पुनः पूर्वपश्चिम राजमार्ग ठप्प
टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा पर्ने पूर्वपश्चिम राजमार्ग सोमबार पनि ठप्प छ। सडक दुर्घटनामा परी स्थानीय एक युवकको ज्यान गुमाएपछि पीडितका समर्थकहरुले सोमबार पनि राजमार्ग ठप्प पारेका हुन्।
शुक्रवार राति सडक दुर्घटनामा परी लम्कीचुहा नगरपालिका-६ लुहारपुरका मायाराम चौधरीको ज्यान गएको थियो। मृतक चौधरीले चलाएको से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। पीडितले न्याय पाउनु पर्ने माग गर्दै प्रदर्शनकारीहरुले सोमबा मध्यान्ह १२ बजेदेखि पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।
मृतकका आफन्त, स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनबीच राजमार्ग खुलाउने बारे आज विहानभरि छलफल भए पनि सहमति नजुटेपछि पुनः राजमार्ग अवरुद्ध पारिएको स्थानीय ललित देउवाले बताए। मृतकका समर्थकहरुले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा आइतवार प्रदर्शनकारीहरु र प्रहरीबीच झडप भएको थियो।
राजमार्ग ठप्प हुँदा सयौं सवारी साधन र यात्रीहरु अलपत्र परेका छन्। घटनाबारे इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको बताउँदै ईलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी मनोहरप्रसाद भट्टले केही महिलाहरुले राजमार्ग अवरुद्ध पारेको बताए। उनले राजमार्गमा अलपत्र सवारी साधन सञ्चालनका लागि पहल भइरहेको बताए ।
मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ। पीडित पक्षले भने दोषीलाई कारवाही नगरेसम्म शव नबुझ्ने अडान लिँदै आएका छन्। ठक्कर दिएको हुनसक्ने आशंकामा से १ च १७०० नम्बरको एम्बुलेन्स र चालक कालुसिंह भुललाई नियन्त्रणमा लिएर अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।