भैंसीपालनमा आकर्षण घट्यो
बैतडी : बैतडी सुर्नया ६ का डम्मरदत्त अवस्थी उमेरले ९० वर्ष नाघिसके। आफ्नो युवा अवस्था सम्झँदै उनी विगतमा भैंसी पालेर घरपरिवार चलाएको कुरा बिर्सिन सक्तैनन्। लेकमा गोठ बनाएर १५, २० वटा पाल्ने डम्मरको परिवारसँग अहिले मुस्किलले एउटा भैंसी छ।
‘चरिचरनका लागि प्रशस्त ठाउँ थियो। स्थानीय जातको गड्डी भैंसी पाल्ने गथ्र्यौं। तर, अहिले धेरैले भैंसी पाल्न छोडिसकेका छन्’, उनले भने, ‘भैंसीपालन व्यवसायबाटै हामीले घरपरिवार चलाउने गरेका थियौं। हिजोआज धेरैले भैंसीपालन व्यवसाय छोडिसकेका छन्।’
सुर्नया ६कै गोपालदत्त अवस्थीलाई पनि भैंसीपालन व्यवसायबाट घरपरिवार धानेको अनुभव छ। तर, पछिल्लो समय सबैले भैंसी पाल्न छोडेपछि उनले पनि भैंसीपालन व्यवसायलाई बिट मारेका छन्। उनले भने, ‘भैंसीपालन व्यवसाय फस्टाउन पनि सकेन। पहिला चरन क्षेत्र पनि थियो। अहिले चरन क्षेत्र कम हुँदै गएको छ। यसले भैंसीपालन व्यवसाय गर्न कठिन छ।’
सानो छँदा भैंसीको गोठालो भएर दिन बिताएका सुर्नया ६ का नन्दराम अवस्थी पनि पछिल्लो समय भैंसीपालनतर्फ किसानको आकर्षण घट्दै गएको बताउँछन्। उनले भने, ‘अहिले भैंसीपालन व्यवसाय गर्ने किसान छैनन्। पहिला एकै घरमा १५, २० भैंसी पाल्ने चलन थियो। भैंसीको घीउ बेचेर गुजरा गर्ने गरिन्थ्यो।’
घीउ बेचेरै चाडपर्व मनाइने गरेको भए पनि पछिल्लो समय आम्दानीका अन्य श्रोतमा मानिसको ध्यान जान थालेको सुर्नया ५ का कर्णबहादुर बिष्टले बताए। उनले भने, ‘विभिन्न खालका रोग लागेर भैंसी मर्न थाले। मानिसले धेरै परि श्रम गर्नुपर्ने भएकाले पनि भैंसीपालन व्यवसायमा मानिसको आकर्षण घट्दै गएको हो।’
मासुका लागि बिक्री हुँदै
पछिल्लो समय बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाबाट भैंसी मासुका लागि बिक्री हुने गरेका छन्। थारा भैंसीको समेत राम्रो मूल्य पाउन थालेपछि किसानले भैंसी पाल्न छाडेर बेच्ने गरेको दशरथचन्द नगरपालिका १ का रामदत्त भट्टले बताए। उनले भने, ‘थारा भैंसीको राम्रो मूल्य पाइने भएपछि किसानले भैंसी बेच्ने गरेका छन्। पहाडका भैंसी मासुका लागि तराईमा बिक्री हुन थालेपछि पहाडमा भैंसी पाउन मुस्किल भएको छ।’
व्यापारीले गाउँगाउँमा पुगेर भैंसी किन्ने गरेको डिलाशैनी ६ का रामसिंह मालले बताए। उनले भने, ‘भैंसीपालनका लागि धेरै मिहिनेत आवश्यक पर्छ। हिजोआज मानिस भैंसी पाल्न रुचाउँदैनन्। गाउँगाउँमा पुगेका दलालले भैंसी किन्ने गरेका छन्।’
दलालले गाउँगाउँ पुगेर भैंसी किन्ने गरेकाले भैंसीपालन व्यवसाय संकटमा परेको किसान मोहनबहादुर बिष्टले बताए। उनले भने, ‘भैंसीपालन व्यवसायका लागि सरकारबाट पनि खासै पहल हुन सकेको छैन। रोग नियन्त्रणमा सरोकारवाला निकायको ध्यान नजाँदा समस्या भएको छ।’
भैंसीपालन व्यवसाय छोडेसँगै पहाडी जिल्लामा पाइने गड्डी भैंसी लोप हुने अवस्थामा पुगेको छ। ठूला सिङ भएका भैंसी गाउँमा पाइन मुस्किल हुने गरेको स्थानीय हरिना अवस्थीले बताइन्। उनले भनिन्, ‘स्थानीय जातका गडड्ी भैंसी अचेल पाउन मुस्किल छ। गाउँमा रैथाने जातका भैंसी हराएका छन्।’
स्थानीय तहको योजना
पछिल्लो समय भैंसीपालन व्यवसाय संकटमा परेपछि जिल्लाका विभिन्न स्थानीय तहले भैंसीपालन व्यवसायलाई बढावा दिने खालका योजना बनाएका छन्। जिल्लाको सुर्नया गाउँपालिकाले वडा नम्बर ८ लाई पशुपालनका लागि पकेट क्षेत्र घोषणा गरेर भैंसीपालन व्यवसायलाई बढावा दिने बताएको छ।
वडाका धेरै किसान भैंसीपालन व्यवसायमा रहेकाले उनीहरूलाई व्यावसायिक बनाउन अनुदान दिने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर बिष्टले जानकारी दिए। उनले भने, ‘वडा नं ८ मा चरनका लागि पनि ठाउँ भएकाले भैंसीपालनका लागि पकेट क्षेत्र बनाएका छौं। किसानलाई भैंसीपालन व्यवसायमा आकर्षित गराउन अनुदानको व्यवस्था गरेका छौं।’
भैंसीपालन व्यवसाय दूधदही र घीउका लागि मात्रै नभएर प्रांगारिक मलका लागि पनि उपयुक्त भएकाले भैंसीपालन व्यवसायलाई व्यवसायीकरण गर्न पहल गरिएको वडाध्यक्ष आनन्दसिंह बोहराले बताए।
यस्तै मेलौली नगरपालिकाले किसानलाई भैंसी सुत्केरी भत्ता दिने कार्यक्रम अघि सारेको छ। चालु आर्थिक वर्षमा भैंसीपालनमा लागेका किसानलाई भैंसी सुत्केरी भत्ता दिन बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्।