लेडी ठग
महानगरीय अपराध महाशाखा, टेकुको ठगी गर्ने महिलाको सूचीमा निलम गुरुङको नाम पहिलो नम्बरमा छ। काभे्रपलाञ्चोक, रोशी गाउँपालिका–८ कि ३७ वर्षीया निलमले मोटो रकम ठगी गरेकी छिन्।
उनले केही समयअघि एक महिलाको १ करोड ५० लाख रुपैयाँ ठगेकी थिइन्। हाल काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल बस्ने गुरुङले एक ठाउँमा जग्गा देखाएर अर्को ठाउँमा पास गर्ने चाँजोपाँजो मिलाएर ठगी गरेकी थिइन्।
पुख्र्यौली घर गुल्मी भएकी ब्रिटिस लाहुरेकी श्रीमतीसँग निलम तीन वर्षअघि नजिकिएकी थिइन्। ब्रिटिस लाहुरेकी श्रीमती पैसावाल भएको थाहा पाएपछि निलम उनको घरनजिकै डेरा सरिन्। तीन वर्ष उनले ती महिलाको संगत गरिन्, तर उनीसँग त्यस अवधिमा एक रुपैयाँ पनि सापटी लिइनन्।
धनाढ्य महिलाको विश्वास जित्न निलमले तीन वर्ष समय खर्चिइन्। ती महिला कहाँ जान्छिन्, के खान्छिन्, कोसँग भेट्छिन्, सबै कुराको निगरानी राखिन्। उनीसँग पैसावाल महिला निकै नजिकिसकेकी थिइन्। महाशाखाका एक प्रहरी अधिकारीका अनुसार उनलाई ती महिलाको कति पैसा कुन–कुन बैंकमा छ भन्ने समेत थाहा भइसकेको थियो। लाहुरे पत्नीको सुखदुःख बाँड्ने साथी भइसकेकी थिइन्, निलम। ती महिलासँग जे भने पनि नाइँ भन्न नसक्ने घनिष्ट सम्बन्ध बनाइसकेकी थिइन्।
ती महिलाको मन जितेपछि एक दिन निलमले भनिन्, ‘दिदी, काठमाडौँ, सुन्टोलमा एउटा राम्रो जग्गा छ, किन्नुहुन्छ ?’
निलमको विश्वासमा चुर्लुम्म डुबेकी महिलाले हुँदैन भन्ने कुरै आएन। उनी जग्गा हेर्न निलमसँगै गइन्। जग्गा उनले सोचेभन्दा पनि राम्रो थियो। जग्गा हेर्ने ठाउँमा अमिन, जग्गाधनी र छिमेकी पनि थिए।
अमिनले ‘पाँच रोपनी भनेको जग्गा चार–पाँच आना बढी नै छ’ भने।
जग्गाधनीले ‘आनाको १५ लाख पर्ने जग्गा मलाई साह्रै अप्ठ्यारो परेर सातमा बेच्न लागेको’ भने।
दुईतीन जना छिमेकीले भने– ‘माटोमा पैसा हालेको कतै जाँदैन। हाल्नुस्–हाल्नुस्, नम्बरी जग्गा छ।’
ती सम्पन्न महिला १ करोड ५० लाख रुपैयाँ दिएर जग्गा बैना गरिन्। बैना गर्ने बेला निलमले सुन्टोलको जग्गाको लालपुर्जासमेत उनलाई देखाएकी थिइन्। बाँकी पैसा जग्गा पास गरेपछि दिने तय भयो।
यतिबेलासम्म लाहुरेकी श्रीमतीलाई आफू ठगिएको थाहा थिएन। जग्गा पास गर्ने बेला भने उनी छाँगाबाट खसिन्। आफू ठगिएको थाहा पाइन्। १ करोड ५० लाखमा उनले सुन्टोलको जग्गा बैना गरेकी थिइन्। तर, पास गर्ने बेला उनको जग्गा काठमाडौँ, लप्सीफेदीको भिरमा पुग्यो। जुन जग्गा रोपनीको पाँच लाख पनि नजाने थियो। यतिबेलासम्म निलम फरार भइसकेकी थिइन्।
पछि पीडितले थाहा पाइन्। निलमले खडा गरेका अमिन, जग्गाधनी, छिमेकी सबै नक्कली रहेछन्। उनले ती सबै एक दिनका लागि भाडामा ल्याएकी रहिछन्। आफू ठगिएको थाहा पाएपछि पीडित हारगुहार गर्दै प्रहरीकहाँ उजुरी गर्न गइन्। केही समयअघि काठमाडौँ, बबरमहलबाट प्रहरीले निलमलाई पक्राउ गर्यो।
प्रहरीको अनुसन्धानबाट निलमले ती महिलालाई मात्र नभएर तुलसीप्रसाद देव नाम गरेका अर्का व्यक्तिलाई पनि इटहरीको १० कट्ठा जग्गा मिलाइदिन्छु भन्दै ६० लाख रुपैयाँ ठगेको खुल्यो। त्यसपछि उनलाई ठगीमा मुद्दा चलाइयो। अहिले उनी अदालतबाट तारिखमा छुटेकी छिन्।
अस्ट्रेलिया लैजान्छु भन्दै ठगी
सुनसरी, बर्जु गाँउपालिका–६ की २३ वर्षीया रोजिना अधिकारी काठमाडौँ, नयाँ बानेश्वर बस्दै आइरहेकी थिइन्। उनी भेट्ने जो कोहीलाई आफू अस्ट्रेलियाको पीआर होल्डर भएको बताउँथिन्। पीआर होल्डर भन्दै उनले केही समयअघि काठमाडौं, गोकर्णेश्वर नगरपालिका–४, माकलबारी बस्ने अमृत श्रेष्ठसँग कोर्ट म्यारिज गरिन्।
अमृत प्लस टू सकेर अस्ट्रेलिया जाने तरखरमा थिए। आईएलटीएसमा राम्रो अंक नआएपछि उनी कसैसँग डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जान चाहन्थे। यही क्रममा उनको भेट रोजिनासँग भयो। केही समयको चिनजानपछि रोजिनाले अमृतलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने वाचा गरिन्। र, उनीहरूले अदालती विवाह गरे।
अस्ट्रेलिया जाने धुनमा रहेका अमृत जे गर्न पनि तयार थिए। प्रोसेस गर्दा पैसा लाग्ने भन्दै उनीसँग रोजिनाले ४ लाख ५० हजार रुपैयाँ मागिन्। छोरालाई विदेश पठाउने योजनामा अमृतका बाबुले रोजिनाको हातमा पैसा हालिदिए। ्
पैसा लिएको भोलिपल्टदेखि उनी सम्पर्कविहीन भइन्। अस्ट्रेलिया नै नदेखेकी रोजिनाले ‘अस्ट्रेलियाको पीआर होल्डर हुँ’ भन्दै आफूलाई ठगेको थाहा पाएपछि अमृतले प्रहरी गुहारे। केही समयपछि काठमाडौँ, मध्यबानेश्वरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्यो।
महानगरीय अपराध महाशाखाको अनुसन्धानमा उनले भक्तपुर, चाँगुनारायण नगरपालिका–३, दाहाल गाउँ बस्ने सागर धमलालाई पनि ठगेको खुल्यो। उनले धमलासँग १३ लाख ४७ हजार रुपैयाँ ठगी गरेको थाहा भयो।
उनी आफू मात्र ठगीमा संलग्न थिइनन्। उनलाई यो कार्यमा परिचालन गर्ने सिन्धुली, कमलामाईका गणेश भन्ने अरबिन स्याङ्बोलाई प्रहरीले पक्राउ गर्यो। उनी काठमाडौँ, बाँसबारीमा रहेको एसियन इन्टरनेसनल कन्सलट्यान्सीका एकेडेमिक डाइरेक्टर हुन्। केही समयअघि उनीहरू दुवै जना धरौटीमा छुटे।
महानगरीय अपराध महाशाखा, टेकुका एसएसपी सहकुल थापा भन्छन्, ‘हाम्रोमा महिलाहरू पनि ठग हुन्छन् र ? भन्ने मानसिकता छ। तर, मोटो रकम ठगीको आरोपमा धेरै महिलालाई हामीले पक्रिएका छाँै।’
ठगी गर्ने महिला वा पुरुषमा सजिलै अरूलाई विश्वासमा लिन सक्ने कला हुने उनी बताउँछन्। त्यस्तै, ठगिइने व्यक्तिको पनि केही न केही दोष हुने उनको मत छ। ‘कतिपय अवस्थामा मानिसलाई लोभले लाभ लाभले विलाप गराउँछ,’ उनी भन्छन्, ‘त्यसैले नचिनेका मानिससँग छिट्टै नजिकिने र आर्थिक कारोबार गरिहाल्ने गर्नु हुँदैन। भोलि उनीहरूले कतिखेर आफूलाई खाल्डोमा हाल्छन्, थाहै हुँदैन।’
घरबेटीको ३० लाख ठगी
दाङकी निर्मला (नाम परिवर्तन) ले हालसालै आफ्नै घरबेटीलाई ३० लाख रुपैयाँ ठगी गरिन्। अस्ट्रेलिया जानका लागि ३० लाख रुपैयाँ बैंकमा देखाउनुपर्यो भन्दै उनले ठगी गरेकी थिइन्। उनले डेढ महिनाका लागि भनेर घरबेटीसँग बैंकमा देखाउनका लागि भनेर पैसा मागिन्।
घरबेटीलाई लोभ्याउन उनले डेढ महिनाको ४५ हजार रुपैयाँ ब्याजसमेत दिएकी थिइन्। ‘आफ्नै घरमा बस्ने केटी पैसा खाएर के भाग्ली र भन्ने सोचेर घरबेटीले उनलाई विश्वास गरेर खातामा पैसा हालिदिए,’ यो केस हेरेका एक जना प्रहरी अधिकारी भन्छन्।
निर्मलाको खातामा ३० लाख रुपैयाँ हालिदिएको २४ घण्टा हुन नपाउँदै घरबेटी छटपटाउन थाले। किनभने, निर्मला र ३० लाख रुपैयाँ दुवै गायब थिए।
घरबेटीले हत्तपत्त प्रहरीलाई खबर गरे। निर्मला समातिइन्। प्रहरीको अनुसन्धानमा उनले आफूसहित अन्य दुई जनाको खाताबाट नौ–नौ लाख गरेर २७ लाख रुपैयाँ निकालेको देखियो।
घर धितो राख्न लगाएर २५ लाख ठगी
विपना (नाम परिवर्तन) को काठमाडौँमा घर भएकी एक धनाढ्य महिलासँग राम्रो चिनजान थियो। उनीहरूले एकअर्काको संगत गरेको धेरै वर्ष भइसकेको थियो। विपना लामो समयदेखि तिनै धनाड्य महिलाको घरमा डेरामा बस्दै आइरहेकी थिइन्। डेरावालमध्ये घरबेटीका नजरमा सबैभन्दा इमानदार र भरपर्दो उनी नै थिइन्। उनी समयमै भाडा तिर्थिन्। घरबेटी महिला कतै जानुपर्यो भने विपनालाई नै घरको रेखदेख गरिदिनू भनेर निस्किन्थिन्।
एक दिन विपनाले घरबेटी महिलालाई भनिन्, ‘यत्रो घर यत्तिकै राखेर के गर्नुहुन्छ ? बैंकमा धितो राखेर पैसा निकाल्नुस्, ब्याजमा लगाउनुस्।’
घरबेटीलाई विपनाको कुरा चित्त बुझ्यो। यसै पनि उनी विपनालाई साह्रै विश्वास गर्थिन्। त्यसपछि घरबेटीले घर धितो राखेर बैंकबाट २५ लाख रुपैयाँ निकालिन्। ‘बैंकले थोरै ब्याज दिन्छ, मान्छेलाई ब्याजमा लगाउनुस्’ भन्दै विपनाले उनलाई उक्साइन्। ‘पहिलो पैसा म आफैँ लिन्छु’ भन्दै केही महिनाको ब्याज समेत त्यही पैसाबाट झिकेर दिइन्। पैसा हातहाती आदानप्रदान भयो। उनीहरूले त्यसको कुनै प्रमाण राखेनन्।
छ महिना बितिसक्दा पनि विपनाले एक रुपैयाँ नदिएपछि ती महिलालाई शंका लाग्न थाल्यो। उनले विपनासँग पैसाको कुरा निकालिन्। तर, उनले आफूले एक पैसा पनि नलिएको भन्दै तर्किन खोजिन्। लामो समयसम्म यही क्रम चलेपछि घरबेटीले प्रहरीको सहारा लिइन्। प्रहरीले विपनालाई पक्राउ गर्यो। तर, लेनदेनको कुनै प्रमाण नभएका कारण उनी सामान्य धरौटीमा छुटिन्।
‘पीडित घरबेटी महिला रोइकराइ गर्न हामीकहाँ आइरहन्छिन्,’ महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकारी भन्छन्, ‘विपना भने अगाडि–पछाडि चारपाँच जना वकिल राखेर हिँड्छिन्। प्रमाणको अभाव भएकाले उनीको फुर्ती हेरिनसक्नु छ।’
सपिङमा ठगिँदा
काठमाडौँ, धुम्बाराहीकी अनामिका (नाम परिवर्तन) ब्युटिसियन हुन्। उनले यो क्षेत्रमा काम गर्न थालेको धेरै वर्ष भइसक्यो। उनी मेकअपका सामान प्रायः अनलाइनबाट मगाउँथिन्। केही समयअघि उनको मोबाइलमा एउटा नोटिफिकेसन आयो। इन्स्टाग्रामको उक्त नोटिफिकेसनमा १ लाख ५० हजार पर्ने मेकअप सामग्री ७५ हजारमा भनेर लेखिएको उनले देखिन्। हत्तपत्त फोन गरेर अर्डर गरिन्। ‘फोटोमा देखाइएका मेकअपका सामान ब्रान्डेड थिए,’ अनामिकाले ‘अन्नपूर्ण सम्पूर्ण’ सँग भनिन्, ‘पार्लरमा सामान पनि चाहिएको थियो। राम्रै होला भनेर अर्डर गरेँ।’
सामान डेलिभरी गर्ने दिन उनी हतारमा थिइन्। उनलाई ब्युटिसियनहरूको वर्कसपमा जानु थियो। सामान लिएर काठमाडौँ, धुम्बाराही चोकमा स्कुटरमा दुई जना युवती आए। दुवैले स्कार्फ लगाएका हुनाले अनामिकाले उनीहरूको अनुहार देख्न पाइनन्। सामान बलियोसँग बाकसमा प्याक गरेर ल्याइएको थियो। अनामिकाले हतार–हतारमै भए पनि एक पटक सामान चेक गर्ने विचार गरिन्। तर, डेलिभरी गर्न आउने दुई युवतीले ‘केही पर्यो भने यो नम्बरमा फोन गर्नू’ भनेर भिजिटिङ कार्ड थमाए। उनले ७५ हजारको नोटको बिटो झिकेर उनीहरूलाई दिइन्।
त्यो दिन व्यस्तताका कारण अनामिकाले सामान खोलेर हेर्न भ्याइनन्। भोलिपल्ट जब बाकस खोलिन्, मुर्छा परिन्। ‘इन्स्टाको फोटोमा देखाएको सामान अर्कै थियो, तर त्यहाँ फेयर एन्ड लभ्ली, भ्यास्लिन गरेर पाँच हजारको पनि सामान थिएन,’ अनामिकाले भनिन्, ‘तिनीहरूले दिएको कार्डमा भएको नम्बरमा हजार चोटि फोन गरिसकेँ, फोनै लाग्दैन। अर्डर गरेको पेज पनि अहिले देखाउँदै देखाउँदैनन्। ब्लक गरिसकेछन्।’
अहिले उनी सहयोगका लागि महानगरीय अपराध महाशाखा, टेकु पुगेकी छिन्।
ऋण दिँदै फसाउँदै
सिन्धुपाल्चोक, पांग्रेटार–१ की अप्सरा श्रेष्ठ, ३८, केही समयअघिसम्म आर्थिक रूपले अप्ठ्यारोमा परेका व्यक्तिहरूको सहारा बनेकी थिइन्। उनी पैसाले फिटफिट परेर आउने जो कोहीलाई २०–२५ हजार रुपैयाँसम्म ऋण दिन्थिन्। उनले ऋण दिने मानिस चिनजानको हुनु पर्दैनथ्यो।
काठमाडौँ, महानगरपालिका–१५, स्वयम्भूस्थित उनको फ्यान्सी पसलमा ऋण लिन आउने कहिल्यै टुट्दैनथे। ऋण दिँदा उनी एउटा शर्त राख्थिन्। ऋण दिएबापत उनी ऋण लिनेसँग हस्ताक्षर गरेको ब्ल्यांक चेक लिन्थिन्। ब्ल्यांक चेक दिएर ऋण लिन पाउने भएपछि अप्ठ्यारोमा परेका जो कोही उनीकहाँ आउँथे। मक्ख परेर ऋण लिएर जान्थे। तर, उनीहरूको खुशी धेरै दिन टिक्दैनथ्यो।
उनी साँवा रकम असुली गर्नुअगावै ब्ल्यांक चेकमा आफूखुशी रकम बढाएर ऋण लिनेलाई दुःख दिन्थिन्। ऋण दिएको दोब्बर–तेब्बर पैसा उनीहरूबाट लिन खोज्थिन्। साँवा रकम असुल गरे पनि चेक फिर्ता नगरी आफूखुशी रकम थपेर ऋण लिनेलाई हैरान बनाउँथिन्। कतिपय अवस्थामा उनीहरूको चेक नै बाउन्स गराउँथिन्। केही समयअघि तीमध्ये सात जनाको समूहले आफूहरूलाई ऋण दिने नाममा ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखामा उनीमाथि उजुरी हाल्यो।
प्रहरीले अप्सरालाई पक्राउ गर्यो। प्रहरीको खानतलासमा विभिन्न रकमका चेकहरू उनीबाट बरामद भए। उनीसँग विभिन्न बैंकका ३२ थान चेक थिए। प्रहरीले उनीबाट ब्ल्यांक चेक लिई आफूखुशी रकम उल्लेख गरेको १ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरका ३५ थान चेक र बाउन्स गरिसकेका ५६ लाख रुपैयाँ बराबरको सात थान चेक बरामद गर्यो। त्यस्तै, रजिस्टर र डायरी एक–एक थान र हिसाबकिताब गरेको ३४ वटा कापी पनि प्रहरीले बरामद गर्यो। यस केसमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सुन पसललाई निसाना बनाउने महिला
काठमाडौँ, रातोपुलकी सुषमा (नाम परिवर्तन) को न कुनै जागिर थियो, न कुनै व्यवसाय। तर, उनको घाँटी, कान र नाडीमा धपक्क बलेका सुनका गहना हेर्दा सबैलाई लाग्थ्यो– उनी कुनै सम्पन्न परिवारकी महिला हुन्।
तर, केही समयअघि उनलाई प्रहरीले पक्राउ गर्यो। उनीमाथि ठगीको आरोप थियो। ‘सुन पसल उनको ठगी गर्ने प्रमुख थलो थियो,’ महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने, ‘हरेक पटक उनी नयाँ–नयाँ सुन पसल जान्थिन्। आफूलाई मन परेको गहना लिन्थिन्। र, क्यासको सट्टा पसलेलाई विश्वास दिलाएर चेक दिएर हिँड्थिन्।’ गहना किनेपछि त्यो ठाउँबाट उनी बेपत्ता हुन्थिन्। उनले थमाएको चेक काम नलाग्ने हुन्थ्यो। दिएको फोन नम्बर गलत हुन्थ्यो। यसरी उनले धेरै ठाउँमा चेक दिँदै सुन लिएर हिँड्ने गरेकी थिइन्। प्रहरीका अनुसार उनी त्यसरी एक ठाउँबाट लिएको सुन अर्को ठाउँमा बेच्दै ठगी गर्ने गर्थिन्। हाल प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।
ठग गर्लफ्रेन्ड
भक्तपुर, सिपाडोलकी अरुणा (नाम परिवर्तन) प्रेम सम्बन्धमा रहेको पाँच वर्ष भयो। उनका प्रेमी अस्ट्रेलियामा थिए। प्रेमीसँग अरुणा विभिन्न बहानामा पैसा मागिरहन्थिन्। प्रेमी पठाइरहन्थे।
पाँच वर्षमा उनका प्रेमीले उनलाई ७५ लाख रुपैयाँ पठाए। प्रेमिकाको हैसियतले उनी प्रेमीको घरमा समेत आवतजावत गर्थिन्। प्रेमीको परिवारमा पनि सबैले उनलाई चिन्थे।
एक दिन अरुणाले आफ्ना प्रेमीसँग एक करोड रुपैयाँ पठाइदिन भनिन्। उनले ‘एक ठाउँमा राम्रो जग्गा छ, बिहे गरेपछि हामीले त्यहाँ घर बनाउनुपर्छ’ भनेकी थिइन्। प्रेमीले एक करोड नसक्ने भन्दै ५० लाख रुपैयाँ पठाइदिए। पैसा पठाएको केही समयपछि प्रेमीको नेपाल आउने कुरा थियो। तर, पैसा पठाउनेबित्तिकै अरुणा टाढिन थालिन्।
यो कुरा उनको प्रेमीले आफ्नो घरमा बताए। छोराले अरुणाको नाममा यति धेरै पैसा पठाएको उनीहरूलाई थाहा थिएन। ‘छोरासँग बिहे नगर्ने भए छोराले पठाएको पैसा फिर्ता गर’ भन्दै अरुणाकहाँ उनको ब्वाइफ्रेन्डको परिवार गयो। उनलाई मात्र पैसा उम्काउनु थियो। प्रेम त नाटक थियो। घरजम गर्ने सोच छँदै थिएन। कुरा प्रहरी चौकीसम्म पुग्यो। लामो समयसम्म ‘बिहे गर्छु भन्दै म्यासेजबाट झुलाएको’ भन्दै अरुणाले उल्टै साइबर अपराधमा प्रेमीलाई मुद्दा हालिन्। तर, प्रहरीको अनुसन्धानमा अरुणाले एक जनासँग मात्र होइन, विदेशमा गएका धेरै पुरुषलाई त्यसरी नै प्रेमिकाको नाटक गरेर, उनीहरूको विश्वास जितेर पैसा पठाउन लगाएर ठग्ने गरेको देखियो।
‘ठगिने पनि दोषी छन्’
एसएसपी सहकुल थापा,महानगरीय अपराध महाशाखा, टेकु
हाम्रो समाजमा महिलाले के ठग्लान् र ? भन्ने मानसिकता छ। त्यसैले पनि महिलाले ठग्छन् भनेर कसैले पत्याउँदैनन्। कतिपय अवस्थामा महिला पनि ठूलो परिमाणको ठगी गर्ने ठग भएर निस्कन्छन्।
महिलाहरू पुरुषभन्दा कोमल स्वभावका हुन्छन्। उनीहरूप्रति पुरुष स्वभावैले आकर्षित हुन्छन्, नजिकिन खोज्छन्। मीठो बोली र सौन्दर्यका आडमा ठग्ने महिला थुप्रै छन्।
कतिपय महिला आफैँ संलग्न भएर ठगी गर्छन्। केही महिलालाई भने अरू कसैले प्रयोग गरेर ठगीमा संलग्न गराइरहेका हुन्छन्। उनीहरू आफ्नो काम फत्ते गर्न महिलाको सहारा लिन्छन्।
महिला होस् वा पुरुष, ठगहरू जो कोहीलाई पनि सजिलै विश्वासमा लिन सिपालु हुन्छन्। भेटेरभन्दा पनि फोन र अनलाइनबाट महिलाले ठग्ने गरेका छन्। उनीहरूको स्वर र च्याटको भरमा फस्ने धेरै छन्।
हामीकहाँ आउने केसलाई हेर्ने हो भने हामी ठग्नेको मात्र दोष देख्दैनौं। ठगिने व्यक्ति पनि उत्तिकै दोषी हुन्छन्। यहाँ धेरै पढेलेखेका र उच्च ओहोदाका व्यक्ति पनि ठगिएका छन्। अनावश्यक लोभका कारण धेरै मानिस ठगिएका छन्। अनावश्यक लोभ गर्दा ‘लोभले लाभ, लाभले विलाप’ भएको छ। त्यसैले नचिनेको नम्बरबाट फोन आउँदा सधैँ सचेत हुनुपर्छ। कसैलाई हत्तपत्त विश्वास गरिहाल्नु हुँदैन। आफूलाई थाहा नभएका कुरा अरूसँग सोध्नुपर्छ। यस्ता कुरा आफन्त र परिवारलाई थाहा दिनुपर्छ। ठगिनेहरू ठगिनुभन्दा अगाडि गरिएका कारोबार आफ्नै श्रीमान्–श्रीमतीलाई पनि भन्दैनन्। पछि एकैचोटि चुर्लुम्म डुबेपछि रुवाबासी गर्दै हिँड्छन्।
कसैले प्रशंसा गर्यो भने मख्ख पर्ने हाम्रो बानी छ। तर, कसैले प्रशंसा गर्दैमा मक्ख परिहाल्नु हुँदैन। त्यस्तै, सस्तोमा पाइयो भनेर जे पनि किन्न खोज्नु हुँदैन। कसैले ‘३५ हजार तोलामा सुन दिन्छु’ भन्यो भने किन सस्तोमा दियो भनेर १० पटक सोच्नुपर्छ। त्यो सुन नक्कली पनि हुन सक्छ भनेर शंका गर्नुपर्छ। तर, हाम्रो त्यस्तो बानी छैन। किनभने, हामी सबैलाई छिटोभन्दा छिटो धनी बन्नु छ। ठगी त्यसैको परिणाम हो।
ठगहरू कसलाई मूर्ख बनाएर मालसामान हात पारौँ भनेर बसिरहेका हुन्छन्। उनीहरूलाई इज्जत र बेइज्जतको पर्वाह हुँदैन। घरपरिवारको मतलब हुँदैन। पैसाका लागि उनीहरू जस्तोसुकै झुट बोल्न पनि तयार हुन्छन्।
हामीले समातेर ल्याएका ठगहरूलाई कसुर हेरेर कारबाही हुन्छ। कतिपय अवस्थामा भने ठूलो परिमाणको बिगो गरेर आएका ठगहरू पनि प्रमाण नपुग्दा सामान्य धरौटीमा छुट्ने गरेका छन्। त्यसैले ठगिएपछि कानुनको ढोका ढकढकाउन जानु मात्र ठूलो कुरा होइन। पहिलो कुरा, व्यक्ति आफैँ सचेत र चनाखो हुनुपर्छ।
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2912)