मिनी संसदमा ‘एमसीसी’ बहस
काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बहस मिनी संसद् अर्थात् संसदीय समितिमा पनि सुरु भएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतबार सांसदहरूले एमसीसीको विषयमा चर्चा गरेका हुन्।
नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिन बोलाइएको बैठकमा समितिका सदस्य सांसदले एमसीसीका विषयमा आफ्नो धारणा व्यक्त गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले समिति बैठकमा एमसीसी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको प्रष्ट पारे। उनले सो स्ट्राटेजीको रिपोर्ट र त्यसपछि बाहिरिएका श्रृंखलाहरू अध्ययन गर्नसमेत सबैलाई सुझाव दिए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट मन्त्री तथा नेताहरूले एमसीसी र इन्डो–प्यासेफिक स्ट्राटेजीबीच कुनै सम्बन्ध नभएको बताइरहेका छन्।
‘केही व्यक्तिले एमसीसीमाथि उठेका चर्चालाई प्रतिष्ठाको विषय बनाइरहेका छन्, यसमा राष्ट्रिय हित र स्वार्थभन्दा निजी धारणालाई राख्ने गरेको मैले पाएको छु,’ रावलले भने, ‘यस्ता क्रियाकलापबाट मुक्त भएर राष्ट्रिय दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ।’ चीन, रुस र कोरियाविरुद्ध संघर्ष गर्न इन्डो प्यासिफिक स्ट्राटेजी ल्याइएको यसबारे नेपालले गहन अध्ययन गर्नुपर्नेउनको भनाइ छ। एमसीसी इन्डो प्यासेफिक रणनीतिको अंग होइन भन्नेहरूले अमेरिकाले जारी गरेको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट ४ नोभेम्बर २०१९, त्यसअघिको २०१७ र त्यसपछिका अन्य सिरिजको अध्ययन उनले आग्रह गरे।
इन्डो प्यासिफिकको रिपोर्टमा स्पष्ट शब्दमा कुनै ‘इफ’ ‘बट’ को माध्यमबाट शंका नहुने गरी एमसीसी भनेको इन्डोप्यासेफिक स्ट्राटेजीको अंग हो भनेर लेखिएको समेत उनले प्रष्ट पारे। ‘इन्डो प्यासिफिक स्ट्राटेजी भनेको चीन, रुस र कोरियाको विरुद्धमा संघर्ष गर्न ल्याइएको हो भन्ने कुरा निर्विवाद छ’, सांसद रावलले थपे, ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एमसीसीको बारेमा छलफल गरोस्।’ नेकपाकै सांसद सुदन किराँतीले पनि एमसीसीका विषयमा नेपालले गम्भीर अनुसन्धान गर्नुपर्ने बताए। यो विषयमा अहिले नै हतारो गरिहाल्न नहुले उनले प्रष्ट पारे।
‘मैले एमसीसी सही हो पनि भनेको छैन, एमसीसी गलत हो पनि भनेको छैन, यो विषयमा गम्भीर अनुसन्धान गर्नुपर्छ भनेको छु’, उनले भने, ‘सबैभन्दा पहिले जनतालाई ठोस जवाफ दिनुपर्यो के कारण यो राष्ट्र हितमा छ र के कारणले हितमा छैन भनेर यसका लागि एउटा विज्ञ समूह बनाएर अध्ययन अनुसन्धान गर्नुपर्छ।’ सांसद किराँतीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामासमेत मागेका छन्। एमसीसी विवादका विषयमा बाँस्कोटाले दिएको अभिव्यक्तिलाई लिएर उनले राजीनामा मागेका हुन्।
बास्कोटाले बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा एमसीसीको विषयमा धेरै भ्रम फैलाइएको भन्दै संसदबाट पारित हुने प्रष्ट पारेका थिए। उनले सैन्य गठबन्धन नमान्ने भन्दै अमेरिकी शक्तिको कुरा प्रसंग उकासेका थिए। ‘अन्तरमहादेशीय क्षेप्यास्त्र शक्ति भएको अमेरिकाले संसारको एउटा कुनामा ल्याइएर क्याम्प राख्नुपर्छ ? अस्ति देख्नुभएन इरानको कसलाई हानेको ? गलत हल्ला चलाएर हुन्छ ? ’, मन्त्री बाँस्कोटाले भनेका थिए, ‘अमेरिकाले सेना ल्याएर राख्छ भन्नेसम्मका भ्रम फैलाइयो, हामी कुनै सैन्य गठबन्धन स्वीकार गर्दैनौं।’
बाँस्कोटाको यो अभिव्यक्ति आत्मसमर्पणवादी भएको भन्दै सांसद किराँतीले आपत्ति जनाए। सभामुख सापकोटाले देशभक्ति र सदाचारमा सम्झौता नगर्ने प्रतिवद्धता समिति समक्ष गरे। ‘संसद्को विकास, विस्तार र सुदृढीकरण गरेर नै यसको प्रभावकारिता कायम गरिनेछ, लोकतन्त्रको सुदृढीकरण गर्न संसद्को प्रभावकारिता बढाउने मेरो लक्ष्य छ’, उनले भने, ‘देशभक्ति र सदाचारमा म सम्झौता गर्ने छैन, यी दुईवटा कुरा मेरो जिन्दगीका सबैभन्दा मुख्य कुरा हुन्।’