बैंकमा सुन निक्षेप राख्ने व्यवस्था : क्यारेट मिटर खरिद गर्ने तयारी
काठमाडौं : सुनचाँदीलगायत बहुमूल्य धातु बैंकमा निक्षेपका रूपमा राख्न मिल्ने व्यवस्था गर्ने निर्देशिका अन्तिम चरणमा पुगेको छ। निर्देशिका तर्जुमा गर्न नेपाल राष्ट्र बैंकले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनले सुनको शुद्धता मापन गर्ने मेसिन (क्यारेट मिटर) खरिद गर्न सुझाएको छ।
गत मंसिर २९ मा बसेको उच्चस्तरीय व्यवस्थापन समूह (एसएमटी)को बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्र बैंकले मेसिन नै खरिद गरेर सुनचाँदी निक्षेप राख्ने कार्यक्रम सुरु गर्न सुझाव दिएका थिए। सर्वसाधारणको घर–घरमा थन्किएर बसेको सुनका गरगहनालाई बैंकमा निक्षेपकै रूपमा ल्याउँदा तरलता बढाउन सक्ने अपेक्षाअनुसार सरकारले बजेटमार्फत यो योजना ल्याएको थियो। तर मध्यावधिमा आइपुग्दा पनि सुन निक्षेपमा राख्ने योजना कार्यान्वयन हुन सकेको छैन।
राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार यो प्रतिवेदन अहिले छलफलकै क्रममा छ। अधिकतम दुई साताभित्र निर्देशिका जारी गर्ने तयारीमा रहेको उनले बताए। उनले भने, ‘कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। अब हामी छलफल गरिरहेका छौं।’
निक्षेपका रूपमा प्रयोग हुने सुनको शुद्धता र त्यसको मूल्यांकन गरी प्रमाणपत्र जारी गर्ने प्रक्रियाका विषयमा छलफल चलिरहेको ढकालले बताए। नेपालमा अहिले सुन धितो राखी ऋण लिने तथा बैंकको लकरमा हिफाजतको लागि राख्ने गरिन्छ। तर नोटकै रूपमा सुनलाई व्यवहार कसरी गर्न सकिन्छ भनेर बहस भइरहेको छ।
नेपालमा वाणिज्य बैंकले मात्रै सीमित ढिक्के सुन ल्याउन पाउँछन्। एकपटकमा ढिक्के सुन २० किलोसम्म ल्याउन पाइन्छ। व्यक्तिगतरूपमा काँचो सुनलाई सम्पत्तिका रूपमा आर्जन नगरी गरगहना मात्रै प्रयोग भइरहेका छन्। यस्तोमा सुन निक्षेप राख्न पाउने व्यवस्था कार्यान्वयन चुनौतीपूर्ण देखिने सुनचाँदी व्यवसायी बताउँछन्। सरकारले व्यवसायी तथा सर्वसाधारणका हकमा सम्पत्तिका रूपमा काँचो सुन आर्जन गर्न दिने व्यवस्था नगरेसम्म यो व्यवस्था लागू हुन नसक्ने सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मानिकरत्न शाक्यले बताए। उनले भने, ‘गोल्डबार, ढिक्के सुन र काँचो सुन ल्याउन मिल्ने व्यवस्था छैन। सर्वसाधारणको सुन गहनामै केन्द्रित छन्। यसका लागि गहनामा रहेको सुन पगालेर राख्ने कुरा आउँदैन।’
नेपालमा उच्च आय हुने वर्गको संख्या सीमित रहेकाले सुनलाई निक्षेपमा जम्मा गर्नसक्ने व्यक्तिको संख्या निकै कम रहेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए। उनले भने, ‘खाना, नाना र अरु आधारभूत आवश्यकता पूरा गरेर पैसा बचेको खण्डमा मात्रै सम्पत्ति जोहो गर्ने चलन छ। त्यस्तै विवाह, पर्वमा बाहेक अन्य समयमा सुनको बचत गर्ने परम्परा कम भएकाले यो व्यवस्था प्रभावकारी हुनेमा शंका नै छ।’
छिमेकी मुलुक भारतमा यो व्यवस्था लागू गरिसकेको छ। यद्यपि, अपेक्षित काम गर्न सकेको अवस्था छैन। सम्पत्तिका रूपमा आर्जन हुने सुन र चाँदीलगायत बहुमूल्य धातु बैंंकमा निक्षेपका रूपमा कसरी डिपोजिट गर्न सकिन्छ भनेर व्यवसायीसँग छलफल गर्ने तयारीमा रहेको कार्यकारी निर्देशक ढकालले बताए।
उनले भने, ‘सुनलाई नोट जसरी निक्षेप राख्ने विषय जटिल नै छ। अहिले हजारको नोट डिपोजिट गर्नुभयो भने उही नोट तपाईंले फिर्ता पाउनुहुन्न। तर सुनको गरगहनाको हकमा फरक गरगहना फिर्ता दिने कुरा आउँदैन।’
निर्देशिका जारी भए पनि सुन निक्षेप राख्ने व्यवस्था तत्काल कार्यान्वयनमा आउने सम्भावना न्यून देखिएको छ।