पाकिस्तानमा सलहले संकटकाल
इस्लामाबाद : पाकिस्तान सरकारले सलह कीराको आक्रमणका कारण पञ्जाब प्रान्तमा संकटकाल घोषणा गरेका छ । अत्यधिक मात्रामा बाली सखाप भएपछि संकटकाल लगाउनुपरेको सरकारले जनाएको छ ।
सलहले पाकिस्तानकै प्रमुख कृषि उब्जनी हुने राज्य पञ्जाबमा बालीनाली सखाप पारेपछि प्रधानमन्त्री इमरान खानले आपत्कालीन बैठकलगत्तै शनिवार उक्त निर्णय गरेका थिए । यो दशककै सबैभन्दा विनाशकारी आक्रमण भएको सरकारले जनाएको छ । ठूलो क्षति भएकाले सरकारले पञ्जाबका ७ अर्ब ३० करोड रुपैयाँ लाग्ने भएको छ ।
बैठकमा संघीय मन्त्री र चारवटै प्रान्तका वरिष्ठ अधिकारी सहभागी थिए । राष्ट्रिय खाद्य सुरक्षामन्त्री खुसरो बख्तियारले संसद्मा सलहको आक्रमण भयावह भएको जानकारी दिए । उनले संकटबाट छुटकारा पाउन संघीय एवं प्रान्तीय सरकारलाई सहयोगमा जुट्न आग्रह गरेका छन् ।
बैठकमा प्रधानमन्त्री खानका आर्थिक सल्लाहकार हाफिज शेख पनि उपस्थित थिए । खानले सलहलाई नाश गर्न संघीय स्तरमा निर्णय दिन सुरक्षामन्त्री बख्तियारको नेतृत्वमा समिति गठन गरेका छन् । खानले तयार भएको बालीको नोक्सानीको जानकारी लिई तत्काल सहयोग गर्न निर्देशन दिएका छन् । खानले भने, ‘खेत एवं किसानको संरक्षण गर्नु सरकारको उच्च प्राथमिक काम हो ।
यसैले संघीय सरकारले फसल बचाउन जस्तोसुकै कदम उठाउन पनि आदेश दिएको छ । मन्त्री बख्तियारले सिन्ध र पञ्जाबमा आउने गरेको सलह योपटक खैबर पख्तूनख्वामा समेत पुगेको जानकारी दिएका छन् ।