै जिम्मेवारी छैन।’

यो विज्ञापन लेखेका थिए लीले। उनी पत्नीको खोजीमा थिए, जो उनका अनुसार करिब ५ फुट अग्ली, ५० देखि ६० वर्षबीच उमेरकी र ५९ देखि ६८ किलोबीचको तौल भएकी हुनुपथ्र्यो। अर्को पनि मापदण्ड उनले तोकेका थिए, उनकी भावी पत्नीको छालामा कुनै दाग हुनु हुँदैन। ‘कालो कोठी नभएको हुनुपर्छ,’ रूखमुनि राखिएको विज्ञापनमा लेखिएको थियो। यसको सट्टामा ली ११ सय वर्ग फुटको आफ्नो अपार्टमेन्ट ती महिलाको नाममा गरिदिन तयार थिए, जो ‘मेरो जीवनको अन्त्यसम्म मलाई साथ दिने इच्छा राख्छिन्।’

अर्का पुरुषले राखेको विज्ञापन झनै रोचक थियो। उनले आफ्नी भावी पत्नीलाई दक्षिणपूर्वी चीन, अमेरिका र जापानमा समेत घरजग्गा किनिदिने र जिन्दगीभरि नयाँ–नयाँ ठाउँ घुमाउने वाचा गरेका थिए। 

गुआन योङनियन ८२ वर्ष पुगे। उनको सम्बन्ध विच्छेद भएको थियो। तर, उनी आफूलाई आकर्षक बेहुलो ठान्छन्। उनी स्वस्थ र सफल छन्। हस्तलिपिका विज्ञ उनी लेखक हुन्। साथसाथै, चीनमा लोकप्रिय मार्सल आट्र्सकै एक भेद ताई चीका गुरु पनि हुन्। उनी विगत ३० वर्षमा साथीहरूले उनीसँग अनेकौँ महिलाको परिचय गराउन खोजेको सुनाउँछन्। उनले २० नाघेपछि बिहे गरेका थिए। उनका दुई छोरी ५० कटेका छन् भने ६० पुगेका एक छोरा छन्। 

गुआनकी भावी पत्नीको मापदण्डको सूची निकै लामो छ। उनी ४० हाराहारीको हुनुपर्छ– हो, उनीभन्दा आधा उमेरकी। उनी स्वच्छ, चतुर, क्षमतावान् र विवेकशील हुनुपर्छ। अरू आवश्यकता ? यदि सक्छिन् भने उनले गुआनका लागि ‘आध्यात्मिक शान्ति र खुशी पनि ल्याउनुपर्छ।’ तर, त्यस्ती पत्नी फेला पार्ने गुआनको आश मरिसक्यो। ‘आजभोलि थुप्रै मान्छे स्वच्छ छैनन्,’ उनले नाक खुम्च्याए, ‘लुगा पनि राम्ररी लाउन जान्दैनन्। लालित्य र शिष्टतामा भिजेका हुँदैनन्। उनीहरूको शीलस्वभाव पनि हुँदैन।’ झण्डै एक घण्टा पार्कमा बसेर उनले भीडलाई आँखाले छिचोले। सबै नियालिसकेपछि कसैसँग पनि कुरा सुरु गर्ने योजना उनले बनाएनन्। ‘मेरो एउटा समस्या छ, जब तपाईं मलाई बोलाउनुहुन्छ, म तपाईंसँग बोल्दिनँ,’ खैरो ट्रेन्च कोट लगाएका गुआनले भने, ‘म अलि बांगोटेढो मान्छे छु। तपाईंले मेरो पिछा गर्नुपर्ने हुन्छ।’

गुलाबी लिपस्टिक लगाएर पहेँलो कोटमा सजिएकी महिला गुआनको अगाडि आइपुगिन्। उनको अन्तर्वार्ता लिँदै गरेको देखिएपछि उत्सुकतापूर्वक त्यहाँ रोकिइन्। 

‘तपाईं कति वर्ष पुग्नुभयो ? ५० माथि कि ६० माथि ?’ गुआनले सोधे।

‘६० माथि,’ उनले हाँस्दै उत्तर दिइन्।

‘देख्नुभो त !’ गुआन चम्किए, ‘मेरो अनुमान मिल्यो नि।’ 

ती महिलाको नाम थियो, हान सुपिङ। उनी ६२ वर्षकी थिइन्। सम्बन्ध विच्छेद गरेकी उनी दुई वर्षदेखि चाङपुहे धाइरहेकी छिन्। एक पुरुषले उनको कपालको गुच्छा हातमा लिए। तर, उनले तत्काल कुहिनाले हिर्काएर त्यो मान्छेलाई भगाइन्। ‘यहाँ आउनेमध्ये धेरैको चरित्र खराबै हुन्छ,’ हान भन्छिन्, ‘यी बूढा मान्छेहरू पहिले खाना खाने निम्तो दिन्छन्। उनीहरूको घरमा निम्त्याउँछन् र ओछ्यानमा लैजान खोज्छन्।’ चीनको मध्य भागमा रहेको हेनान प्रान्तबाट आएकी हान आफूलाई मन पराउनेलाई सीधासाधा जवाफ दिन्छिन्, ‘म गाउँबाट आएकी हुँ र मेरो कुनै पेन्सन छैन।’ आफूले जोडी फेला पार्ने सम्भावनाप्रति उनी निराशावादी छिन्। ‘म त्यस्तो मान्छे खोजिरहेकी छु, जोसँग कुराकानी गर्न सकूँ र प्रेमको भावना विकसित गर्न सकूँ,’ उनी भन्छिन्, ‘यो उमेरमा आएर एकै नजरमा माया बस्न सम्भव छैन। यहाँ आफूले चाहेजस्तो मान्छे फेला पार्न मुश्किल छ। असल मान्छे एकदमै कम छन्, ती पनि भीडमा लुकेका हुन्छन्।’

उनको कुरामा ७८ वर्षीय विधुर झाओ पनि सहमत छन्। कतिपय महिलाको ठाडै माग राख्ने चाला देखेर उनी वाक्क छन्। ‘उनीहरू घर, कार र पैसा चाहन्छन्,’ झाओ भन्छन्। अग्ला, चश्मा लगाएका र स्टाइलिस कपडामा सजिएका छन् उनी। ‘उनीरु सोझै सम्पत्ति मेरो नाममा गरिदेऊ भन्छन्,’ उनी भन्छन्, ‘उनीहरूको पहिलो कुरै त्यही हुन्छ। कति डरलाग्दो !’ तैपनि, उनी एक्लोपनबाट मुक्त हुन एक जीवनसंगीको खोजमा पार्क धाइरहन्छन्। ‘यो एक्लोपन खप्न साह्रै गाह्रो हुने रहेछ,’ झाओ भन्छन्। 

झाओले ‘मानव जीवनका तीन खजाना’बारे कुरा गरे। ‘तपाईं चिसो हुनुभयो कि तातै हुनुहुन्छ, दुःखमा हुनुहुन्छ कि निराशामा, यो थाहा पाउन कोही न कोही साथमा हुनुपर्छ,’ उनी भन्छन्, ‘यदि तपाईंले यी तीन ठूला खजानाको अनुभव लिन पाउनुभएको छैन भने तपाईंले जीवन बुझ्न सक्नुहुन्न। परमानन्द के हो, पीडा के हो कसरी बुझ्नुहुन्छ ?’

‘मलाई अहिले यही महसुस भइरहेको छ,’ झाओले भने, ‘तर, पहिले मलाई यस्तो लाग्दैनथ्यो।’

(वी ‘द न्युयोर्क टाइम्स’को बेइजिङ ब्युरोकी संवाददाता हुन्। अन्नपूर्ण सम्पूर्णका लागि (https://sampurnaweekly.com/news/2911) कवि आचार्यबाट अनुदित) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.