पानीको पिरलो
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका ६ धुलिधारकी हरिना अवस्थीलाई हिउँदेयाम सुरु भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ । गाउँबाट आधाघण्टा टाढाको दुरीमा रहेको मूहानबाट खानेपानी बोक्नुपर्ने बाध्यता वर्षौंदेखि भएको उनले सुनाइन् । ‘हाम्रो बस्तीमा वर्षा नहुँदासम्म खानेपानीको निकै समस्या हुन्छ । वर्षातमा बलेसीको पानीले जोहो गर्दै आएका छौं । हिउँदमा टाढाको मूहानबाट खानेपानी ल्याउनुपर्ने बाध्यता छ ।’उनले भनिन् ‘नजिकको कुवामा सुख्खायाममा पानी सुक्ने गरेको छ । टाढाको मूहानबाट ४० लिटरको ग्यालिनमा पानी बोक्नुपर्ने बाध्यता छ ।’
गाउँमा खानेपानीको सुविधा नहुँदा घरको एकजनाले खानेपानीका लागि खटिनुपर्ने अवस्था रहेको स्थानीय भागरथी अवस्थीले बताइन् । उनले भनिन्, ‘पानीको ग्यालिन बोक्दा-बोक्दा टाउको खुइलिसक्यो । तर हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि वर्षेनी भौतारिनुपरिरहेको छ ।’
निर्वाचनका बेला सबै नेताले गाउँमा खानेपानी पुर्याउने आश्वासन दिएका भए पनि पहल कतैबाट नभएको स्थानीय यज्ञराज अवस्थीले बताए ।‘निर्वाचनका बेला नेता चिल्ला भाषण दिन्छन् । सोझासाझा नागरिकबाट फाइदा निकाल्छन् ।’उनले थपे, ‘खानेपानी जस्तो आधारभूत कुरामा पहुँच पुर्याउन आग्रह गरे पनि कसैले सहयोग गर्दैनन् । नेताहरु जितेपछि गाउँमै आउँदैनन् ।’
सुर्नया ६ धुलिधारका ७० बढी घरपरिवार प्रत्येक वर्ष हिउँद र सुख्खायाममा खानेपानीको चरम समस्या झेल्दै आएका छन् ।‘खानेपानीकै कारण बालबालिकालाई समयमा विद्यालयमा पठाउन सकिँदैन । सरसफाई गर्न समेत गाह्रो छ । वस्तु भाउका लागि समेत बोकेर पानीको जोहो गर्नुपर्छ ।’स्थानीय कृष्णदत्त अवस्थीले गुनासो गर्दै भने, ‘गाउँमा खानेपानी पुर्याउँछु भन्ने कता गए थाहा नै छैन। हाम्रा लागि त सरकार नै छैन जस्तो छ ।’
पुराना कुवामा पानी सुक्दै गएपछि खानेपानी अभाव चुलिएको स्थानीय देवदत्त अवस्थीले बताए । ‘पहिला पहिला कुवामा पानी हुन्थ्यो । सोही पानीले गाउँमा खानेपानीको जोहो गर्दै आएका थियौं । तर अहिले कुवाको पानी पनि सुकेपछि टाढाको मूहानबाट खानेपानी ल्याउनुपर्ने बाध्यता छ’, उनले भने, ‘गाउँमा पानी नहुँदा शौचालयसमेत प्रयोगविहीन छन् । मान्छेहरु खुलारूपमा दिसापिसाब गर्न बाध्य छन् ।’
सुर्नया ६ जस्तै दशरथचन्द नगरपालिका १ मुस्याचोर र गुरुखोला क्षेत्रमा पनि खानेपानीको अभाव छ । सो ठाउँमा आउने खानेपानीको मूहानमै पानी कम भएपछि खानेपानीको हाहाकार भएको स्थानीय कविराज भट्टले बताए । उनले भने ‘धारामा आउने पानीका लागि पालो नै पुग्दैन। आधाघण्टाको दुरीमा रहेको खोलाको मूहानबाट पानी बोक्नुपर्ने बाध्यता रही आएको छ ।’
डोजरले मूहान सुके
पछिल्लो समयमा अन्धाधुन्ध रूपमा प्रयोग भएका डोजरले पानीका मूहान मासिँदै गएका छन् । डोजरका कारण पानीका मूहानमा क्षति पुगेको स्थानीयले बताए। डोजरले जथाभावी सडक खन्दा प्राकृतिक मूहान सुक्दै गएका दोगाडाकेदार ४ का इन्द्रदेवशरण भट्ट बताउँछन्। उनले भन्छन्, ‘डोजरले जथाभावी सडक खन्दा सडक तलतिरका मूहान मासिएका छन् । मूहान सुक्दै जाँदा गाउँमा खानेपानीको समस्या चुलिएको छ ।’
सुर्नया गाउँपालिका ६ ठूलापातल खोलामा हिउँदमा पनि सफा पानी बग्थ्यो। तर खोलामाथिका डाँडामा डोजरले सडक खनेपछि पानीका मूहान नै सुकेका स्थानीय भोजराज अवस्थीले बताए । उनले भने, ‘डोजरले सडक खनेपछि खोलाको पानी सुक्यो । हिउँदमा पानी नै हुँदैन ।’