मुसहर बस्तीमा भुइयाँ पूजाको रौनक (तस्बिरसहित)
बर्दिबास : महोत्तरीको बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीमा भुइयाँ महाराजको पूजाले खुशियाली छाएको छ । मुसहर समुदायले कुल देवता दिना–भद्रीलाई स्मरण गर्दै उम्लिरहेको तातो दूधले स्नान गरेर भुइयाँ महराजको पूजा गर्छन् । यसलाई जनबोलीमा अपटनी पूजा पनि भन्ने गरिन्छ ।
पूजा गर्न मुसहर बस्तीको प्रत्येक घरबाट चामल, रुपैयाँ, दाउरा संकलन गरिन्छ । चामलको खिर, खिचडी, दूध, मिठाई, अगरबत्ति, पान, सुपाडी, ल्वाङ्गलगायत अन्य सामग्री किनेर भुइँया पूजा गर्न बस्तीवासी जुटेका छन् ।
आइतबार साँझदेखि झाँकी प्रदर्शन गर्दै भजनकृतनसहित रातभर जाग्राम बसेर सोमबार गाउँ नजिकैको खाली खेतमा तातो दूधले स्नान गरेपछि भुइयाँ पुजाको समाप्न हुने एककीकृत नमुना मुहसर बस्तीका अध्यक्ष विल्टु सादाले बताए ।
भुइँयाले मैथिली भाषामा तललाई जनाउँछ । तलको अर्थ धर्ती हो । जमिन, माटो वा पृथ्वीलाई भुइँया भन्ने गरिन्छ । भुइँया पूजालाई प्रकृतिको पुजाको रूपमा लिन सकिन्छ ।
छैठौँ शताब्दीमा वर्तमान नेपालकै सप्तरी जिल्लामा जन्मिएका दीना-भद्री दाजुभाइको पूजा गर्नु नै भुइँया पूजा हो । दीना–भद्री मुसहर समुदायका कुल देवता तथा अन्याय, अत्याचार र शोषणविरुद्धको महावीर योद्धाको रूपमा लिइन्छ ।
दिना–भद्रीलाई मुसहर समुदायले भुइँया महाराज भनेरसमेत सम्बोधन गर्दै आएका छन् । मुसहर कुलमा जन्मे पनि उनीहरूले सम्पूर्ण समाजको हितको लागि काम गरेको इतिहास भएको स्थानीय बताउँछन् ।
दिना–भद्री दाजुभाइले श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नयाँ दुलहीको डोली कब्जा गरी जवरजस्ती एक रात शारीरिक सम्बन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहंलगायत १५१ जना शोषक, अन्यायी, अच्याचारीसित लडी जीत प्राप्त गरेका थिए भन्ने जनविश्वास छ ।