'देउता मान्छौं, छाउपडी प्रथा मान्दैनौँ'

'देउता मान्छौं, छाउपडी प्रथा मान्दैनौँ'

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिकाका स्थानीय मष्टो देवताका धामीले छाउपडी प्रथा नमान्ने प्रतिबद्धता जनाएका छन्। खाँडाचक्र नगरपालिकाले छाउपडी प्रथाविरुद्ध धामिझाँक्रीलाई सचेतना कार्यक्रममा स्थानीय मष्टो देवताका धामीले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

छाउपडी प्रथाका मुख्य गडका रुपमा मानिने देउताका धामी र गाउँका ठालुले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका छन् । उनीहरुको एउटै स्वर छ,' अब हामी छाउपडी प्रथा मान्दैनौं। '

'देवता मान्छौं, छाउपडी प्रथा मान्दैनौँ। महिनावारी भएकी छोरी, बुहारीलाई घरमै राख्छौँ। पहिले विभेद गरियो । अब गर्दैनौँ।  खाँडाचक्र नगरपालिका ७ पिलीका धामी हंसबहादुर मल्लले भने,' छाउपडीविरुद्धको अभियानमा हाम्रो पनि सक्रिय सहभागीता हुन्छ । छाउपडी प्रथा मान्नु हुँदैन भनेर गाउँमा सचेतना जोगाउँछौँ।'

यस्तै स्थानीय धामी लिला पाण्डेले छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने बताए । उनले भने,'म आफैं देउताको धामी हुँ । तर तपाईँहरु कसैलाई घरमै छाउपडी बसालेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म आफैँ लिन्छु । घरभित्र महिनावारी भएकी महिलालाई राखेर देवतालाई घण्ट चढाउनु परे, खसी काट्नु परे पनि म कहाँ आउनु होला । तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस् । 

यसअघि गाउँमा परम्परागत सोच र पुरानो रितिअनुसार चले पनि हालै आएको कानुनले नमान्ने भएपछि सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देउता पनि नलाग्ने र महिला पनि सुरक्षित हुने भएकाले गाउँका सबै स्थानीयलाई छाउ बार्ने प्रथा नमान्न सल्लाह दिने धामी पाण्डेले बताए। 

खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले छाउपडी प्रथा न्यूनीकरणमा नगरपालिकाले छाउगोठसँगै छाउ सोच पनि भत्काउने अभियान सुरु गरेको बताए । उनले भने, 'गाउँमा प्राय देउताका डरले नै महिला छाउ गोठमा बस्ने गरेका छन् । जसलाई निरुत्साहित गर्ने छाउगोठ र छाउ सोच भत्काउने अभियानमा धामीको साथ खोजेका छौँ।'

खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टले स्थानीय ठालु धामीलगायतका सरोकारवालाको सक्रियतामा खाँडाचक्र नगरपालिकालाई छाउपडी प्रथामुक्त नगरपालिका बनाउने जोड दिइन्। उनले छाउपडी उन्मुलन गर्नका लागि नगरपालिकाले धामी,ज्योतिष र किशोरीलाई सचेतनामुलक तालिम दिने बताइन् । जिल्लामा विशेषगरी बाहुन, क्षेत्री, दलित, ठकुरी परिवारका महिला छाउ बार्ने प्रथाबाट पीडित रहेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.