कृष्णको ‘प्यासेज अफ टाइम’
काठमाडौं : कृष्ण लामा मुख्यत भिजुअल आर्टिस्ट हुन् । फिगरबेसको कन्टेम्प्रोरी आर्टलाई उनले आफ्नो शैली बनाउँदै आएका छन् । शनिबार नेपाल आर्ट काउन्सिलमा उनको एकल चित्रकला प्रदर्शनी सम्पन्न भयो ।
उनले ‘प्यासेज अफ टाइम’ शीर्षकको प्रदर्शनीमा गर्भवती महिलाका फरक-फरक पोस्चर समेटेका थिए । लामा निश्चित समयमा आफ्नो मनमा खेलेका भावलाई चित्रमा कोरेको बताउँछन् । उनलाई मानिसको दिमाग अचम्मको लाग्छ । एकै छिनमा निकै टाढा-टाढासम्म पुग्न सक्ने मान्छेको दिमागको गति बुझिनसक्नुको छ ।
उनका चित्र हेर्दा अनौठा लाग्छन् । मानव शरीरको रूपरेखालाई स-साना रेखाले जोडेर बनाइएको जस्तो । कतै बच्चाको आकार छ त कतै महिलाको । केही चित्र विज्ञानको प्रयोगात्मक कक्षामा सिकाइको लागि ल्याइएको अस्थिपन्जर जस्ता छन् । उनका सबैजसो चित्रमा विशेष गरी बच्चा र महिलाको आकृती देख्न सकिन्छ ।
काउन्सिलको प्रदर्शनी कक्षमा लामाको दुई दर्जन चित्रहरु झुण्डाइएको छ । चित्रहरूले घेरिएर काखमा सानी छोरी बोकेर कृष्ण बसेका छन् । ‘प्यासेज अफ टाइम’ सिरीजका सबै चित्रहरु सिर्जना हुनुको ध्येय कृष्णले छोरीको आगमनलाई दिएका छन् ।
उनी भन्छन्, ‘आधुनिक मान्छेले आफुलाई शहरमा साँघुरो ठाउँमा सिमित गरिरहेको छ । एउटा सानो ठाउँमा उसले सम्पूर्ण जीन्दगी बिताउँछ। प्रकृतिको हराभरा र रमणीय वातावरणबाट मानिसले आफुलाई सिमेन्टको दिवारभित्र कैद गरेको छ । आजका मान्छे पैसा कमाएर महङ्गो घर किन्न चाहन्छ, गाडी तथा सुविधाका साधन जोड्न चाहन्छ ।’
उनी पहिला अरु विषयमा चित्र बनाउँथे । जब आफु बाबु बन्दै गरेको थाहा पाए उनको चित्रको विषय बदलीयो । दैनिकी बदलियो । बाबु बन्दै गरेको अवस्थामा महसुस हुने भावलाई उनले चित्रमा उतारेका छन् । भन्छन्, ‘शारीरिक रुपमा आमामा बढी परिवर्तन देखिएला, कष्ठ पनि आमाले नै भोग्लिन् तर आमा र बच्चा दुवैको गहन जिम्मेवारी बाबुमा हुने रैछ ।’ यसैले होला उनले आमा र बच्चाको आकारलाई सुरक्षा दिने पात्रको रुपमा चित्रमा आफुलाई उभ्याएका छन् ।
प्यासेज अफ टाइम सिरिजमा उनले अहिलेका बच्चालाई प्राकृतिक रुपमा खेल्ने ठाउँ नभएको देखाएका छन् । बच्चाहरु जन्मनासाथ मोबाइल, टिभी र गेममा भुल्नुपर्ने बाध्यतामा छ। उनीहरुलाई कोठाबाहिर गएर खेल्ने ठाउँ नै छैन ।
कृष्ण भन्छन्, 'आज हामीले रोजेको जीवनशैलीले हाम्रा बच्चालाई कस्तो असर पार्छ कसैलाई सोच्ने फुर्सद छैन ।' उनले आजको युवाले बिताउने जीवनशैलीलाई पिंजडाको रुपमा लिँदै पिंजडामा थुनिएको बच्चाका चित्र बनाएका छन् ।
फाइन आर्टमा मास्टर्स गरेका कृष्णकले यी चित्र तीन वर्षको हाराहारीमा कोरेका हुन् । जहाँ उनले बच्चा र आमालाई बुझाउनका लागि रातो रंगको प्रयोग गरेका छन् । बुवाको आकारमा उनले खैरो रंग लगाएका छन् । झट्ट हेर्दा केही अस्पस्ट र अमुर्त देखिने यी चित्र बहुअर्थी छन् ।