क्यान्सरविरुद्ध जनचेतना आवश्यक
नसर्ने रोगमध्येको प्रमुख मानिने क्यान्सर उपचारपछि निको हुन्छ। समयमै रोगको निदान गरी उपचार गरे रोग निको पारेका क्यान्सर विजेताहरू बढ्दै गएका छन्। यस रोगको लक्षण देखिनेबित्तिकै स्वास्थ्य जाँच र उपचार सुरु गर्ने हो पुनर्जीवन पाउन सकिन्छ। उपचारका लागि विदेश जानु पर्दैन। स्वदेशमै रहेका सुविधासम्पन्न स्वास्थ्य संस्था र दक्ष चिकित्सकसँगको उपचारपछि सयौंले स्वास्थ्य लाभ लिइरहेका छन्।
नेपालीको औसत उमेर बढेको छ। उमेर बढ्ने क्रमसँगै क्यान्सरले थलिएका बिरामीको संख्या पनि बढेको छ। बर्सेनि ३० देखि ३५ हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन्। क्यान्सर रोग विशेषज्ञका अनुसार, औसत उमेर बढ्दै गएकाले क्यान्सरका बिरामी पनि बढ्दै गएका छन्। धूमपान, मद्यपान, सडेगलेका तथा ढुसी परेका खानपान, पोलेको मासु सेवन गर्नेहरूका कारण पनि क्यान्सरका बिरामी बढिरहेका छन्। स्वच्छ, सफा खाद्यपदार्थको अभाव र व्यायाम नगर्ने जीवनशैली पनि क्यान्सर निम्त्याउन सहयोगी बनेको छ। आफ्नो स्वास्थ्यप्रति चेतनशील हुने र नियमित स्वास्थ्य परीक्षण गरे रोग लाग्नै पाउँदैन।
विगतका दशकमा झाडापखाला, टाइफाइड, दादुरा, औलो, कालाजारलगायत संक्रामक रोगले धेरैलाई सताउँथे। तर, हाल क्यान्सर, हृदयाघात, दमजस्ता नसर्ने रोगको भार बढेको छ। क्यान्सरले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई पिरोलिरहेको छ। बालबालिकामा ब्लड क्यान्सर र लिम्फोमा क्यान्सर बढी देखिएको छ। पुरुषहरूमा फोक्सो, पेट, आन्द्रा, मुख, घाँटीका क्यान्सरका पीडितहरूको संख्या धेरै छ। त्यस्तै महिलामा स्तन, पाठेघरको मुख र गर्भाशयको क्यान्सर बढी देखिएको छ। यी रोगबाट ज्येष्ठ नागरिक बढी प्रभावित छन्।
क्यान्सर उपचारका लागि स्वदेशमै सरकारी, सामुदायिक र निजी क्षेत्रका स्वास्थ्य संस्थाले गुणस्तरीय उपचार सेवा प्रवाह गरिरहेका छन्। तर, अहिलेसम्म क्यान्सर नियन्त्रणका लागि समग्र पक्षलाई समेटेर राष्ट्रिय नीति बनेको छैन। क्यान्सरजन्य समस्या र चुनौतीको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको लागि नीति बन्न अत्यावश्यक छ। क्यान्सरको उपचारतर्फ शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हर्मोनथेरापी र इम्युनोथेरापी प्रचलित छन्। यी सेवालाई थप विस्तार गर्दै गुणस्तरीय र प्रभावकारी बनाउन जरुरी छ।
अझ रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो मानिन्छ। क्यान्सर निदानका विभिन्न उपाय छन्। रोगको पहिचान र उपचार सुविधा मुलुकभित्रै भए पनि विदेशमा उपचार गर्न जानेहरू अझै छन्। रोगको पहिचान भए पनि उपचार गर्दासम्म ढिलो भइसकेको हुन्छ। त्यसैले राज्यले नागरिकका चेतना अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्छ। विश्व क्यान्सर दिवसमा मात्र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर पुग्दैन।
नागरिकहरू शारीरिक, सामाजिक, मानसिक र भावनात्मकरूपमा स्वस्थ भए मात्र गुणस्तरीय जीवनयापनका लागि सक्षम हुन्छन्। आधारभूत मानव अधिकारका रूपमा रहेको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्यमा सबैको पहुँच वृद्धि गर्नुपर्छ। जवाफदेही स्वास्थ्य सेवा प्रणालीको माध्यमबाट गुणस्तरीय सेवा प्रवाह गर्नुपर्छ। त्यति भए क्यान्सरसँग डराउनै पर्दैन।