मध्यरातमा मलेखु खोला उत्खनन : चालक र स्काभेटर स्थानीयको नियन्त्रणमा

मध्यरातमा मलेखु खोला उत्खनन : चालक र स्काभेटर स्थानीयको नियन्त्रणमा

मलेखु : धादिङको बेनिघाट रोराङ गाँउपालिका स्थित ताल्तिमा अबैध रुपमा मलेखु खोला दोहन गरिरहेको अवस्थामा स्थानियबासीले चालक सहितको स्काभेक्टर नियन्त्रणमा लिएका छन् ।

दिउँसो हुने गरेको अवैध उत्खननको चौतर्फी विरोध आउन थालेपछि क्रसर उद्योगीले राती उत्खनन गर्दै आएका छन् । सोमबार पनि बिहान ३ बजेदेखि नै टिपरहरु लिएर खोलामा पसेको स्काभेटरलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

स्थानीयले स्काभेटर चालक जोगिमारा निवासी ३० वर्षीय मोहन घलेलाईसमेत नियन्त्रणमा लिएका थिए । चालकसहित स्काभेटर नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

मलेखु खोला दोहनको स्थानीय रूपमा व्यापक विरोध सुरु हुन थालेपछि विष्णु थापा, हेमराज भुजेलसहितको टोलीले सोमबार बिहान अवैध उत्खनन गरिरहेको स्काभेटरलाई नियन्त्रणमा लिएको थियो ।

घटनास्थलमा पुगेका प्रहरीले चालक र स्काभेटरलाई आवश्यक कारवाहीको लागि बेनिघाट रोराङ गाउँपालिकालाई बुझाएको इलाका प्रहरी कार्यलय गजुरीका प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उक्त स्काभेटर हरेक दिनजसो मध्यरातमा खोलामा पसेर मलेखु खोलामा अन्धाधुन्द दोहन गर्दै आइरहेको स्थानीयले बताएका छन् । अवैधानिक क्रसर र बालुवा तस्करको दबदवाका कारण यतिबेला मलेखुखोला क्रसर उद्योगीले अघोषित रूपमा कब्जा गरेजस्तै हालतमा पुगेको छ ।

उक्त स्काभेटर निकै विवादित क्रसर उद्योग ‘युनाइटेड क्रसर उद्योग’को रहेको स्थानीयले बताएका छन् । उक्त क्रसर उद्योगलाई बेनिघाट रोराङ गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर गतवर्ष संचालनको अनुमति दिएको थियो । पालिकाले क्रसर संचालनको अनुमति दिएलगत्तै विरोध सुरु भए पनि अहिले क्रसर उद्योगले निर्वाधरुपमा मलेखु खोलाको दोहन गरिरहेको छ ।

क्रसर उद्योगी र तस्करी गर्नेहरुको अवैध धन्दाका कारण मलेखु खोलाको स्वरुप नै बिग्रिएपछि हिजोआज स्थानीयले समेत अवैध उत्खननको विरोध जनाउन थालेका छन् ।

खोला छेउ–छाउमा स्थापना गरिएको क्रसरका कारण नदी र खोलाजन्य वस्तुको उत्खनन् जथाभावी गर्दा खोलाको धार परिवर्तन हुनुका साथै खोला छेवैमा रहेको सडकलाई निकै असर पुग्न थालिसकेको छ । खोलाको दोहन यतिसम्म भएको छ कि खोलामा पाइने जलचरप्राणीको नामोनिशान भेटिँदैन भने सामान्य भन्दा ५ देखि १० मिटरसम्म्मको गहीराइमा खोला भासिइसकेको छ । स्थानीयले खेतमा पानी लगाउन लैजाने बाँध नरहने अवस्थामा पुगिसकेको छ ।

स्थानीयले नियन्त्रणमा लिएको स्काभेटरको चावी र चालकलाई प्रहरीले गाउँपालिकामा बुझाएपछि स्थानीयहरुले भने विरोध जनाएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘आफैँले अवैध उत्खनन अनुमति दिने अनि त्यही उद्योगले उत्खनन गर्‍यो भनेर गाउँपालिकाले कसरी कारवाही गर्ने, सबै कारवाहीको नाटक मात्रै हो, पुलिस स्थानीय सरकार सबै मिलेका छन् मलेखु खोला दोहन गर्न ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.