पर्यटन प्रवर्द्धनमा नेपाल आइडल विजेता रवि
धनगढी : नेपाल आइडल सिजन २ का विजेता एवम् गायक रवि वड सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा लागेका छन्। प्रदेशमा भएका पर्यटकीय गन्तव्यहरूको पहिचान गरी तिनको प्रचारप्रचार गर्न वड लागेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारले उनलाई पर्यटन दूत नियुक्त गरेसँग उनले १० जनाको टिम तयार पारी प्रदेशको महत्वपूर्ण पर्यटकीय स्थलमा पुगेर प्रोजेक्ट तयार गर्दैछन्। स्थानीय तहको समन्वय र सहकार्यमा उनी पर्यटकीय स्थल पुग्नेछन्।
माघ २२ देखि कैलालीको पर्यटकीय स्थल घोडाघोडीबाट अभियान सुरु गर्ने रवि वडले बताएका छन्। ‘सुदूरपश्चिमका पर्यटकीय स्थल इन्ट्रो भिडियो बनाइन्छ’ उनले भने। ‘त्यो संगीत धुनसहितको भिडियो जुन ठाउँमा पुगे पनि प्रस्तुत गरिनेछ। यसले केही हदसम्म भए पनि प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।’
रविले १६ शृंखलासहितको नयाँ कार्यक्रम ल्याइने बताए। भ्रमण वर्ष २०२० चलिरहँदा सुदूरपश्चिमका पर्यटकीयस्थल ओझेलमा परेको महसुस गरेको बताउँदै प्रोजेक्टमार्फत ओझेलमा परेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भिडियोसहित सामाजिक सञ्जाल तथा युट्युब च्यानलहरूमा राखिनेछन्। सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीयस्थल खप्तड, रामारोशन, शुक्लाफाँटा, अपिसैपाल, शैलेश्वरीलगायत क्षेत्रमा पुगेर नै प्रोजेक्ट तयार हुने छ। ‘प्रदेशका ८८ वटै स्थानीय तहमा पुगेर पर्यटकीय क्षेत्रको पहिचान गरी प्रोजेक्ट तयार हुनेछ’ उनले भने, ‘तयार भएको प्रोजेक्ट जापान, यूके, यूएसलगायत देशमा प्रस्तुत गर्नेछु।’
प्रोजेक्टका निर्देशक दशरथ सुनारले सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार तथा पर्यटकलाई घुम्न सहजता हुने अपेक्षा रहेको बताए।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखाका प्रमुख भोजराज पाठकले पर्यटक तान्नका लागि संगीतले सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘रविलाई प्रदेश सरकारले पर्यटन दूतमा नियुक्त गरेको छ। यो उनीप्रतिको सम्मान हो’ पाठकले भने। नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्यसहित ‘पर्यटन भ्रमण वर्ष नेपाल २०२०’ घोषणा गरी तीव्र रूपमा प्रचारात्मक कार्य अघि बढाएको छ।